विद्यालय बन्द‚ यार्सागुम्बा संकलन खुला

|

डोल्पा : हिमाली जिल्ला डोल्पामा पनि कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ। नेपालगञ्ज, काठमाडौं, सुर्खेतलगायतका जिल्लाबाट हवाई तथा सडकमार्गबाट सर्वसाधरण भित्रिएसँगै संक्रमणदर पनि फैलँदै गएको हो।

शनिवार हवाई जहाजबाट जुफाल झरेका ४२ जनाको एन्टिजिन परीक्षण गर्दा चारजनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय डोल्पा निमित्त प्रमुख अमरसिंह शाहीले जानकारी दिए। यससँगै संक्रमितको संख्या १४ जना पुगेको छ। जसमध्ये पुरुष नौ र महिला पाँचजना रहेको शाहीले बताए। तीमध्ये १२ जना होम आइसोलेसनमा छन्। दुईजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

अस्पतलामा उपचार गराइरहेका दुईमध्ये एकजनालाई लक्षणसहितको संक्रमण देखिए पनि अहिलो निको हुने अवस्थामा रहेकाले पुनः परीक्षण गरेर घर पठाउने तयारी भइरहेको डा. मेलिना हमालले जानकारी दिइन्। स्वास्थ्य सेवा कार्यालयमा पर्याप्त आइसोलेन बेड नहुँदा गम्भीर लक्षण देखिएका दुईजना बिरामिको मात्र उपचार गर्न सकिने डा. हमालको भनाइ छ।

सडकमार्गबाट आएका बिनापरीक्षण घरमा

हवाई मार्गबाट आएकाहरुको परीक्षण गर्दा कोरोना देखिरहेको बेला जिल्लाबाहिरबाट सडकमार्ग हुँदै भित्रिएका सर्वसाधरण भने परीक्षणबिना घर जाने गरेका छन्। बैशाख १३ गतेदेखि हालसम्म सडकमार्ग र हवाईमार्ग गरेर कुल ६२० जना डोल्पा भित्रिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।

जसमा खदाङ्ग नाकाबाट ३४० जना भित्रिएको खदाङ्ग प्रहरीले जनाएको छ। त्यसैगरी जहाजबाट जुफाल विमानस्थल झर्नेको संख्या २८० जना रहेको जिल्ला प्रहरीका कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

यार्सागुम्बा संकलन गर्ने निर्णय अवैज्ञानिक

कोरोना संक्रमितको संख्या बढे पनि यार्सागुम्बा संकलनका लागि जेठ १० गतेदेखि यार्सापाटन खोल्ने निर्णय भएको छ। शुक्रबार बसेको सर्वपक्षीय बैठकले जिल्लाका विभिन्न क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन यार्सागुम्बा संकलनका लागि खुला गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढकालले जानकारी दिए।

कोराना कहरका कारण अघिल्लो वर्ष यार्सागुम्बा संकलन रोकिएको थियो।  यस वर्ष पनि कोरोना संक्रमित बढिरहेकाले उक्त निर्णयमा पुनर्विचार गर्नुपर्ने प्रजिअ ढकाल बताउँछन्।

‘देशभर कोरोना संक्रमणले धमाधम मान्छे मरिरहेका छन्, डोल्पामा पनि १० जना संक्रमित पुगिसके,’ उनले भने, ‘यही दरमा संक्रमण बडे यार्सागुम्बा पाटन खुला गर्ने विषयमा पुनः एक पटक सोच्नु पर्ने हुन्छ। निर्णय पनि सोही अनुसार भएको छ।’

डोल्पाको आम्दानीको मुख्य स्रोतको रुपमा रहेको यार्सागुम्बा रहेको छ। यार्सागुम्बा संकलन गर्न पाउने निर्णयबारे भने यस वर्ष मिश्रित प्रतिक्रिया आएका छ। अधिकांशले अघिल्लो वर्ष संकलन गर्न नपाउँदा जिल्लावासीको आर्थिक अवस्था धरासायी भएकाले यार्सापाटन खोल्ने निर्णय स्वागतयोग्य भएको बताएका छन्। केहीले भने देशमा कोरोना संक्रमणले धमाधम मान्छे मरिरहेकाले हजारौँ मान्छे पुग्ने यार्सापाटनमा संक्रमण फैलिने प्रवल सम्भावना रहेको बताएका छन्। यार्सागुम्बा संकलनका लागि हरेक बर्ष हजारौं जना यार्सापाटन पुग्ने गर्दछन्।

केही दिनअघि बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रले जिल्लाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ। आठवटा स्थानीय तहका ११५ वटै बिद्यालय बन्द गरिएको छ।

कोरोना कहरकै कारण करिब १० महिना बन्द भएका विद्यालय खुलेको चार महिना नपुग्दै पुनः बन्द भएको त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुरा माविका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए। यससँगै १९ बैशाखदेखि तोखिएको वार्षिक परीक्षा स्थगित भएको छ।
यार्सापाटन खोल्ने, बजार खुला गर्ने, सार्वजानिक कार्यक्रम हुने तर विद्यालय मात्रै बन्द गर्नु उपयुक्त नभएको उपाध्याय बताउँछन्। 

छैन तयारी

जिल्लामा कोरोना संक्रमित थपिँदै जाँदा कोरोनाविरुद्धको तयारी भने सुस्त देखिएको छ। संक्रमित १४ जना पुग्दा जिल्ला अस्पतालमा दुईवटा मात्र आइसियु बेड रहेका छन्। बिजुलीको पावर नपुग्दा भएका दुईवटा भेन्टिलेटर पनि चालु अवस्थामा नरहेको निमित्त स्वास्थ्य सेवा कार्यालय प्रमुख अमरसिंह शाहीले जानकारी दिए।

अक्सिजिन सिलिन्डर दुईवटा मात्र रहेकाले भर्नका लागि नेपालगञ्ज पठाइएको शाहीले बताए। एकै पटक लक्षणसहितका चार–पाँचजना संक्रमित आए आइसियु बेड र अक्सिजनको समस्या शाही बताउँछन्।

जिल्ला संकट व्यवस्थापनको बैठककमा स्थानीय तहका प्रतिनिधि उपस्थित नहुँदा आवाश्यक समन्वय गर्न समस्या भइरहको कार्यालयको भनाइ छ।

नागरिकको नजिकैको सरकारको रुपमा रहेका डोल्पाका स्थानीय तहले दोस्रो चरणमा कोरोना विरुद्धको तयारीमा तयारी भने थालेका छैनन्। अघिल्लो वर्ष संघीय सरकारको दवाबमा नाम मात्रका क्वारेन्टाइन तथा आइसोलेसन वार्ड बनाएका स्थानीयले यस बर्ष भने नाकामा सामान्य हेल्थ डेस्कसम्म स्थापना गरेका छैनन्।

संक्रमित थपिँदै गए पनि क्वारेन्टाइन तथा आइसोलेसन भवन निर्माण, एन्टिजिन किट खरिद तथा परीक्षण, औषधि खरिद तथा स्वास्थ्यकर्मी परिचालनलगायतका कुनै पनि काम भएको छैन। त्रिपुरासुन्दरी, ठूलीभेरी नगरपालिका, जगदुल्ला, मुड्केचुला,  काइके, डोल्पोबुद्ध, शे–फोक्सुण्डो, छार्काताङ्सोङ् गाउँपालिकाले आवाश्यक तयारी थालेका छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.