'सामुद्रिक यात्रामा निस्केपछि पानीलाई नछोइने भन्ने हुदैन नि'

|

काठमाडौं : मुलुकमा यतिखेर कोभिड नामको भाइरसको सुनामी छ। यसले कति जनको क्षति गर्ने हो यसै अनुमान लगाउन सक्ने अवस्था पनि छैन। सामुन्द्रीक आँधीको सुनामीले मात्र विनाश ल्याउँदैन। सुनामीले समुद्रको छेउछाउमा मात्र असर गर्ला। तर, रोगको सुनामीले आँखाले नदेख्ने भूगोल र क्षितिजसम्म समेत क्षति गर्दोरहेछ।

विश्व कोरोनाको कहरमा छ। मानिसका कहरलाई रहरमा बदल्न यतिखेर सबैभन्दा व्यस्त छन् स्वास्थ्यकर्मी। बलम्बुस्थित शसस्त्र प्रहरी अस्पतालको कोभिड वार्डमा संक्रमितको उपचारमा व्यस्त रहने डा. अन्जु गुरुङ यतिखेर आफै संक्रमित भइ उपचाररत छिन्।

संक्रमितको उपचारमा खट्दा खट्दै टाउको दुख्ने र अप्ठयारो महसुस भएकाले उनले कोरोना पिसीआर परीक्षण गरिन्। रिपोर्टमा कोरोना पोजेटिभ देखियो। सुरुदेखि कोभिड संक्रमितको उपचारमा खटिएकी २९ वर्षीय डा. गुरुङ यतिखेर कोभिड वार्डमा अन्य संक्रमितलाई स्याहार गर्दै बसिरहेकी छिन्।

पछिल्लो समय मुलुकमा कोरोना संक्रमण घटेपछि डा. अन्जु घरबाट धाउने गर्थिन्। उनी नियमित ड्युटी गरेर सीतापाइलामा जान्थिन्। कोरोनाको लक्षण देखिएपछि उनले परीक्षण गरिन। गत शनिबार उनलाई कोरोना पुष्टि भयो।

उनलाई संक्रमितको उपचारमा खट्दा खट्दै कति खेर आफै संक्रमित भइने केही थाहा नहुने जस्तो लाग्दो रहेछ। उनले भनिन,' उपचारमा खटिनुपर्ने भएकाले होला म आफै संक्रमित भइ यतिखेर उपचारमा छु।' उनले चिकित्सक र संक्रमित हुनुमा कति फरक रहेछ भन्ने कुरा आफै संक्रमित भएपछि बुझेकी बताइन्।

अन्जुलाई कोरोना पुष्टि भएपछि अस्पतालमा भर्ना भइन्। परिवारका अन्य सदस्य पनि कन्टयाक ट्रेसिङमा परे। घरका दुई जनालाई पुष्टि भइ अहिले होम आइसोलेसनमा बसी उपचार गरिरहेका छन्। उनका परिवारमा सबैको स्वास्थ्य अवस्था राम्रै छ। परिवारबाट कस्तो अवस्था छ भनी सोधिरहने र आफूले काम गरेको ठाउँमा बसी उपचार गराउन पाएकाले त्यस्तो गाह्रो नभएको जवाफ दिन्छिन्।

स्वास्थ्यकर्मी भएकोले आफै स्वास्थ्यमा सचेत रहने भएकाले पनि अन्जुको स्वास्थ्य अवस्था सामान्य छ। उनलाई कोरोना पुष्टि भएपनि निमोनिया नभएको तर, खोकी र ज्वरो भने आएको आएको थियो।

'खोप लगाएर आत्मविश्वास बढ्यो'

उनको अस्पतालमा सर्वसाधारणलाई कोरोना नियन्त्रण विरुद्धको खोप उपलब्ध थियो। अन्जुले पनि भारतबाट ल्याइएको कोभिसिल्डको दुवै डोज खोप पनि लगाइसकेकी छिन्। 'खोप लगाएर पनि होला कोरोना लाग्दा मनमा त्रास पैदा भएको छैन,' पुष्टि भएको क्षण सम्झिदै भनिन।

उनलाई खोप लगाएपछि आत्मविश्वास बढेको रहेछ। कोरोनाको दोस्रो लहर आएपनि सुरु-सुरुमा डराए पनि अहिले देखिएको महामारीमा उनी विचलित छैनन्। अन्जु लाई खोपले ठूलो आत्मविश्वास प्रदान गरेको जस्तो लाग्दोरहेछ।

उनी कोभिड पुष्टि हुनुभन्दा अघि वार्डमा चिकित्सक रुपमा जान्थिन्। उनलाई वार्डमा भएका संक्रमित देख्दा सबै कुराहरू सामान्य लाग्थ्यो। सामान्य लागेका कुराहरू कोही बेला असामान्य भएर प्रकट हुन्छन। अन्जुको जीवनमा कोभिड लाग्नु सामान्य नभइ नियमित जस्तै थियो।

सर्वसाधारणमा संक्रमण घटेपछि डर हटे जस्तै उनलाई संक्रमितको उपचारमा खट्दा खट्दै सबै कुराहरू सामान्य लाग्दै गएको थियो। किनभने उनको ड्युटी संक्रमितको उपचार गर्नु थियो।

'कोरोना रुपी समुद्रमा थिए'

