|

खोटाङ : खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने नीति कार्यान्वयनमा ल्याएको छ। एमफिल र पिएचडी गर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरुव छात्रवृत्ति गर्न थालेको छ।

छात्रवृत्ति प्रदान गर्ने नीतिअनुसार गाउँपालिकाले वडा नम्बर ६ इन्द्रेणीपोखरीका विष्णुबहादुर कार्कीलाई एक लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेको हो। 

गाउँपालिकाको गत असारमा सम्पन्न गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रमअनुसार एमफिल अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिस्वरुप जनही ५५ हजार ५५५ र पिएचडी अध्ययन गर्ने विद्यार्थीलाई जनही एक लाख ११ हजार १११ रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो। उच्च शिक्षा हासिल गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई सहयोग र प्रोत्साहन गर्ने उद्देश्यले यसै वर्षबाट छात्रवृत्तिका कार्यक्रम कार्यान्वयनमा ल्याइएको गाउँपालिका प्रमुख प्रदीपकुमार राईले बताए।

पिएचडी र एमफिल गर्ने विद्यार्थी गाउँपालिकाभित्रको स्थायी नागरिक हुनुपर्ने, स्वदेशकै विश्वविद्यालयमा अध्ययनरत हुनुपर्नेलगायतका मापदण्ड तोकिएको छ। यस्तै, गाउँपालिकाले चालु आर्थिक वर्ष सामुदायिक विद्यालयका रिक्त दरबन्दीमा शिक्षक छनोट समितिमार्फत राहत र करार दरबन्दीका १२ शिक्षक छनोट गरेको छ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाले आधारभूत तहको स्थानीय पाठ्यक्रम निर्माणको प्रक्रियासमेत अगाडि बढाएको छ। यस्तै, विनियोजित योजना तथा कार्यक्रमबाट विभिन्न विद्यालयमा बालमैत्री कक्षाकोठा निर्माण, भित्तेलेखन, फर्निचर निर्माण, सिँढी तथा पर्खाल निर्माण, कम्पाउण्ड तथा घेराबारा, खेलमैदान निर्माण, कक्षाकोठा तथा भवन मर्मतका काम भइरहेको गाउँपालिकाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.