|

झापा : तृणमुल कांग्रेस (टिएमसी) की नेतृ ममता बजर्नी (दिदी) पश्चिम बंगालमा ह्याट्रिक (तेस्रो पटक) मुख्यमन्त्री बन्ने पक्का भएको छ।

नन्दीग्रामको शुभेन्दु अधिकारीको एकछत्र राजनीतिक किल्लालाई ध्वस्त पार्दै तृणमुल कांग्रेसकी बनर्जीले त्यहाँबाट पहिलो पटक चुनाव जितेकी छन्। बनर्जीले अधिकारीलाई १२ सय मतअन्तरले पराजित गर्दै चुनाव जितेकी हुन्। उनले चुनाव जितेसँगै बंगालको मुख्यमन्त्री बन्ने पक्का भएको छ।

मतगणना सुरु भएदेखि नै अधिकारी अगाडि थिए, बनर्जी पछि नै थिइन्। तर, अधिकारीलाई मात दिँदै बनर्जी अघि बढिन् र चुनाव जितिन्। नन्दीग्रामबाट चुनाव जितेर बनर्जीले सबैलाई चकित पारिदिएकी छन्।

यातायात मन्त्रीबाट राजीनामा दिएका अधिकारीले तृणमुल कांग्रेस परित्याग गरी नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) बाट चुनाव लडेका थिए। २०१६ मा अधिकारीले बनर्जीको दाहिने हात भएर तृणमुल कांग्रेसबाट विधानसभा सिटका लागि नन्दीग्रामबाट निर्वाचित भएका थिए। तर, यस पटक त्यहाँका जनताले अधिकारीको साथ छोडेको चुनावी नतिजाले प्रमाणित गरिदिएको छ।

अधिकारीले चुनाव प्रचारप्रसारका क्रममा ५० हजार भोटले ममता दिदीलाई हराउने, नहराए राजनीतिबाट सन्यास लिने घोषणा गरेका थिए। चुनाव हारेका उनले अब सन्यास लिने कि नलिने भन्ने बंगालमा व्यापक चर्चा चुलिएको छ। सन् २०११ र २०१६ मा बनर्जी कोलकताको भवानीपुरबाट विधानसभाको चुनाव लडेकी थिइन्। र त्यहाँबाट जितेर बङ्गालमा आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएकी थिइन्। 

अधिकारीले पार्टी छाडेर भाजपाबाट नन्दीग्रामबाट चुनाव लड्ने घोषणा गरेपछि अधिकारीलाई रोक्न बनर्जी भवानीपुर छाडेर नन्दीग्राममा आएर चुनाव लड्ने घोषणा गरिन र जितिन् पनि।

यो समाचार तयार पारुन्जेलसम्म बङ्गाल भइरहेको मतगणनाको परिणाम अनुसार २९४ सिटमध्ये २०७ सिटमा तृणमुल कांग्रेस अगाडि छ। तृणमुलले अहिलेसम्म ६ सिट जितिसकेको छ। भाजपा ७७ सिट र अन्य दुई सिटमा अघि रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। 
 
बङ्गालमा ममताको दबदबा कायमै

बङ्गालमा ३४ वर्षसम्मको मार्क्सवादी कम्युनिस्ट पार्टी (सिपिएम) को  एकछत्र  शासन  ब्रेक लगाउँदै बङ्गालमा तृणमुल कांग्रेसको उदय भयो। कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेकी बनर्जीले १९९८ मा  तृणमुल कंग्रेस (टिएमसी) को नेतृ सम्हालिन्।

सन् २००६—०७ मा तत्कालीन पश्चिम बङ्गालका मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यले नन्दीग्राममा १० हजार बिगाहा जमिन इन्डोनेसियाको सलिम समूहलाई रासायनिक हब बनाउन दिने घोषणा गरे। यस निर्णयको त्यहाँका जनताले कडा विरोध गरे।

स्थानीय बासिन्दा आफ्नो निजी जमिन त्याग्न तयार थिएनन्। तर, मुख्यमन्त्री भट्टाचार्यले त्यस निर्णयबाट पछि हटेनन्, अन्ततः बल प्रयोग गरेर जमिन अधिग्रहण गर्न आदेश दिए। त्यसपछि शुभेन्दु अधिकारीले स्थानीय जनतासँग मिलेर आन्दोलन सुरु गरे। २००७ मार्च १४  देखि त्यहाँ सुरक्षाकर्मी र स्थानीय बिचमा हिंसात्मक झडप सुरु भयो। हिंसात्मक झडपको क्रममा १४ जनाले ज्यान गुमाए। त्यही बेला ममता बनर्जीले शुभेन्दु अधिकारीसँग मिलेर नन्दीग्रामको मुद्दा समातिन्। त्यही मुद्दा बनर्जीको लागि बंगालको राजनीतिमा टर्निङ पोइन्ट साबित भयो।

लामो राजनीतिक संघर्षपछि वामपन्थीलाई सत्ताबाट बहिर्गमन गराएकी तृणमुलका नेतृ बनर्जी सन् २००९ मे २२ देखि २०११ मे १९ सम्म देशको रेल मन्त्री भइन्। बनर्जीको तृणमुल कांग्रेसले २०११ को विधानसभा निर्वाचनमा १८४ सिट जित्दै बहुमत ल्यायो।

२९४ सिटमा १८४ सिट जितेका बनर्जी २०११ मे २० मा बङ्गालको ११ औँ महिला मुख्यमन्त्री बनिन्। सन् २०१६ को विधानसभा निर्वाचनमा बनर्जीको तृणमुल कंग्रेसले २९४ सिटमध्ये २११ सिटमा जित निकाले। यो मत परिणाम सन् २०११ मा पाएको भन्दा १७ सिटले बढी थियो। त्यस बेलाको चुनावमा कांग्रेस ४४, सिपिएमले २६ र भाजपाले ४ सिट मात्र जितेका थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.