|

पर्सा : कोरोना दोस्रो लहरको हटस्पट बनेको पर्सामा बिहीबारबाट निषेधाज्ञा लगाइएको छ।

अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा आगामी वैशाख २२ गते राति १२ बजेसम्म लागु रहने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। दोस्रो लहरको कोरोनाले दिनको ५ जनासम्म संक्रमितको मृत्यु हुन थालेपछि स्थानीय प्रशासन पनि कडा रुपमा प्रस्तुत भएको हो।   

वीरगन्जको नारायणी अस्पतालमा उपचार गराइरहेका पर्सा, बारा, रौतहट र सर्लाहीका संक्रमितमध्ये दुई दिनदेखि दैनिक ५ जनाको मृत्यु भइरहेको थियो। दोस्रो लहरमा मात्र अहिलेसम्म यो क्षेत्रमा २३ जनाको मृत्यु भइसकेको छ।  

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ( डिसिएमसी ) ले मानिसको भीडभाड कम गर्न र सर्वसाधारणलाई बचाउन निषेधाज्ञाको बाटो रोज्नुपरेको पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताए।   

प्रमुख भन्सार नाका वीरगन्ज बजारको अकल्पनीय भीडले यो क्षेत्रमा संक्रमित थपिने क्रम ह्वात्तै बढेको थियो। नारायणी अस्पतालको तथ्यांकमा मध्य तराईका चार जिल्लामध्ये पर्साको वीरगन्ज महानगरमा सबैभन्दा बढी सर्वसाधारण संक्रमित देखिनु पनि त्यसैको नमुना भएको नारायणी अस्पतालले जनाएको छ।

त्यसैले पनि बजारको भीड र कोरोनाको 'डढेलो' सल्किन नदिन निषेधाज्ञा आवश्यक रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले बताए।

निषेधाज्ञापूर्व पर्साको सदरमुकाम वीरगन्जमा सर्वसाधारणको थामी नसक्नु भीड थियो। बुधबार साँझ अचाक्ली भीड रहेको वीरगन्ज बजार बिहीबार बिहानबाट भने अलि सुनसान भएको छ।

निषेधाज्ञाअघि र पछिको पर्सा (फोटोमा)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.