'सधैँ बोलिरहने छिमेकी नचिने झैँ गर्थे'

|

विराटनगर : मान्छे घरैमा लुकेका थिए। मान्छे देखेर मान्छे नै डाराउनुपर्ने समय थियो। परिवारकै सदस्यबीच पनि दुरी कायम राख्नुपर्ने बाध्यात्मक परिस्थिति आउँदै थियो। सँधै अंकमाल गर्ने साथीभाइ पनि परैबाट हेराहेरमा सीमित थिए।

कोरोना त्रासदीको प्रारम्भिक बेलामा हल्ला धेरै थियो, कोरोना लाग्यो कि जीवन सकियो। यही हल्लाले धेरैलाई घरभित्रै थुनिन बाध्य पारेको अवस्थामा केही यस्ता पात्र पनि थिए, जसले आफ्नो ज्यानको प्रवाह नगरी कोरोना संक्रमितको उपचार र सेवामा महिनौं बिताए। 

त्यसो त भन्नेहरुले त्यसलाई स्वास्थ्यकर्मीको पेशागत दायित्व भनेर पनि अर्थ्याउन सक्लान्। तर, घरभित्रै डराउनुपर्ने अवस्थामा संक्रमितसँगै दिनरात समय बिताउने साहस गर्नु सेवाभावको उच्चतम नमुना थियो।

यसरी खटिने लाखौँ स्वास्थ्यकर्मी मध्येकै पात्र हुन्, रञ्जु उराँव र तुलसी शर्मा। चौतर्फी त्रास उच्च भएका बेला परिवारबाट नितान्त टाढा, काखमा हुर्किँदै गरेकी छोरीलाई घरैमा छाडेर कोरोना अस्पतालमा खटिन जानु भीषण युद्ध लड्न गएको सिपाही सरहको जोखिममा हेलिनु थियो।

पेशागत चुनौती स्वीकार गरेर यी दुई अनमीले यो जोखिम लिएका थिए। कोरोना लागे मरिन्छ भन्ने हल्ला व्यापक थियो, त्यही बेला छोरीसहितको परिवार छाडेर अस्पतालमा ढुक्कै बस्नुपर्ने थियो, विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा खटिएकी रञ्जुले त्यसबेलाको तनाव स्मरण गरिन्।  

सुरुका दिनमा त्रासले काममा ध्यान दिनै सकिएको थिएन। के होला, कसो होला भन्ने डरले मनमा डेरा जमाएको थियो।

संक्रमणकालमा अस्पतालमा स्वास्थ्य मापदण्ड अनुसारका गुणस्तरीय पिपिइ सेट उपलब्ध थिएनन्। न उपचारका लागि पुग्दो सामग्री नै अस्पतालमा थियो। सुरक्षा सामग्री चाहियो भनेर उनीहरुले अस्पतालभित्र आन्दोलन नै गर्नुपरेको थियो। बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्ने भएपनि समयमा सुरक्षा समाग्री हात परेकै थिएन  ।

अस्पताल भर्ना हुन आउने संक्रमितको उपचार र रेखदेखका लागि एक हप्ता बिहान, एक हप्ता साँझ, एक हप्ता राति गरेर खटिएकी रञ्जु भन्छिन्, ‘सुरुमा धेरै त्रास थियो। तर जब टिम नै अभ्यस्त हुँदै गयौं, डर कम हुँदै गयो।’ गत वर्ष विराटनगरको कोरोना उपचारमा केन्द्रमा यस्तो अवस्था पनि आयो हरदम संक्रमितको चाप भइरह्यो।

आँखैअघि धेरैले ज्यान पनि गुमाउँदै थिए, कसैको अवस्था गम्भीर बन्दै जान्थ्यो। चिकित्सकहरु उनीहरुलाई बचाउन हरसम्भव प्रयास गरिरहेका हुन्थे। त्यस्तो बेलामा रञ्जु र उनका साथीहरु घण्टौंसम्म पीपीई सेटभित्र गुम्सिएर रहन्थे। न परिवारसँग सम्पर्क न आराम गर्ने फुर्सद। 

जेलभन्दा ठूलो सास्ती सरह थियो, अवस्था। उनले सुनाइन्, ‘छोरी छोडेर, डियुटीमा खटिँदा एक हप्तासम्म त काममा ध्यान नै गएन, पछि टिमसँग घुलमिल हुन थालेपछि थोरै सहज भयो।’ काम गर्दै जाँदा उनलाई हुर्कँदै गरेकी छोरीसँग लुटुपुटु गर्ने रहर औधी जाग्थ्यो। घरमा छोरीले खोज्दा उनका श्रीमानले उनी आइसोलेट भएको होटलमा ल्याइदिन्थे। परबाटै हेरेर चित्त बुझाउनुपर्थ्याे। 

उनीसामु आउन छोरी रुने कराउने गर्थिन्। आमाको मन न हो, छोरी आफूसँगै आउन नपाएर डाँको छाडेर रुँदा उनलाई पनि भक्कानो छुट्थ्यो। ‘छोरीलाई काखमा राख्न मन लाग्थ्यो, अङ्गालोमा बेर्न मन लाग्थ्यो।’ उनले भनिन, ‘तर आफ्नो जिम्मेवारी र त्यसले निम्त्याएको जोखिमले त्यसो गर्न सक्दिनँ थिएँ।

