|

काठमाडाैं : दिल्लीमा बितेको २४ घण्टामा तीन सय ९५ जनाको कोरोनाबाट ज्यान गएको छ। कोरोनाका बिरामीले दिल्लीका सबै अस्पतालहरू भरिएका छन् नै लास जलाउने घाटमा पालो कुर्नपर्ने अवस्था आएको छ।

दिल्लीको सराय काले खान शवगृहमा शवहरूको दाहसंस्कारका लागि २७ नयाँ प्लेटफर्महरू निर्माण गरिएको छ। घाट नजिकैको पार्कमा ८० प्लेटफर्महरू निर्माण गरिएको छ। दिल्ली नगरपालिकाले यमुनाको किनारमा घाट बनाउनको लागि ठाउँ खोजिरहेको जनाएको छ।

सराय काले खानमा, केवल २२ वटा शवहरू सँगै जलाउन सकिन्छ। यस दाहसंस्कारका कर्मचारीले हिन्दू अखबारलाई भनेका छन् कि उनीहरू बिहानदेखि मध्यरातसम्म निरन्तर काम गरिरहेका छन्।

गाजीपुर चिहानमा पार्किङ ठाउँमा २० थप प्लेटफर्महरू निर्माण गरिएको छ। एक अधिकारीले इन्डियन एक्सप्रेस अखबारलाई भने,'कोरोना संक्रमणबाट यति धेरै मान्छेको मृत्यु भएको छ कि लास जलाउन आवश्यक प्लेटफर्महरू निर्माण गर्नु आवश्यक छ।'

प्रत्येक लासलाई पूर्णरूपमा जलाउन छ घण्टा लाग्छ। आफ्ना आफन्तको लास जलाउन तीनदेखि चार घण्टा कुर्न परिरहेको छ। दिल्लीमा अन्य दाहसंस्कार स्थलहरूको अवस्था पनि गम्भीर रहेको भारतीय संचारमाध्यमले जनाएका छन्।

कोरोना संकटमा संघर्ष गरिरहेका मानिसहरूलाई सहयोग पुर्‍याउने गैर-सरकारी संस्था सेन्टर फर होलिस्टिक डेभलपमेन्टका प्रमुख सुनील कुमार अलेडियाले शहरका केही शवदाहगृहमा सुविधा विस्तार गर्न ठाउँ नभएको जनाएका छन्।

सहरको कम्तिमा दुईवटा अस्पतालमा अक्सिजन आपूर्ति बिग्रिएको छ। बिरामीहरू मर्दै गएका छन्। एम्बुलेन्सहरूको कमि हुँदै गएको छ। अस्पतालमा बेड पाउन असम्भव जस्तै भएको छ। यदि भाग्यवश बेड पाइयो भनेपनि अस्पतालसम्म पुग्न एम्बुलेन्सहरू नभएको भारतीय संचारमाध्यमले जनाएका छन्।

भारतमा कारोना भाइरसबाट संक्रमित भएकाहरुको दैनिक सङ्ख्या दिन प्रतिदिन वृद्धि हुँदै गएको छ। तीव्र गतिमा फैलिएको कोरोनाभाइरसबाट एकै दिनमा तीन लाख ८६ हजार चार सय ५२ जना संक्रमित भएका छन्। कोरोनाभाइरसको महामारी फैलिएदेखि यता गत २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै संक्रमित भएको अधिकारीहरुले जनाएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परीवार कल्याण मन्त्रालयका अनुसार सोही अवधिमा तीन हजार चार सय ९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ। दैनिक रुपमा संक्रमणमुक्त हुनेहरुको सङ्ख्या पनि बढिरहेको पाइएको छ।

पछिल्लो २४ घण्टामा दुई लाख ९७ हजार चार सय ५० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। देशभरी कुल संक्रमित मध्ये अहिलेसम्म कुल एक करोड ५३ लाख ८४ हजार चार सय १८ जना संक्रमणमुक्त भएका छन्। भारतमा अहिलेसम्म कुल एक करोड ८७ लाख ६२ हजार नाै सय ७६ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन्।

ती मध्ये ३१ लाख ७० हजार दुइृ सय २८ जना अझै पनि संक्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्यांक छ। भारतको स्वास्थ्य अनुसन्धान परिषदका अनुसार अप्रिल २९ तारिखसम्म देशभरी कुल २८ करोड ६३ लाख ९२ हजार ८६ ओटा स्वाब परीक्षण गरिएको छ। ती मध्ये पछिल्लो २४ घण्टामा १९ लाख २० हजार एक सय सात जनाको कोरोना परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.