|

बर्दिया : २०७६ चैत्र ११ गते सरकारले देशव्यापी रुपमा लकडाउन गरेसँगै दशैभरको पर्यटन व्यवसाय ठप्प भयो। कोरोनाको महामारी केही मात्रामा कम भएपछि सुरु भएको पर्यटन व्यवसाय फेरी ठप्प बनेको छ।

कोरोना महामारी देशव्यापी रुपमा फैलिएसँगै विभिन्न जिल्लाहरुले लकडाउन र निषेधाज्ञा गरिरहेका छन्। दोस्रो चरणको लकडाउनले बर्दियाको पर्यटन व्यवसाय फेरी ठप्प बनेको पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्ण प्रसाद भट्टराइले बताए। ‘कोरोना महामारीले नराम्ररी थला परेको पर्यटन व्यवसाय भर्खरै माथि उठ्न लागेको थियो’ उनले थाहाखबरसँग भने,‘फेरी देशव्यापी फैलँदो कोरोनाको महामारीले पर्यटन व्यवसायीलाई निराश बनाएको छ।’

कोरोना महामारीका कारण बर्दियाका पर्यटकीय गतिविधहरु बन्द भएका छन्। बर्दिया राष्ट्रिय निकुञ्जले सुचना जारी गरेर अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको जनाएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले कोरोना संक्रमण बर्दियामा पनि तिव्र गतिमा बढेसँगै कोरोनाको जोखिमलाई ध्यानमा राखेर अहिलेलाई जिल्लाको आदेश अनुसार बैशाख १९ गतेसम्मलाई बन्द गरिएको बताए। त्यसपछि अवस्था हेरेर सञ्चालन गर्ने या नगर्ने भन्ने विषयमा छलफल हुने उनले जानकारी दिए।

कोरोनाका कारण गएको वर्ष नराम्ररी थला परेको पर्यटन व्यवसाय फेरी संकटमा रहेको पर्यटन व्यवसायीहरु बताउछन्। लकडाउन खुलेपछि झण्डै ५–६ महिनासम्म पर्यटन गतिविधि राम्रै भयो। पर्यापर्यटन विकास मञ्चका अध्यक्ष भट्टराइले भने, यहि अवस्था रहेको भए राम्रै हुन्थ्यो, तर फेरी पहिलेको जस्तै अवस्था आएकाले थप समस्या सिर्जना गरेको छ। 

लगानी गर्नै डराउने अवस्था आयो

पर्यटकीय क्षेत्र ठाकुरद्बारामा ३० वटा होटेलहरु छन्। पर्यटन गतिविधि ठप्प भएपछि होटेल सञ्चालकहरु मारमा परेका छन्। ऋण लिएर सञ्चालन गरेका होटेल व्यवसाय अहिले कसरी व्याज तिर्ने भन्ने उनीहरुलाई चिन्ता छ। यो सिजन भनेको विशेष गरी विदेशी पर्यटकहरु आउने सिजन हो। विगतका वर्षहरुमा बाह्य पर्यटकहरु बर्दिया निकुञ्ज घुम्न धेरै मात्रामा आउने गर्थे। तर अहिले विदेशी पर्यटक आएनन्। पाहुनाहरु नआउँदा बन्द जस्तै बनेका होटेल सञ्चालकहरु अहिले होटेल बेच्नुपर्ने अवस्थामा पुगिसकेको बताउछन्।

रेफिसेट होटेल सञ्चालन गर्दै आएका पर्यटन व्यवसायी श्रीधर पोखरेलले दोस्रो चरणको लकडाउनले व्यवसायीलाई निकै निरास बनाएको बताए। ‘विस्तारै कोरोनाको महामारी कम हुँदै गएपछि गतिविधिहरु सञ्चालनमा आएका थिए। पर्यापर्यटन विकास मञ्चका सचिवसमेत रहेका पोखरेलले भने,‘फेरी पहिलेको भन्दा जटिल अवस्था आएकाले अँझ चिन्ता थपिएको छ।’

महामारी पटकपटक दोहोरिरहेकाले पर्यटन व्यवसायमा लगानी गर्नै डराउने अवस्था आएको उनले सुनाए। कतिपय पर्यटन व्यवसायी व्यवसाय छोडेर पलाएन पनि भएसकेका छन्। तेश्रो मुलुकका पर्यटकहरुमा निर्भर रहेका ठाकुरद्बारा का बढिजसो होटेल व्यवसायीहरु मारमा परेको पोखरेल बताउछन्। 

चोरी तस्करी बढ्न सक्ने चिन्ता

निषेधाज्ञा जारी गरेपछि पर्यटन गतिविधि ठप्प छन्। घरबाहिर रहेका स्थानीयहरु फेरी गाउँ फर्किरहेका छन्। रोजगारी गुमाएर गाउँ फर्किनेहरु फेरी जंगल प्रवेश गर्ने र चोरी तस्करी बढ्नेमा निकुञ्जलाई चिन्ता थपिएको छ। गएको वर्ष लकडाउनको अवधिमा बर्दिया निकुञ्जमा तस्करहरुको बिगबिगी बढेको थियो। निकुञ्जले त्यसलाई रोक्न २४ सै घण्टा निगरानी बढाएको थियो। लकडाउनको मौका छोप्दै बर्दियामा वन्यजन्तु तस्करहरू सलबलाउन थालेका थिए।

बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तु तस्करीमा संलग्नको आरोपमा प्रहरीले केही तस्करलाई पक्राउ पनि गरेको थियो। लकडाउन सुरु भएलगत्तै चैत्र २२ गते नै वन्यजन्तुको तस्करी गरिरहेका १० जना र काठ तस्करीमा लागेका १८ जनालाई निकुञ्जको टोलीले पक्राउ गरेको थियो। 

अहिले फेरी त्यसको असर वन र वन्यजन्तुमा पर्न सक्ने र फेरी चोरी तस्करी बढ्न सक्ने चुनौती थपिएको छ। ‘पर्यटन गतिविधि त ठप्प भए नै, बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम कुमार थापाले भने,‘अर्कोतर्फ तस्करी बढ्ने पनि निकुञ्जलाई चुनौती छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.