यसबीचमा उनले जे–जे भोगिन् त्यो सानोतिनो अनुभव थिएन। कोरोनाले परिवारदेखि टाढा रहँदाको पीडा र समाजलाई नजिकबाट नियाल्ने अवसर दियो। उनलाई परिवारको साथ र हौसला भने कायम थियो। परिवार नै स्वास्थ्य क्षेत्रमा आवद्ध भएकाले पनि काम गर्न सहज भएको थियो।

कोरोना संक्रमण भए मरिन्छ भन्ने सोच हाबी भएको त्यो अवस्थामा परिवारले भन्दा पनि घर जाँदा छिमेकमा हुने विभेदपूर्ण व्यवहारले मनोबल घट्ने गरेको तितो अनुभवका पोका फुकाउँदै उनी भन्छिन्, ‘सधैँ बोलिरहने छिमेकी पनि मलाई देख्दा नचिने झैँ गर्नुहुन्थ्यो।’

त्यसबेला उनका लागि अस्पतालमा उपचाररत एक जना ९० वर्षीया वृद्धा हौसला दिने पात्र बनेर देखा परिन्। भर्ना भएका अन्य धेरै बिरामीलाई टेलिफोन सम्पर्क, सिसी क्यामेराको माध्यमबाट उनीहरुको अवस्थाबारे जानकारी लिन सकिन्थ्यो। तर, ती ९० वर्षकी वृद्धा न टेलिफोन चलाउँथिन्, न अन्य विद्युतीय सामग्री नै। उनको रेखदेख प्रत्यक्ष रुपमा गर्नुपर्थ्यो।  उनी घरीघरी डराउँथिन्। तर, ती वृद्धाको आत्मबल उच्च थियो।

आफूले उपचार गर्दै गरेको उनै आमाको आत्मबल देखेर हौसला बढेको अनुभव सुनाउँदै उनले भनिन, ‘हामी आमाको हेरविचारका लागि नजिक हुनपर्ने हुन्थ्यो, उहाँको रोगसँग लड्ने क्षमता देखेर पनि आत्मबलले कोरोना जित्न सकिने रहेछ जस्तो लाग्यो।’

रुपनी सप्तरीकी २१ वर्षीया तुलसी शर्मा अनमी हुन्। हाल खोटाङस्थित जिल्ला अस्पतालमा कार्यरत उनको पनि कोरोनाकालको खटाइको अनुभव उस्तै छ। विराटनगरको एक निजी अस्पतालमा कार्यरत उनले कोरोना महामारीको समयमा कोशी कोभिड उपचार केन्द्रमा नियुक्ति पाइन्।

उनलाई रोगकै कारण भौतिक र भौगोलिक रुपले परिवारबाट धेरै टाढा भएको महशुस भएको थियो। त्रासले भरिएको मन लिएर आफूले पाएको जिम्मेवारी पूरा गर्न कोभिड अस्पतालभित्र प्रवेश गरिरहँदा उनलाई जिवितै फर्कन्छु या फर्कन्न, परिवारसँग भेट होला या नहोला भन्ने चिन्ताले सताइरहन्थ्यो।

उनी भन्छिन्, ‘कोरोना त्यो समय हाम्रा लागि विल्कुलै नयाँ थियो, त्यसैले पनि अनुभव थिएन तर सिनियर दिदी, डाक्टरहरुको सहकार्यले धेरै हौसला मिल्यो।’ ९ महिनासम्म कोभिड अस्पतालमा खटिरहँदा उनलाई आफ्नै टिमले उपचार गर्दै गरेका कोरोना संक्रमितको मृत्यु हँदा मनभरी मृत्युको भय र पीडाले सुत्न नसकेका रात पनि धेरै छन्, उनको।

सुरुवातका दिनहरुमा लक्षणबिनाका संक्रमित आउँदा खासै असहज नभए पनि पछिल्लो समय लक्षणसहितका बिरामी आउँदा काम गर्न थोरै सकस भएको उनी सुनाउँछिन्।‘लक्षणबिनाका बिरामीहरु थिए, त्यो समय खासै समस्या थिएन’, उनी भन्छिन्, जब पछिल्लो समय लक्षणसहितका बिरामीहरु आउन थाले त्यो समय बिरामीको नजिकै जानु पर्ने अवस्था भएकाले राति लगातार ५ घण्टासम्म पिपिइ लगाएर बसेकी छु’, उनी थप्छिन्, ‘६ घण्टाको डियुटीमा दुई या तीन जना छौँ भने तीन घण्टा बस्नैपर्ने हुन्थ्यो, राति ४ घण्टासम्म बस्नुपर्ने हुन्थ्यो।’

आफूलगायत टिम खटेर रेखदेख गरेका बिरामी निको भएर घर फर्कँदा जीवनकै सबैभन्दा धेरै खुशी मिलेको बताउँदै उनी भन्छिन्,‘कुनै निको भएका बिरामीले घर फर्किने समय हाम्रो कामको प्रशंसा गर्दा हामीलाई हौसला पनि मिल्थ्यो।’

दिनरात बिरामीसँगै हेलमेल गर्दा संक्रमणको जोखिम हरक्षण उच्च रहन्थ्यो। तर, सावधानी अपनाउँदा आफू जोगिएको उनको भनाई छ। आफूलाई जोखिममा राखेर विरामीको सेवामा खटिएका यी स्वास्थ्यकर्मीहरुको लगन साँच्चै अनुकरणीय थियो र छ। अहिले पनि संक्रमितको संख्या बढिरहेका छन्। अस्पताल भरिन थालेका छन्। उनी र उनीहरु जस्तै स्वास्थ्यकर्मी फेरि उसैगरि खटिरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.