|

बैतडी : नयाँ भेरिएन्टसहित दोस्रो लहरको कोरोना भाइरसको जोखिम बढ्दै गएको भन्दै बैतडीको पाटन नगरपालिकाका बजार क्षेत्र बैशाख मसान्तसम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ। सर्वपक्षीय बैठकले सोमबारदेखि बजार क्षेत्र बन्द गर्ने निर्णय गरेको हो।

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेकोले यसको रोकथामका लागि बजार बन्द गर्ने निर्णय भएको नगरप्रमुख केशवबहादुर चन्दले बताए। उक्त अवधिमा अत्यावश्यक सामग्रीका लागि प्रहरी प्रशासनको समन्वयमा केही समय बजार खोल्न सकिने बताइएको छ।

एकै गाउँका १४ जनामा संक्रमण

दशरथचन्द नगरपालिकाको ९ ग्वाल्लेकका १४ जनामा संक्रमण पुष्टि भएको छ। वैशाख १४ गते  कोरोनाका कारण मृत्यु भएका ग्वाल्लेकका ३३ वर्षीय पुरुषको सम्पर्कमा रहेका १७ जनामध्ये १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। ती पुरुषको वैशाख १४ मा डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

संक्रमण पुष्टि भएकाहरु होम आइसोलेसनमा रहेका छन्। पछिल्लो समय गाउँगाउँमा कोरोनाको संक्रमण फैलिसकेकाले स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको छ। नयाँ भेरिएन्टसहित दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि बैतडीमा हालसम्म १८८ जनामा संक्रमण पुष्टि हुँदा एकजनाको मृत्यु भएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.