|

काठमाडौं : नेपालमा पछिल्लो समय कोरोना संक्रमण दरको ग्राफ बढ्दो छ। उपत्यकाका तीन जिल्ला काठमाडौं,भक्तपुर र ललितपुरमा पनि कोरोना संक्रमण बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वैशाख १६ गते (पछिल्लो लकडाउन सुरू भएको दिन) यता मात्रै १४ हजार जना नयाँ संक्रमित फेला परेका छन्। 

मंगलबार देशभर भेटिएकामध्ये आधा संक्रमित काठमाडौं उपत्यकाकै छन्। कोरोना रोकथाम तथा नियन्त्रणको लागि जनसंख्याको चाप बढी भएका काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर, मध्यपुर र सूर्यविनायक नगरपालिकालाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ।

काठमाडौं महानगरपालिका

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले संक्रमण नियन्त्रणका लागि ५० बेडको अस्पताल बनाउन लागेको बताए। ‘हिजो वडा नम्बर ३ का अध्यक्ष दीपक केसीको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेका छौं,’उनले भने,‘५० बेडको उपचार उपकरणसहित आइसोलेशनको अस्पताल बनाउने निर्णय भएको छ।यसको सम्भावना अध्ययन भइरहेको छ। चार दिन पछि काम थाल्छौं।’ उनले अक्सिजनको अभाव हुन नदिने बताए।

‘हाम्रै सहकार्यमा गंगालाल हृदय केन्द्रमा अक्सिजन उत्पादन सुरु गरेका छौ। करिब दुई करोड ७५ लाख रुपैयाँ लागतमा ४७ लिटरका एकसय ३५ सिलिन्डर दैनिक अक्सिजन उत्पादन गर्ने प्लान्टको क्षमता छ,’प्रवक्ता डंगोलले भने। अरु अक्सिजन स्रोतको व्यवस्थापन गर्न पहल गरिरहेको बताउँदै उनले अन्य आवश्यक स्वास्थ्य सामग्रीको पनि व्यवस्थापन गरिरहेको बताए। 

ललितपुर महानगरपालिका

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले सुनाकोठीमा एक सय ६० बेडको आइसोलेसन कक्षा सञ्चालनमा ल्याएको बताए। उनका अनुसार अहिले सम्म ५० बेड मात्रै भरिएको छ।

‘अझै वार्ड खाली छ,भरिँदै गएपछि अरु ठाउँमा पनि बनाउँछौ। महानगरपालिका भित्रका सबै अस्पतालको बेड भने भरिएको छ,’उनले भने। कोरोना संक्रमण फैलिनबाट जाेगिन महानगरभित्र माइकिङ गर्दै आएको पनि उनले सुनाए। ‘अत्यवश्यक कामबाहेक बाहिर हिँड्डुल गर्न दिएका छैनौ,’उनले थपे। अक्सिजन अभाव हुन नदिन सगरमाथा अक्सिजनसँग सहकार्य गरेको पनि उनले जानकारी दिए।

भक्तपुर नगरपालिका

नगरपालिकाका उपप्रमुख रजनी जोशीले संक्रमित व्यक्तिको घरघरमा गएर स्वास्थ्य सेवा दिदै आएको बताइन्। उनले भनिन्,‘स्वास्थ्यकर्मी खटाए संक्रमितको औषधि उपचार गरिरहेका छौं। संक्रमणा  फैलियोस् भनेर नियमित संक्रमित व्यक्तिको घरको फोहोर उठाउँदै आएका छौं।’

नगरपालिकाले नगरवासीको लागि भक्तपुरको ब्रम्हायणीमा बहुद्देश्यीय भवनमा ५० बेडको आइसोलेसन बेड बनाएको उनले बताइन्। उनका अनुसार ती बेडमा अहिले २१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। ‘हाइ डिपेन्डेन्ट युनिट (एचडियु) उपचारका लागि २५ बेड तयार पारेका छौं। भेन्टिलेटर, अक्सिजनको व्यवस्थापनका लागि पनि हामी पहल गरिरहेका छौं,’जोशीले भनिन्। 

मध्यपुर ठिमी

​यस नगरपालिकाले आफ्नो क्षेत्रका बिरामीको सुविधाका लागि कोरिया मैत्री अस्पतालमा करिब सयको संख्यामा आइसोलेसन शय्या राखेको छ भने कृषि तालिम केन्द्रमा पनि केही बिरामी बस्न सक्ने जनाएको छ। मध्यपुरले तय गरेका स्थान बिरामीले भरिइसकेका छन् । अब थप के प्रबन्ध हुने हो त्यसको कुनै ठोस योजना नगरपालिकासँग छैन।

यस नगरपालिका क्षेत्रमा रहेका नागरिक अस्पताल, मध्यपुर अस्पतालसँग समन्वय गरेर काम गरिरहेको छ। यद्यपि नगरपालिकाले के गरिरहेको छ भन्ने सो क्षेत्रका मानिसले थाहा समेत नपाएको गुनासो गर्छन् । 

नगरपालिकाको नेतृत्व ठिमी बजारको भीडबाट निस्किन नसकेको गट्ठाघरका स्थानीय निवासी हरेन्द्र आचार्यले बताए ।  

सूर्यविनायक नगरपालिका

नगरपालिकाका प्रवक्ता उपेन्द्रराज केसीले कोरोना रोकथाम नियन्त्रणको लागि जगातीमा रहेको आफ्नै ५० शैयाको अस्पताल सञ्चालनमा ल्याउन लागेको बताए। ‘अस्पतालको निर्माण काम अन्तिम चरणमा पुगेको छ। यही हप्तामा अत्याधुनिक सुविधासहित अस्पताल सञ्चालनमा ल्याएर कोभिड बिरामीको उपचार गर्छौ,’प्रवक्ता केसीले भने।

पहिला प्रयोग गर्दै आएको विभिन्न होटलहरुलाई आइसोलेसन बनाउन छलफल भइरहेको पनि उनले बताए। उनका अनुसार बुधबारबाट हप्ताको दुई दिन निःशुल्क पिसिआर परीक्षण गरिने छ।

नगरपालिकाभित्र सोमबारसम्म पाँच सय ५६ जनामा कोरोना संक्रमण भएकोमा १७ जनाकाे विभिन्न अस्पतालमा उपचार भइरहेको र अरुकाे होम आइसोलेसनमा उपचार भइरहेको उनले जानकारी दिए। केसीले भने,‘घरमा भएका संक्रमित व्यक्तिहरुसँग हामी नियमित सम्पर्कमा नै छौ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.