समयमै अक्सिजन आपूर्ति गरिदिन माग, ४० कोरोना संक्रमित सिकिस्त

|

काठमाडौं : दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीको सघन कक्षमा आइतबार बिहानदेखि दिउँसो दुई बजेसम्म उपचाररत दुई संक्रमितको मृत्यु भयो।

कोरोना अस्पतालका व्यवस्थापक द्रोण वलीका अनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ का ४६ वर्षीय पुरुष र घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुष छन्। यसरी मृत्यु हुनुको कारण हो–बेलैमा अक्सिजनको आपूर्ति नहुनु। 

अहिलेसम्म त्यहाँ १४ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन्। अक्सिजनकै अभावले अझै पनि संक्रमितको ज्यान जाने सम्भावना उच्च छ। अस्पतालका व्यवस्थापक वली भन्छन् ,‘समयमा अक्सिजन आपूर्ति हुँदैन, जसले बिरामीहरू छटपटिएर मर्न बाध्य हुन्छन्, अक्सिजन नभएर नै बिहानै उपचार गरिँदै आएको बिरामीको मृत्यु भयो।’

उनले स्थानीय तह,सिडिओसँग पटक–पटक अक्सिजनको माग गरिरहँदा पनि समयमा अक्सिजन उपलब्ध नभएको गुनासो पोखे। ‘अक्सिजन नेपालगञ्ज र बाँकेबाट ल्याउनुपर्छ, सवारीसाधनमा ल्याउँदा पाँच ६ घण्टा समय लाग्छ, त्यो बेला सम्म बिरामीले प्राण त्यागिसक्छन,’ वलीले भने।

उनका अनुसार आइतबार मात्रै १५ मिनेट अक्सिजन नभएको भए अझै संक्रमितको ज्यान जाने स्थिति थियो। ‘१५ मिनेट ढिला भए अझ अरुको पनि ज्यान जाने स्थिति थियो, ’उनले भने, ‘धन्न त्योभन्दा अगाडि नै अक्सिजन आइपुगेर बिरामी बच्न सफल भए, भोलिबाट अक्सिजन सकिन्छ, फेरि उही समस्या निम्तिन्छ।’ उनले दैनिक बढीमा ९ बजेदेखि १० बजेसम्म अक्सिजनको चरम समस्या पर्ने बताए।

बेड अभावले बिरामीलाई भुईंमै राखेर उपचार गराउनु परेको पनि उनले बताए। उनका अनुसार ती अस्पतालमा ४२ जना संक्रमितको मात्रै क्षमता छ तर, अहिले ५९ जना संक्रमित बिरामी छन्।

‘अहिले पनि ४० जना संक्रमित बिरामी सिकिस्त छन्, अक्सिजनको लागि हाम्रो पहुँच छैन, बिरामी छट्पटाएर मरेको देख्न सक्दैनौँ, समयमा अक्सिजन आपूर्ति केन्द्र, प्रदेश र स्थानीय तहले गरोस्,’भक्कानिँदै उनले फोनबाट माग गरे।

यसो भन्छ सिडिओ

जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले नेपालगञ्जबाट अक्सिजन ल्याउनुपर्ने भएको कारण भनेको समयमा आपूर्ति गर्न नसकिएको बताउँछन्।

​‘नेपालगञ्जबाट अक्सिजन ल्याउनुपर्छ, त्यो पनि गाडीमा ल्याउने हो, त्यसैले समस्या भएको हो,सक्दो हामी पहल गरिरहेका छौ,’पौडेलले भने। दिनदिनै कोरोना संक्रमितको संख्या बढेकाले अक्सिजनले पुर्‍याउन नसकेको उनले बताए।

भने,‘दैनिक चार सय अक्सिजन अस्पतालमा चाहिन्छ, तर, अक्सिजन अभावले त्यति ल्याउन सकिँदैन, सवारीसाधनले पनि थेग्दैन, एक पटकमा दुई सयसम्म ल्याउने गरेका छौं।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.