|

काठमाडौं : पछिल्लो समय कोरोना भाइरस संक्रमित बढ्न थालेसँगै अस्पतालमा स्वास्थ्यकर्मी पनि संक्रमित हुन थालेका छन्। 

कडा लक्षणका संक्रमित बढेसँगै अस्पताल भर्ना हुने संख्या पनि बढेको छ। जसका कारण स्वास्थ्यकर्मीमा समेत संक्रमण फैलन थालेको छ।  

दोस्रो लहर सुरु भएसँगै धेरै स्वास्थ्यकर्मी संक्रमित भएका जिल्ला हो बाँके। सबैभन्दा धेरै संक्रमितको उपचार भएको बाँकेको भेरी अस्पतालमा दोस्रो लहर सुरु भएसँगै ८ चिकित्सकसहित ७३ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।

अस्पतालका अनुसार संक्रमण देखिएका मध्ये ३३ जना नर्स छन्। यो कुन कुल संक्रमितको ४५ प्रतिशत हो। त्यसबाहेक अस्पतालका सहायक कर्मचारी २२ जना, चिकित्सक ८ जना, प्यारामेडिक्स ८ जना र प्रशासनका २ कर्मचारी संक्रमित भएका छन्।

यस्तै बाँकेकै खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा परीक्षण गरिएकामध्ये ९० प्रतिशत चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि इमर्जेन्सीबाहेक सेवा बन्द गरिएको छ।

राजधानीको वीर अस्पताल पनि स्वास्थ्यकर्मीहरु संक्रमित हुन थालेका छन्। दोस्रो लहर सुरु भएयता हालसम्म वीर अस्पतालमा १२ जना स्वास्थ्यकर्मी संक्रमित भएका अस्पतालमा कोरोना फोकल पर्सन डा अच्युत कार्कीले बताए।

उनका अनुसार हाल ६ जना चिकित्सक ६ जना नर्स संक्रमित भएका छन्। उनले भने, ‘हाम्रोमा हालसम्म ६ जना चिकित्सक र ६ जना नर्समा संक्रमण देखिएको छ, उहाँहरुमध्ये धेरैले कोरोनाविरुद्ध खोप लगाइसक्नुभएको छ।'

उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई नै संक्रमण भएपछि उपचारमा केही असहज भए पनि पालैपालो उपचार गरिएको समेत उनले बताए।

यता पहिलो लहरमा ५ हजारभन्दा स्वास्थ्यकर्मी संक्रमित भए पनि दोस्रो लहरमा हालसम्म कति स्वास्थ्यकर्मी संक्रमित भए भन्ने विवरण आइनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समीर अधिकारीले बताए। उनले भने, ‘दोस्रो लहर सुरु भएपछि कति स्वास्थ्यकर्मी संक्रमित भए भन्ने पूरै विवरण आएको  छैन, तर गत वर्षभन्दा स्वास्थ्यकर्मी संक्रमित हुने दर बढ्दो छ।'

अस्पतालमा राखेर उपचार गर्नुपर्ने संक्रमित बढ्दै जाँदा स्वास्थ्यकर्मी नै संक्रमित हुँदै जाने दर बढ्नु चिन्ताको विषय भएको समेत उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.