|

काठमाडौं:सरकारले दुई देशका राजदूतको म्याद थप र एक देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। गत आइतबारको मन्त्रिपरिषद बैठकले यस्ताे निर्णय गरेको हो ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताएअनुसार अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ भने जापानका लागि प्रतिभा राणा र ओमानका लागि राजदूत शर्मिला पराजुलीको म्याद थप्ने भएको  छ । 

दाहाललाई एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपाले २०७६ जेठमा राजदूत बनाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई २०७६ असोज २८ गते राजदूतमा नियुक्त गरेकी थिइन्। तत्कालीन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको  सिफारिसमा दाहाललाई राजदूतका लागि सिफारिस गरिएको थियो ।

भागबण्डाको राजनीति चर्किँदै गएका बेला सरकारले माओवादीको सिफारिसमा रहेका गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख फेर्ने र अस्ट्रेलियाका लागि राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको प्रष्ट देखिएको छ ।

परराष्ट्र स्रोतका अनुसार, जापानका लागि राजदूत प्रतिभा राणा र ओमानका लागि राजदूत शर्मिला पराजुली ढकालको पदावधि पुरा भएर पनि ‘अनिश्चितकालका लागि’ म्याद थप गरिएको छ ।

राणा राप्रपा सम्बद्ध र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकी सासु हुन् भने ढकाल मधेसवादी दलसँग सम्बद्ध भएर नियुक्ति पाएकी थिइन।

यीबाहेक साउदी अरेबियाको लागि राजदूत महेन्द्रप्रसाद सिंह रजपूत (माओवादी),म्यानमारका लागि राजदूत भीम उदास (नेपाली कांग्रेस), बहराइनका लागि राजदूत पदम सुन्दास (माओवादी)को सिफारिसमा गएकाको कार्यकाल पूरा भइसके पनि तत्काल कुनै निर्णय नआएको स्रोतले बतायो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.