प्रतिदिन आवश्यक पाँच सय युनिट, संकलन ६० मात्रै

|

काठमाडौं : कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी भएपछि मुलुकमा रगत अभाव भएको छ। निषेधाज्ञाका कारण रगत आपूर्तिमा कठिनाई भएको नेपाल रक्त सञ्चार केन्द्रले जनाएको छ। गत बर्ष बन्दाबन्दीका समयमा पनि यस्तो अभाव भएको थियो।

केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत सञ्जीव यादवले नियमित रगत आवश्यक पर्ने बिरामीलाई पनि रगत उपलब्ध गराउन कठिनाई उत्पन्न भइरहेको जानकारी दिए। यादवका अनुसार अहिले दुर्घटनामा परेका, सुत्केरी महिला वा रेनल डायलासिस गराउनु पर्ने बिरामी बाहेक फालससेमिया, हेमोफिलियाका बिरामी (हरेकसाता रगत नभई नहुने) लाई समेत रित्तै हात फर्काउनु पर्ने अवस्था सृजना भएको छ।

उनले काठमाडौं उपत्यकामा दैनिक पाँच सय युनिट रगत आवश्यक पर्ने भएपनि अहिले करिव एक सय युनिट रगत पनि संकलन हुन नसकिएको जनाए। केन्द्रले आज (शनिबार) मात्रै एक सय ४० युनिट रगत संकलन गर्ने लक्ष राखेको थियो तर, ६० युनिट मात्रै संकलन गरेको छ। यादवले भने ‘आज हाम्रो एक सय ४० युनिट रगत संकलन गर्ने लक्ष्य थियो। तर पानी परेर रक्तदाता बाहिर निस्किएनन्। सोचे अनुसार रगत संकलन हुन सकेन।’

यादवले रगतको मागमा कुनै कमी नभएको बरु पहिलेको भन्दा माग बढेको बताए। रगत आवश्यक पर्ने सामान्य बिरामीसहित अहिले कोभिड प्लाज्माको माग बढेको केन्द्रले जनाएको छ। यो अवस्थामा सबैभन्दा अफ्ठ्यारो बिरामीलाई भएको यादवको भनाई छ। यादवले भने ‘उहाँहरु (बिरामी) ब्लड बैंकमा आउनु हुन्छ। म पनि त्यहि हुन्छु। रगत अभाव देख्दा मेरो मुटु चस्किन्छ हुन्छ। अवस्था निकै दयनिय बनेको छ। रगतका लागि आउनेहरु ठूलो आशा लिएर आउँछन्। तर आपूर्ति आवश्यकता अनुसार भइरहेको छैन।’

केन्द्रले रक्तदातालाई जनस्वास्थ्यका मापदण्ड पालना गरेर रगत दान गरिदिन पनि आग्रह गरेको छ। कोरोना महामारीका कारण मानिसहरु त्रसित भएको उल्लेख गर्दै उनले सुरक्षित भएर बिरामीको ज्यान बचाउनका लागि रगत दान गर्न आग्रह गरे। उनले केन्द्रले निषेधाज्ञामा पनि बिभिन्न स्थानमा सुरक्षितरुपमा रगत संकलन गरिरहेको जानकारी दिए। 

भक्तपुरमा रगत अभाव

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले पनि केहि दिनदेखि रगतको अभाव सिर्जना भइरहेको जनाएको छ। शाखाका सभापति मनोजकुमार थापाले महामारीमा मानिसहरु त्रसित भएकाले रगत संकलनमा समस्या देखिएको बताए। उनका अनुसार अहिले ब्लड क्याम्प पनि बढी नहुने भएकाले पनि रगत अभाव देखिन थालेको र माग पनि बढ्दै जान थालेको छ।

भक्तपुरमा आवश्यक्ता अनुसार रगत दिन सकिएको छैन्। तर आवश्यक मात्राको केही कम गरेर भएपनि रगत उपलब्ध गराइएको रेडक्रस भक्तपुरले जनाएको छ। सभापति थापाले थाहाखबरसँग भने ‘हिजो अस्तिदेखि नै रगतको अभाव छ। बिरामीले रगत पाएका छैनन्। आवश्यक्ता अनुसार रगत दिन सकिएको छैन्।’

लकडाउनमा पनि रगत संकलनको कार्य जारी राखिएको र सोहीअनुसार अहिले पनि संकलन गर्ने तयारी रहेको रेडक्रसले जनाएको छ। ब्लड क्याम्प राख्दा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, भौतिक दुरी कायम गर्ने, स्यानिटाइजर प्रयोग गर्ने र भिडभाड नगरी रगत संकलन गर्ने सभापति थापाले बताए। उनले अहिले पनि टोल–टोलमा, घर–घरमा गएर हरेक रक्त दाताबाट  रगत संकलन भइरहेको जानकारी दिए। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.