क्यान्सरका ५० प्रतिशत बिरामी घटे

|

चितवन : दोस्रो लहरको कोभिड–१९ को महामारीका कारण ननकोभिडका बिरामीहरू प्रभावित भएका छन्। महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा र अस्पतालहरूले ओपिडी सेवा बन्द गरेपछि कोरोना नभएका बिरामीले उपचार पाउनै सकेका छैनन्। 

आकस्मिक बाहेकका बिरामीलाई अस्पताल नजान सरकारले नै उर्दी नै लगाएको छ। अस्पतालका बेड र जनशक्ति कोरोना संक्रमितको उपचारमा खटाउँदा ननकोभिड बिरामीले रोग दबाएर राख्न बाध्य भएका छन्।

भरतपुर अस्पतालमा कोभिड संक्रमित बिरामीको चाप बढ्दै गएपछि वैशाख १७ गतेदेखि ओपिडी र इएचएसलगायत सेवा बन्द भएका छन्। जसका कारण न्यून आयस्तरका बिरामीले सरकारी अस्पतालको सेवा पाउन सकेका छैनन्। 

भरतपुर अस्पतालमा कोभिडका बिरामी बढेपछि अन्य बिरामीले दुःख पाएका अस्पतालका वरिष्ठ हाडजोर्नी तथा मेरुदण्ड रोग विशेषज्ञ प्राडा कृष्णप्रसाद पौडेल बताउँछन्। अस्पतालमा अहिले जोर्नीमा राखिएको रड र प्लेट निकाल्नुपर्नेलगायत सामान्य उपचार नभएका उनले बताए।

‘ननकोभिडका बिरामीले दुःख पाउने भइहाले नि। ओपिडी दुई हप्ताका लागि बन्द छ। हाडजोर्नी र सर्जरी वार्ड खालि गरेर कोभिड वार्ड बनाइएको छ’, उनी भन्छन्, ‘अहिले नगरे पनि हुने अपरेसनहरू स्थगित भएका छन्।’ आकस्मिक अप्रेशनहरू भने भइरहेको उनले बताए। 

यसअघि हाडजोर्नीको ओपिडी सेवा लिन दैनिक डेढ सयदेखि दुई सय जनासम्म बिरामी अस्पताल पुग्थे। अहिले ती सबै ठप्प भएका हुन्। ‘इमर्जेन्सी अप्रेसन भने रोकिएको छैन’, उनले भने, ‘हाडजोर्नीका दुई/चार जना बिरामी अहिले इमर्जेन्सीमा आइरहेका छन्।’

सरकारी अस्पतालमा नै कोभिड बिरामीको उपचार गर्नतर्फ केन्द्रित हुँदा बढी समस्या देखिएको उनी बताउँछन्। निजी अस्पताल र मेडिकल कलेजहरूमा आइसियू र भेन्टिलेटर बढी हुने गर्छन्। तर त्यस्ता अस्पतालहरूले कोभिड बिरामीसँग चर्काे शुल्क असुल्ने हुँदा बिरामीको चाप सरकारी अस्पतालमा बढी हुने उनले बताए।

कोरोनाको संक्रमण बढेपछि दाँत सुनिने र दुख्ने समस्या भएका बिरामीलाई मात्रै आकस्मिक कक्षबाट सेवा दिने गरिएको भरतपुर अस्पतालका दन्तरोग विशेषज्ञ डा अजय न्यौपानेले बताए। ‘गाला सुनिने, दुख्ने भयो, ज्वरो आयो भने त्यस्ता बिरामीलाई हेर्छाैं। दाँतको आरसिटी गर्ने, क्राउन लगाउने, दाँत भर्नेजस्ता सेवा चाहिँ १५ दिनका लागि बन्द गरेका छौँ’, उनले भने।

कोरोना महामारी बढिरहेकाले अत्यावश्यक नपरेका बिरामीलाई अस्पताल नआउन भनिएको उनले बताए। निषेधाज्ञा लागु हुनुअघि दैनिक ६० भन्दा बढी दाँतका बिरामीले सेवा लिने गरेका थिए। अहिले ती सबै बिरामीहरू घरमै थन्किएर बस्नुपरेको छ।

‘जनशक्ति र भौतिक पूर्वाधार कम भएको हाम्रो जस्तो देशमा बिरामीको व्यवस्थापन गर्न गाह्रो छ’, उनी भन्छन्, ‘पहिलो चरणको लकडाउन खुकुलो भएपछि बिरामीको चाप अत्यधिक बढेको थियो। अहिले पनि त्यस्तै हुनसक्छ।’

जिल्लामा निषेधाज्ञा लगाएपछि क्यान्सरका ५० प्रतिशत बिरामी घटेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले जनाएको छ। निषेधाज्ञाअघि यहाँ दैनिक आठ सय बिरामीले सेवा लिने गर्थे। अहिले दैनिक करिब चार सय बिरामीले मात्रै उपचार गराएका अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम बताउँछन्।

‘निषेधाज्ञाका कारण गाडीहरू नचल्दा बिरामीको चाप घटेको छ’, उनले भने, ‘बाहिरी जिल्लाबाट आउने क्यान्सरका बिरामी आउन सकिरहेका छैनन्। जो बिरामी आएका छन्, ती सबैको उपचार गरिरहेका छौँ।’ 

केमो लगाउने, अप्रेसन गर्नेलगायत फलोअपमा आउने बिरामी यतिबेला बढी प्रभावित भएका छन्। क्यान्सर अस्पतालमा पाँच सय बेडको व्यवस्था छ। तीमध्ये कोभिड संक्रमण भएको क्यान्सर बिरामीका लागि २० वटा बेड छुट्याइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.