मेडिकल वार्ड खाली गरेर थपियो २५ बेड

|

चितवन : भरतपुर अस्पतालले छुट्याएको कोभिड बेड संक्रमितले भरिँदै गएका छन्। दैनिक १० जनाभन्दा बढी संक्रमित अस्पताल भर्ना हुन थालेपछि बेड अभाव हुन थालेको हो। अस्पतालको एचडियु बेड भरिसकेका छन् भने अन्य बेड पनि अपुग भइरहेको छ।

११० वटा कोभिड बेड रहेको भरतपुर अस्पतालमा शनिबार ९० जना संक्रमित उपचाररत छन्। भेन्टिलेटरमा चार, आइसियुमा सात र एचडियुमा २५ जना संक्रमित छन्। ५४ जना संक्रमित साधारण बेडमा छन्। यहाँको आइसियुको क्षमता १० र एचडियुको क्षमता २५ बेड रहेको छ।

एचडियु बेड भरिएपछि बेड थप गर्न केन्द्र र प्रदेश सरकारसंग पहल भइरहेको भरतपुर अस्पतालको कोभिड संयोजक डा. प्रमोद पोडेलले बताए। ‘एचडियु बेड थप गर्न केन्द्र र प्रदेश सरकारसंग पहल गर्ने कुरा भएको छ,’ उनले भने, ‘एचडियु बेड भरिसकेको छ। बिरामीको मृत्यु वा स्वास्थ्य सुधार भएर साधारण बेडमा सरेपछि मात्रै बेड खाली हुने स्थिति छ।’

एचडियुमा भेन्टिलेटर जोडेर आइसियु बनाउन सकिने भएकाले सरकारसँग एचडियु बेडको माग भएको उनले बताए। एचडियु कक्षमा अक्सिजनको व्यवस्था भएको हुन्छ। कोभिड बेड अपुग हुने देखिएपछि अस्पतालले बेड थप गर्ने निर्णय पनि गरेको उनले बताए। संक्रमित बढेपछि अस्पतालले बैशाख १७ गते देखि नै ओपिडी र इएसएस लगायतका सेवाहरु बन्द गरेको थियो। 

अस्पतालको बोर्ड बैठकले संक्रमितका लागि २५ र शंकास्पद बिरामीका लागि २० बेड थप्ने निर्णय गरेको हो। थपिएको बेडको व्यवस्थापन गर्ने कार्य सुरु भइसकेको पौडेलले जानकारी दिए। ४५ बेड थपिएपछि अब यस अस्पतालमा कोभिड बेड १५५ वटा पुग्नेछ।

‘संक्रमितका लागि मेडिकल वार्ड खाली गरेर २५ वटा बेड थप्ने निर्णय कार्यान्वयन भइसकेको छ,’ उनले भने, ‘यसको अलवा कोरोनाका शंकास्पद बिरामीका लागि छुट्टै २० बेडको पनि व्यवस्था गर्न लागिएको छ।’

‘अब बेड थप्न सक्दैनौँ’

संक्रमितका लागि भरतपुर अस्पतालले योभन्दा बढी बेड व्यवस्था गर्न नसक्ने बताएको छ। ‘योभन्दा बढी बेडको व्यवस्था गर्न त अस्पतालको अन्य सेवाहरु सबै बन्द गरे मात्रै सम्भव छ,’ उनले बताए। शंकास्पद बिरामीलाई छुट्याइएको २० बेडमध्ये आइसियुको ६ वटा बेड रहने उनले बताए।

‘अब यतिले पनि धानेन भने बच्चा र स्त्री प्रसुती वार्ड पनि बन्द गर्नुपर्छ, तर यी वार्ड बन्द गर्ने स्थिती छैन’, अस्पतालका कोभिड संयोजक डा. पोडेलले भने, ‘यसले पुगेन भने कि त छुट्टै कोभिड अस्पताल बनाउनुपर्छ, कि निजी अस्पतालहरुलाई प्रयोग गर्नुपर्छ।’ भर्ना भएका ८० प्रतिशतभन्दा बढी संक्रमित अक्सिजन नभई नहुने खालका रहेको उनको भनाइ छ।

नयाँ भेरियन्टको यो कोरोनामा छिटो फैलने र जटिलता पनि बढी हुन्छ। तर, यो कोरोना समुदायमा कति फैलिएको छ भनेर कन्ट्याक्ट ट्रेसिङ गरिएकै छैन। ‘अस्पतालमै यति धेरै बिरामी आएका छन्,’ अस्पतालका कोभिड संयोजक डा. पोडेलले भने, ‘समुदायमा त व्यापक नै फैलिएको भन्ने बुझिन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.