हिउँदेबाली जमिनमै सुक्यो, १३ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने
हिउँदेबाली जमिनमै सुक्यो, १३ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने
सत्यराज सिंह (बझाङ) : बझाङमा खडेरीका कारण हिउँदेबाली उत्पादनमा ह्रास आएको छ। जिल्लाको सेती, कालंगा, बहुलीगाड र सुनिगाड लगायत नदी र खोला तटमा रहेका र सिँचाइ सुविधा भएका सीमित क्षेत्रबाहेक आकासे पानीको भरमा खेती गरिने सबै स्थानमा उपज उत्पादन घटेको हो।
लामो समयसम्म परेको खडेरीका कारण गहुँ, जौ, उवा, केराउ र मसुरो लगायत हिउँदेबाली उत्पादनमा ह्रास आउँदा जिल्लामा चरम खाद्य संकट हुने देखिएको छ।
खडेरीका कारण अधिकांश क्षेत्रमा लगायतको हिउँदेबाली सुकेर नष्ट भएको छ। उत्पादन घट्दा कृषिमै निर्भर हुने गरेका र न्यून आयश्रोत भएका परिवारले चरम खाद्यसंकट सामाना गर्नुपर्ने निश्चितजस्तै भएको छ। किसानहरूलाई भोकमरी हुने चिन्ताले सताउन थालेको छ।
बाली भित्र्याउन व्यस्त हुने कृषकहरू यसपालिको खडेरीले चिन्तित बनेका छन्। अहिलेको समयमा कृषकहरूलाई लाई गहुँ, जौ, मसुरो लगायत हिउँदेबाली काट्ने चुट्ने र भित्र्याउने हतारो हुन्थ्यो।
'यसपालि त खडेरी लागेकाले अन्नको बोट पनि देख्न पाइएन,' थलारा गाउँपालिकाका शेरबहादुर खातीले भने, 'यो समयमा हामीलाई खानेबस्ने फुर्सदै हुँदैनथ्यो। यसपालि त खेतबारी सबै बाँझो भयो, हिउँदभर पानी परेन। पुस-माघमा पानी परे राम्रै उब्जनी हुन्थ्यो। खडेरीले हामी किसानहरूलाई मर्नु न बाँच्नु बनाएको छ।'
हिउँदेबाली खेतमै सुकेपछि वर्षभरी कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको खप्तडछान्ना गाउँपालिका-७, गोर्खालीका सुर्जन सिंहले बताए। उनले भने, 'हिँउदभरि पानी नपरेका कारण पाखातिर लगाएको बाली सुक्यो। सिँचाइ हुने ठाँउमा अलिअलि उम्रेको थियो, त्यो पनि असिनाले चुटेर सखापै बनायो। एकातिर खडेरीले सुकायो, अर्कातिर असिनाले सतायो। घरमा अन्न छैन। साँच्चै अनिकाल नै आएको हो कि जस्तो लाग्न थाल्यो। उब्जनी नहुँदा खाद्य संकट हुने चिन्ताले सताउन थालेको छ।'
खडेरीका कारण बालीनाली सुकेकोबारे सुदूरपश्चिम खाद्य अधिकार सञ्जालको टोलीले स्थलगत अध्ययन गरिरहेको छ। सो टोलीले बझाङमा चरम खाद्य संकट उत्पन्न भई स्थानीयवासीहरू भोकमरीको चपेटामा पर्ने अवस्था निम्तनसक्ने जनाएको छ।
संयोजक बलबहादुर रोकायाले बझाङमा चरम खाद्य संकट हुने भन्दै खडेरी पीडित किसानलाई तत्काल राहत व्यवस्थापन गर्नुपर्ने बताए। उनले भने, 'हामीले थलारा गाउँपालिकामा सुख्खा खडेरीले प्रभावित समुदायको प्रारम्भिक तथ्याङ्क संकलन गरेका थियौँ। विभिन्न वडाका १ सय ८५ घरधुरीमा गरिएको सर्वेक्षणमा ९३ प्रतिशत घरधुरी प्रभावित भएको पाइएको छ। यो खाद्य संकटको उच्चतम विन्दू हो।'
प्रदेश र स्थानीय सरकारले प्रभावित परिवारका लागी तत्काल राहत स्वरुप खाद्यान्न वितरण गर्नुपर्ने र बर्खे वालीका लागी बीउ तथा मल नि:शुल्क उपलब्ध गराउनुपर्ने उनको भनाइ छ।
आकाशे पानीको भरमा खेती हुने क्षेत्रका किसान सिँचाइको सुविधा भएका क्षेत्रबाहेक आकासे पानीको भरमा खेती गरिने ठाउँको ९० प्रतिशत उत्पादन घटेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ।
जिल्ला भरी १५ हजारभन्दा बढी हेक्टरमा गहुँ, जौ, उवा, केराउ र मसुरो लगायतका हिउँदेबाली लगाएकोमा ६ हजार २ सय हेक्टर क्षेत्रफलमा उत्पादन शुन्य रहेको ज्ञान केन्द्रले जनाएको छ।
खडेरीका कारणले जिल्लामा ९ हजार ३ सय ३६ मेट्रिक टन हिउँदेबाली पूर्णरूपमा नष्ट भएको ज्ञान केन्द्रका प्रमुख टेक बहादुर विष्टले बताए। उनले भने, 'जिल्लामा कूल खेतीयोग्य जमिनको ३५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा छ। सिँचाइ नभएको ठाउँमा बाली सुकेर पूरै नष्ट भएको छ। बझाङमा वार्षिक ३२ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ। यो जनसंख्याको अनुपातमा पर्याप्त छैन। हरेक वर्ष ७ हजार मेट्रिक टन अपुग हुने गरेको थियो। यसपाली त खडेरीले उत्पादनमा ह्रास ल्याएको छ। सरदरमा यो वर्ष १३ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने देखिन्छ।'
खडेरीका कारण जिल्लामा कुल जनसंख्याको ४५ प्रतिशत जनसंख्या भोकमरीको चपेटामा पर्ने र १४ हजार घरधुरीमा चरम खाद्य संकट हुने उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।