संक्रमण पुष्टि हुनुभन्दा अघि वार्डमा चिकित्सकको रुपमा जानुहुन्थ्यो आज तिनै संक्रमित सँग हुनुहुन्छ नि भन्ने थाहाखबरको प्रश्नमा उनी भन्छिन्,' म समुद्रमा छु भन्ने महसुस गरेकी थिए। सामुद्रिक यात्रामा निस्केपछि पानीलाई नछोइने भन्ने हुदैन नि त्यस्तै त हो। किनभने हरेक संक्रमितसँग नियमित सम्पर्कमा रहेका कारणले म यसबाट बच्न सकिन्। यहाँ आएपछि हामी समान रहेछौ भन्ने महसुस भएको छ।'

उनी संक्रमितलाई नियमित भेट्थिन्। औषधि दिन्थिन् कस्तो छ भनेर पनि सोध्थिन्।  उनलाई सहकर्मी र सिनियर डाक्टर सोध्न आउने गर्छन्। म आफै स्वास्थ्यकर्मी भएर सामान्य सोधपुछ हुन्छ तर, मलाई भन्दा बढी चिकित्सकीय जरुरी अरुलाई रहेको उनी सुनाउँछिन्।

उपचार खटिनुपर्दा र अहिले संक्रमित भएर बेडमा बस्दा दुई कुरा फरक भएको उनले महसुस गरेकी छिन्। पिपिई देखि बाहिर पनि ठूलो संसार रहेको उनलाई लागेको छ। सधै वार्डमा पिपिई, चस्मामा प्रवेश गर्ने मास्क मात्र लगाएर बस्ने अन्जुले आफूलाई बास र ठेगाना नभएकी चरी जस्तै सम्झेकी छिन्।

'संक्रमित भएर बसेकी छु, भित्र पनि उपचारमै व्यस्त छु,' उनले थपिन,' भित्र बस्दा सबै ठीकठाक जस्तो लाग्छ तर बाहिर थाहा नपाइकन धेरै कुराहरू छुट्दै गइसकेको हुँदोरहेछ।'

'संक्रमितलाई उपचार गर्दै बसिरहेकी छु'

उनले कोभिड वार्डमा ६ वटा रात मात्र कटाइनन्। संक्रमित भएपनि आफ्नो कर्तव्यबाट विमुख भएकी छैनन्। 'संक्रमित भए पनि अन्य संक्रमितलाई हेरचाह गरिरहेको छु,' उनले सुनाइन्,' म यहाँबाट एकदिन कोभिड मुक्त भएर अवश्य जान्छु। तर, आउने ठाउँ मेरो यहीँ हो। त्यसैले संक्रमितको उपचारमा निर्धक्क सँग लागिरहेको छु।'  गरिरहेको काम गर्दा अप्ठयारो नहुने उनलाई लाग्दो रहेछ।

धेरै मानिसले उनलाई कोभिड वार्डमा बस्दा पनि फोन गरिरहेका छन्। अस्पतालको सबै बेड भरिएको छ। आइसियु मात्र नभएर सामान्य बेड पनि खाली छैन भनेर भन्नुपर्दा नराम्रो लाग्दोरहेछ उनलाई। सबैले उनलाई ठिक भएर फोन गरेको होलान् जस्तो लाग्दो रहेछ तर, उनले चाहँदा नचाहँदै सहयोग गर्न नसकेको र आफै पिडित भएको फोन गर्नेलाई जवाफ दिन्छिन्।

मानिसले कोभिडका कारण संसारलाई फरक तरिकाले बुझ्न थालेका छन्। सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा पनि ठूलो बदलाव ल्याएको छ। धार्मिक तथा सांस्कृतिक कार्यक्रममा मानिसको ठूलो जमात हुन्थ्यो। सबैभन्दा ठूलो परिवर्तन परिवर्तन मानवीय व्यवहारमा आएको छ। सिमित मानिसको उपस्थितिमा विभिन्न समारोह समापन हुने गरेको छ।

'संसार १० कदममा मात्र सिमित जस्तो छ'

उनले मान्छेलाई धेरै कुराले छोप्ने र मानिसभित्र पनि अनेक नाम हुने गरेको बुझिन्।' सिंगो संसारलाई पिपिइ, संक्रमित र मानिस हो भन्ने आवरणले ढाकेको रहेछ,' उनले संक्रमितको उपचारमा खटिँदा भोगेको अनुभव सुनाइन,' अहिलेको हाम्रो संसार १० कदममा सिमित छ। हाम्रो संसार बाथरुम जाने र आउनेको परिधि भित्र रहेको छ।'

कोभिडलाई अरुले जसरी सजिलो ठानेका छन तर यथार्थमा त्यति सजिलो नभएको उनलाई लागेको छ। आफूलाई परेपछि मात्र सबै थाहा हुन्छ भने झै अन्जुलाई त्यस्तै भएको छ। मानिस सिंगो शरीर लिएर मात्र बाँच्न नसक्दोरहेछ।

'जबसम्म जिजीविषा रहन्छ तबसम्म आफ्नो अस्तित्व खोज्न मानिस लागिरहन्छन्,' बिरामीलाई अक्सिजनमा देख्दाको पिडा सुनाउँदै थपिन,' केही गाह्रो छ भनेर हामी सोध्छौ। सायद त्यो हाम्रो कर्तव्यमा पर्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.