|

झापा : सर्वसाधारण जनताले स्वास्थ्य मापदण्डसँगै निषेधाज्ञाको पालना नगरिदिँदा झापामा दोस्रो लहरको कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ। 

भारतको पश्चिम बङ्गाल र विहारसँग जोडिएको १४४ दशमलव २ किलोमिटर खुला सीमा रहेको झापामा दिनप्रतिदिन नयाँ भेरियन्टका सङ्क्रमित सङ्ख्या थपिँदै गएको छ।  

जिल्लामा सोमबार मात्रै ५९ महिला र ९० पुरुष गरी १४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए।

आइतबार ३८, शनिबार ७२, शुक्रबार ५६, बिहीबार ५०, बुधबार ५०, मंगलबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। एक साताको तुलनामा जिल्लामा पहिलो पटक यति धेरै संक्रमित आज थपिएको उनले बताए।

आज (सोमबार) दमकमा २७, बिर्तामोड ३७, गौरादह १२, मेचीनगर १४, भद्रपुर २३, कनकाई १०, हल्दिवारी २, अर्जुनधारा ११, बुद्धशान्ति २, गौरीगञ्ज १, कमल ६, शिवसताक्षी २, बाह्रदशी २ जनामा कोरोना पुष्टि भएको फोकल पर्सन चौलागाईंले जानकारी दिए। 

उनका अनुसार जिल्लामा थप एक जना सङ्क्रमितको आज मृत्यु भएको छ। दमक नगरपालिका ५ का ६५ वर्षीया महिलाको मृत्यु भएको हो। योसँगै जिल्लामा ५८० सक्रिय संक्रिमत सङ्ख्या पुगेको छ।

मृतक सङ्ख्या १३५ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। सरकारले ५ सय सङ्क्रमितको सङ्ख्या नाघेसँगै स्थानीय प्रशासनलाई लकडाउन गर्न आदेश दिइसकेको छ। तर, जिल्लामा आइतबार मध्यराति १२ बजेदेखि निषेधाज्ञा लाग्दा सङ्क्रमित सङ्ख्या ४४८ पुगेको थियो।

‘एक साताका जिल्लामा निषेधाज्ञा लगाएका छौँ,’ झापा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले भने, ‘जनताको लागि लगाइएको निषेधाज्ञा जनताले नै पालना नगरी दिँदा जोखिम बढेको छ।’ 

निषेधाज्ञामा निजी तथा सार्वजनिक यातायातका सवारीसाधनका लागि जोर बिजोर प्रणाली लागु गरेका छौँ, तर त्यसको पालना जनताले नगरेको बुझियो, अब सङ्क्रमितको सङ्ख्या यसरी नै बढ्दै जाने हो भने यसअघि गरिएको निर्णयलाई सच्याउँदै सवारीसाधन पूर्ण रुपमा बन्देज लगाउँछौँ,' प्रजिअ तिमिल्सिनाले भने।

होटेल तथा रेस्टुरेन्ट बेलुका ८ बजेसम्म खुल्ला राख्ने निर्णयको पनि सर्वसाधारणले नबुझेका उनले बताए। भने, ‘पूर्वपश्चिम राजमार्ग चल्ने यातायातमा सवार यात्रुलाई मध्यनजर गरी त्यसलाई खुला गरेका हौँ।'

उनले थपे, 'बिहान र बेलुका रक्सी पिउनलाई होटेल र रेस्टुरेन्ट खुला राखेका होइनौँ, जनताले यसलाई गलत बुझे, संक्रमणको बढ्दो अवस्था देख्नासाथ त्यस निर्णयलाई पनि सच्याउने छौँ।’ सर्वसाधारणले सरकार र स्थानीय प्रशासनको निर्णय कार्यान्वयनमा सहयोग पुर्‍याउन उनले झापाबासीसँग अनुरोध पनि गरेका छन्।      

निषेधाज्ञामा उल्लंघन गर्ने ५ सय ३६ सवारीसाधन नियन्त्रणमा

जिल्लामा पहिलो दिन नै निषेधाज्ञाको उल्लंघन गर्ने ५३६ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक निषेश चापागाईंले बताए।

उनका अनुसार दुई पाङ्ग्रे ४७४ र चार पाङ्ग्रे ६२ वटा सवारीसाधन नियन्त्रण लिएको हो।  बिर्तामोड, भद्रपुर, चन्द्रगढी, मेचीनगर, धुलाबारी, बुधबारे, शनिश्चरे, सुरुङ्गा, दमक, चाराआली, गौरीगञ्ज, गौरदाहबाट सो सवारीसाधन नियन्त्रणमा लिएको चापागाईंले बताए।

जोर बिजोर प्रणालीअनुसार आज जोर नम्बरका सवारीसाधन चलाउनु पर्नेमा त्यसको उल्लंघन गर्दै बिजोर नम्बर प्लेटका सवारीसाधन नियन्त्रणमा लिएको उनको भनाइ छ। नियन्त्रणमा लिएका सवारीसाधनलाई सम्बन्धित धनीलाई चेतावनी दिँदै बुझाउने कार्य भइरहेको उनले बताए। 

बजार पसल बन्द, सरकारी कार्यालय सुनसान 

जिल्लामा सञ्चालित औषधि, होटेल, रेष्टुरेन्टबाहेक अन्य पसल बिहान ६ बजेबाट ११ बजे सम्म मात्र खुलेका थिए। ११ बजेपछि झापा प्रहरीले बजार तथा पसल बन्द गराउँदै हिँडेका थिए। 

जिल्लामा निषेधाज्ञा जारी भएपछि जिल्लाका सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राही न्यून देखिएका थिए। जसले गर्दा झापाको सदरमुकाम भद्रपुर सुनसान जस्तै थियो। 

सरकारी कार्यालयमा अत्यावश्यक कामबाहेक अन्य सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए। ‘कार्यालयले सेवा बन्द गरेपछि सदरमुकाममा सेवाग्राहीको चहलपहल घटेको हो,' उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.