|

डडेल्धुरा : डडेल्धुरामा भैँसी खरिदमा अनियमितता गरेको आरोप लागेको छ। परशुराम नगरपालिका–५ परिगाउँमा गरील भैँसी पालन समूहले अनियमितता गरेको स्थानीयले आरोप लगाएका हुन्।

प्रति भैँसी ८० हजार पर्ने भएपनि गरील भैँसी पालन समूहले एक लाखमा खरिद गरेको स्थानीयको आरोप छ। समितिले आफ्नो स्वार्थपूर्तीका लागि धनगढीको केसी डेरी, गाईभैँसी फर्ममा ८० हजारमा पाइने भैँसीलाई कञ्चनपुरको शिद्धबाबा गाईभैंसी पालन तथा दाना उद्योगबाट एक लाखमा खरिद गरेको स्थानीय धर्मदेव ओझाको आरोप छ।

उनले धनगढीको केसी डेरी, गाईभैँसी फर्मले ८० हजारमा दिएपनि खरिद गर्न नदिएर कञ्चनपुरको शिद्धबाबा गाईभैँसी फर्मबाट खरिद गरेको आरोप लगाए। उनका अनुसार एकै जातको भैँसी भनेर फरक–फरक जातको भैँसी दिइएको छ।

लागत साझेदारीमा भैँसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत संघीय सरकारबाट २१ लाख ८० हजार, प्रदेश सरकारबाट २५ लाख, स्थानीय तहबाट २१ लाख ८० हजार र समूह तथा किसानबाट १४ लाख ४७ हजार चार सय ८० गरी जम्मा ८३ लाख सात हजार चार सय ८० रूपैयाँमा भैँसी खरिदको लागि लागत संकलन भएको थियो। जसमध्ये समूहले ५२ लाखमा ५२ भैँसी मुर्राप्रति एक लाख परेको लागत स्टिमेटमा देखाएको छ।

राँगो खरिद तथा गोठ व्यस्थापनमा एक लाख २० हजार, पशु बिमा १३ सय ७० प्रति भैँसी गरी ५२ भैँसी ७२ हजार ६ सय १०, ढुवानीप्रति भैंसी पाँच हजारका दरले दुई लाख ६५ हजार, एआई सामग्री र नाईट्रोजन खरिद एक लाख, घाँसको बिउ खरिद तथा घाँस विकास ५० हजार, च्याप कटर प्रति १० हजारका दरले ५२ को पाँच लाख ४६ हजार देखाएको छ।

यस्तै, तालिम दुई लाख, लिटरमा नाप्ने भाँडा दुई हजार, गोठ सुधार १० लाख ४० हजार, औषधि खरिद ७० हजार, समूह गठन १० हजार, अनुगमन बैठक तथा दैनिक भ्रमण भत्ता दुई लाख २५ हजार, स्टेशनरी ५२ हजार आठ सय, मिल्क क्यान दुई वटा ३० हजार, इन्धन ५० हजार नौ सय ९०, मिल्क क्यान ५२ वटा ५२ हजार, कम्प्युटरमर्मत र पिरेन्टरमर्मत १८ हजार ६ सय, होडिङ बोर्ड निमार्ण १० हजार, सार्वजनिक सुनुवाई ५० हजार लागेको लागत स्टिमेटमा देखिएको छ।

गरील भैँसी पालन समूहले ४६ मुर्रा भैँसी शिद्धबाबा गाईभैंसी पालन फर्मबाट एक लाखका दरले खरिद गरिएको छ भने त्यस्तै खालको भैँसी धनगढी फर्मले ८० हजारमै दिने बताएको समितिकै एक सदस्यले बताए। ‘यसले बिल मिलाएर समितिले अनियमितता गरेको देखिन्छ,’ उनले भने,‘म आफै धनगढीको भैँसी फर्म गएर ८० हजारमा लिएर आउँछु भनेको थिए। तर, समितिका साथीबाटै एउटै र्फमबाट एक लाख नै हाल्नुपर्छ भन्ने दबाब आयो। र, एक लाखमै खरिद गरेँ।’

धनगढी फर्ममा पुगेका समूहका सदस्य ओझाले भने,‘६ मुर्रा भैँसी ल्याए समूहको दबाबले एकलाख नै तिर्नु परेको छ। हिसाब–किताबमा अनियमितता भएको छ। मिलाउनुहोस् भनेका छौँ। नमिले अख्तियारमा जान्छौँ।’ समूहका पदाधिकारीहरूले अनियमितता गरेको समूहका सदस्यहरूले थाहा पाएपछि अहिले किसानबाट लिएको २५ हजार फिर्ता दिने निर्णय गरेको समूहका सदस्य दानसिंह बिष्टले बताए।

कृषक वीरबहादुर साउँदले समूहका मानिसले आफ्नो नजिकका मान्छेलाई भैँसी वितरण गरेको आरोप लगाए। लागत साझेदारीमा भैँसी प्रवद्र्धन कार्यक्रममा जसको घरमा दुई भैँसी छन् त्यसलाई समूहबाट थप एक भैँसी दिने भन्ने नियम बनाइएको छ। सुरुमा फरम भर्दा घरमा दुई भैँसी नभएकोलाई भर्न नदिएपनि पछि भने समूहले घरमा भैँसी नभएकोलाई समेत भैँसी वितरण गरेको साउँदको आरोप छ।

व्यवसायीक भैँसी पालन गर्ने हेतुले कार्यक्रम सञ्चालनमा आएको भएपनि भैँसी खरिद गरेको पन्ध्र दिन नबित्दै भैँसी बिक्री गर्न थालेको स्थानीयको भनाइ छ। एक लाखमा खरिद गरेको भैँसी बिरामी भएको भनेर कृषक दशरथ जोशीले २५ हजारमा बिक्री गरेको पाइएको छ। परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले स्टिमेट बनाउने आफूहरूको काम भएकोले बनाएको बताए। भैँसी खरिद प्रक्रियाका बारेमा आफूलाई जानकारी नभएको बताए।

‘नगरपालिकाले ल्याएको होइन। पशु शाखाले पनि ल्याएको होइन्। खरिद गर्ने काम समूहको हो। सस्तोमा खरिद गरोस् वा महँगोमा समूहको जिम्मेवारीमा पर्दछ’ उनले भने, ‘गुनासो आएपछि अब अनुगमन हुन्छ।’ पसु सेवा शाखा जोगबुढाका पसु चिकित्सक रतनबहादुर भण्डारीले आफ्नो काम स्वास्थ्य परीक्षण गर्ने मात्रै भएकोले अन्य जानकारी नभएको प्रतिक्रिया दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.