|

सिमरा : स्वास्थ्य उपकरण लथालिङ्ग अवस्थामा छन्, लाखौ रुपैयाँ खर्चेर बनाइएको क्वारेन्टाइन तथा आइसोलेसन कक्षमा अहिले बाँदरको रजाइँ छ, भौतिक संरचनाहरू कवाडी भइसके।  जितपुरसिमरा उपमहानगरले गत वर्ष सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालको अवस्था हो यो। 

प्रदेश २ कै उत्कृष्ट भनी प्रशंसा पाएको अस्थायी कोरोना अस्पतालका लागि जितपुरसिमराले गत वर्ष लाखौं खर्च गर्‍यो। तर ती संरचना कामै नलाग्ने अवस्थामा छन्। जितपुरसिमरा जस्तै बाराका अन्य स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइन तथा आइसोलेसन हाल सञ्चालनमा ल्याउन समस्या छ।

जिल्ला जनस्वाथ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले जिल्लाभित्र कोरोना परीक्षणको व्यवस्था नहुँदा संक्रमितहरू आफुखुसी सरकारी तथा निजी अस्पतालमा स्वाब परीक्षणका लागि जाने गरेका बताए।

जिल्लामा स्वाब संकलन,क्वारेन्टाइन तथा आइसोलेसन सञ्चालनमा ल्याउन पालिकालाई जानकारी गराए पनि चासो नदेखाएको यादवले गुनासो गरे। ‘हाम्रो काम समन्वय गर्ने र सुझाव दिने मात्रै हो, क्वारेन्टाइन,आइसोलेसन व्यवस्थापन तथा सञ्चालनको जिम्मा पालिकाहरूको हो’, जनस्वास्थ्य प्रमुख यादवले भने।

बिहीबारसम्मको तथ्यांकअनुसार बारामा २ सय १० जना कोरोना संक्रमित छन्। जसमध्ये सक्रिय संक्रमित (कोरोना सार्न सक्ने क्षमता अधिक भएका) को सख्या ५१ रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

‘संक्रमितहरू मध्ये १८ जना नारायणी अस्पतालमा छन्, बाँकी कहाँ कहाँ छन् हामीलाई पनि जानकारी छैन्’, उनले भने। गत वर्ष  पालिकाहरूले सञ्चालनमा ल्याएका गरेको अस्थायी कोरोना अस्पतालहरू जतिसक्दो छिटो पुनः सञ्चालनमा ल्याउन पालिकाहरूलाई सुझाव दिएको उनले बताए छन्।

जितपुरसिमराले २०७६ चैत २१ गतेदेखि सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल गत वर्ष पुस २२ मा बन्द गर्‍यो। सोही संरचनालाई हाल सञ्चालनमा ल्याउन कर्मचारी तथा स्वास्थ्यकर्मी अभाव रहेको नगरपालिकाले जनाएको छ।

‘हामीकहाँ गत वर्ष साउनपछि खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीले कोरोना भक्ता नपाएपछि यो वर्ष कोही कर्मचारी खटिन तयार छैनन्’, स्वास्थ्य शाखाका जितन ठाकुरले भने।

जितपुरसिमराले २०७६ चैतदेखि २०७७ असारसम्म चार महिनाको अवधिमा मात्रै वडाको राहत वितरणसहित ४ करोड भन्दा धेरै खर्च गर्‍यो। खर्चमध्ये ३ करोड १७ लाख फर्छ्यौट हुन बाँकी छ भने कोभिड खर्चको विषयमा अख्तियारले अनुसन्धानसमेत गरिरहेको छ। 

यो पालिकाहरूको काम हो : निमित्त प्रजिअ ढकाल

बाराका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले स्थानीय तहहरूले तत्काल पिसिआर परिक्षण शुरु गनुपर्ने बताएका छन्। ‘हामीले त जितपुरसिमरासहित सबै पालिकाहरूलाई पिसिआर परीक्षणका लागि स्वाब संकलन तत्काल शुरु गर्नुस् भनेका छौं, तर हाम्रो कुरा कसैले सुनवाइ गर्दैन्’, ढकालले गुनासो गरे, ‘अहिले जिल्लामा रहेका संक्रमितमध्ये अस्पतालमा कति छन्, घरमा कति छने भन्ने सम्म सूचना स्थानीय तहसँग छैन।’

छिमेकी जिल्ला पर्सा र मकवापुरमा लकडाउन सुरु भएपछि बाराको हकमा कोरोना नियन्त्रणभित्र रहेको ढकालले दाबी गरेका छन्। कलैया अस्पतालमा रहेको पिसिआर मेसिन सुरु नहुँदा पनि संक्रमित बाध्य भएर पिसिआर परीक्षणका लागि पर्सा जाने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.