नेताहरू भन्छन्, जसपाकै कारण रोकियो

|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को आन्तरिक किचलोका कारणले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारविरुद्धको अविश्वासको प्रस्ताव अन्योलमा परेको छ।

कांग्रेस र माआवादी केन्द्रको संयुक्त मोर्चाले ओलीविरुद्ध अविश्वासको प्रस्ताव लाने तय भए पनि जसपाको विवादले अघि बढ्न सकेको छैन।

जसपाको विवादले पार्टी फुटको संघारमा पुगेको हुनाले तत्कालका लागि अविश्वासको प्रस्तावको च्पाप्टर क्लोज भएको छ। ओलीको सरकारलाई निरन्तरता दिने वा बहिर्गमन गरेर नयाँ सरकार बनाउने भन्ने विषयमा विवाद भइरह्यो।

तर, लुम्बिनी प्रदेशको मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ४ सांसद् गएपछि जसपाभित्रको कित्ता क्लियर भयो।

प्रधानमन्त्री ओलीले प्रतिगामी कदम चालेको भन्दै त्यसविरुद्ध उत्रिएका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओली सरकारलाई ढाल्ने प्रयासरत थिए। तर, आफ्नो माग सम्बोधन गर्न थालेकाले ओलीको विकल्प खोज्न नहुनेमा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो उभिए।

लुम्बिनी प्रदेशपछि जसपाका नेताहरू आ-आफ्नो खेमामा उभिए। बाबुराम–उपेन्द्र पक्षले बहुमतको साथ ओली सरकारमा अविश्वासको प्रस्तावमा सघाउने निर्णय गरे।

तर, अध्यक्ष ठाकुर लुम्बिनीका आफ्ना ४ सांसद्माथिको कारबाही रोक्न निर्वाचन आयोगसम्म पुगेका छन्।

यद्यपि, लुम्बिनीमा जसपाले पार्टीविपरीत चलेको चार सांसद अहिले अन्योलमा परेका छन्। मुख्यमन्त्री पोखरेलले अविश्वासको प्रस्ताव छल्नका लागि राजीनामा दिएर संसदीय दलको बैठकबाट आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरिसकेका छन्। जसपाले ४ सांसदलाई कारबाही गरेपछि अब यहाँ एमालेको एकलौटी सरकार बन्‍ने अंकगणित छ।

त्यही विवादको कारणले जसपाको ठाकुर पक्ष ओली पक्षलाई समर्थन गर्ने पक्का भएपछि अब ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव अघि बढ्न सकेको छैन।

ओलीले आफ्नो सरकार संकटमा परेको बेलामा जसपाले राख्दै आएको मधेश तथा थरुहट आन्दोलनको १२० जनाको मुद्दा फिर्ता लिएका छन्। जसपामा बाबुराम–उपेन्द्र समूहको बहुमत भए पनि ओलीविरुद्धको अविश्वासको प्रस्तावमा संख्या पुग्दैन।

माओवादीले समर्थन फिर्ता लिए ओलीले जसपाको महन्थ पक्षको समर्थन लिएर आफ्नो बहुमतको सरकार बनाउन सक्छन्। आफ्नो सरकार टिक्ने भएपछि ओलीले माओेवादीलाई पटक-पटक चेतावनीको भाषामा समर्थन फिर्ता लैजान भनिसकेका छन्।

संख्या पुगेकै छैन

ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरे पनि संख्या नपुगेपछि रोकिएको कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महत बताउँछन्।

‘हामीले पार्टीभित्र सहमतिको साथ निर्णय गरेर ओली सरकार ढालेर हाम्रो सरकार बनाउने निर्णय गरेका थियौँ। तर, प्रतिपक्षी दलका केही नेताहरू ओलीसँग अझै टाँसिन खोजिरहेका छन्। त्यसैले हामी अघि बढ्न सकेका छैनौँ’ उनले भने।

त्यसो त देउवाले पनि शुक्रबार सभापति देउवाले पनि अविश्वासको प्रस्ताव अघि बढाउन संख्या नपुगेकै कारणेले रोकिएको बताएका थिए। एकपटक अविश्वासको प्रस्ताव दर्ता गरेपछि फेल भएमा एक वर्षसम्म अर्को पटक प्रस्ताव लान नपाउने भएकाले संख्या सुनिश्चिता नभएसम्म अघि नबढ्ने मनस्थितिमा कांग्रेस छ।

जसपाकै कारण रोकियो

ओलीविरुद्धको अविश्वासको प्रस्ताव अघि लाने विषयमा जसपाले पार्टीभित्रबाट एउटै निर्णय नगरेको कारणले रोकिएको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल बताउँछन्।

उनी भन्छन्, ‘कांग्रेस र हामीले त अविश्वासको प्रस्ताव अघि बढाउन तयार भएका हौँ। तर, जसपाको कारणले राकियो। जसपाले सहमति नगरेसम्म अघि बढ्न सक्दैनौँ। हामीले आन्तरिक छलफल गरिरहका छौँ।’

ओलीले फेरि संसद विघटन गर्न सक्ने भएकाले  पुन:स्थापनापछि पूरा कार्यकाल संसद् चल्नुपर्ने भएकाले समर्थन फिर्ता लिनमा ढिलाइ गरेको उनको भनाइ छ।

‘हामीले सरकारलाई समर्थन गरेका छैनौँ। तर, बाध्यात्मक रुपमा त्यस्तो भयो। अविश्वासको प्रस्ताव र समर्थन फिर्ता एकैपटक गर्ने हाम्रो योजना हो’ उनले भने।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.