|

इलाम : गत वर्षको कोरोनाको कहरपछि तङ्ग्रिदै गएको इलामका पर्यटन व्यवसाय पुनः धरासायी बन्दै गएको छ। नयाँ भेरियण्टसहितको कोरोना संक्रमणको दोस्रो लहर सुरू भएसँगै इलामका पर्यटकीय क्षेत्र सुनसान हुन पुगेका हुन्। गत वर्षको दसैंदेखि इलामका पर्यटकीय गन्तव्य कन्याम, श्रीअन्तु, पानीटार, सन्दकपुरलगायतका क्षेत्रमा पर्यटक आउन थालेका थिए। तर‚ अहिले कोरोना संक्रमणको दर तीव्र बढ्न थालेपछि पर्यटकहरूको चहलपहल कमी हुन थालेको छ। जसको प्रत्यक्ष असर होटल व्यवसायी, पर्यटन व्यवसायी, कोसेली घर सञ्चालक र यातायात व्यवसायीहरूले भोग्न थालेका छन्।

‘केही दिन अघिसम्म दैनिक ८/१० हजार रूपैयाँ बिक्री हुने गरेको थियो‚’ कोशेली पसल सञ्चालक गंगा पराजुलीले भनिन्‚ ‘अहिले नयाँ भेरियन्टसहितको कोरोना फैलिएपछि दैनिक दुई हजार रूपैयाँको पनि बिक्री गर्न समेत समस्या छ।’

कोरोना संक्रमणको डरका कारण व्यवसायीहरूले पसल समेत खोल्न सकेका छैनन्। इलाम र झापाको सिमाना जोरकलशदेखि फिक्कल बजारसम्म झन्डै ३०० को हाराहारीमा तरकारी पसल र कोसेली घर सञ्चालनमा छन्। घुमघामका लागि आउने पर्यटकहरूले चिया, छुर्पी, ललिपपसद्दगै इलाममा उत्पादित तरकारी समेत कोसेलीको रूपमा लाने गरेका थिए। जसको प्रत्यक्ष फाइदा ग्रामीण क्षेत्रमा किसान र उद्यमीहरूले लिने गरेका छन्।

अहिले जिल्ला बाहिरबाट पर्यटकहरू इलाम नआएपछि कृषि उत्पादन स्थानीय रूपमा मात्र खपत हुने गरेको किसान सागर पराजुली बताउँछन्। पर्यटकहरू भ्रमणका लागि नआउँदा कन्याममा रहेका घोडचढी व्यवसाय र जातीय पोशाकका पसलहरू समेत धरासायी बनेका छन्।

‘गत वर्षको महामारीपछि भर्रैखमा कन्याममा घोडचढी र जातीय पोशाकका पसलहरू तङ्ग्रिन सुरू गरेका थिए‚’ घोडचढी व्यवसायी संघका अध्यक्ष प्रेम तामाङले भने‚ ‘लकडाउन हुँदा पोहोर साल सातजना व्यवसायीको घोडा मरेको थियो। यो वर्ष कति के हुने हो चिन्ता छ। घर व्यवहार कसरी चलाउने।’ व्यवसायीहरूले दुई लाख रूपैयाँ लागतमा पर्यटकलाई घुमाउन घोडा खरिद गरेका छन्। तर‚ कोरोनाका कारण पर्यटकहरू कन्याम नआउँदा व्यवसायीहरू बेरोजगार बन्नुपर्ने अवस्था आएको तामाङले बताए।

भारततर्फ कोरोनाको असर तीव्र रूपमा बढेपछि पशुपतिनगरस्थित नेपाल–भारत सीमा नाका बन्द छ। यसले गर्दा भारतीय पर्यटकको आगमन रोकिएको छ। कोरोनाको जोखिमलाई ध्यानमा राखेर होटलहरू बन्द हुने क्रममा रहेको कन्याम हिल कटेजका सञ्चालक टेकराज गिरीले बताए। उनले भने‚ ‘कोरोना तीव्र गतिमा फैलिरहेको अवस्थालाई ध्यानमा राखेर हामीले  हाम्रो र पर्यटकको समेत स्वास्थ सुरक्षालाई ख्याल गरेर यस क्षेत्रका केही होटल तथा लजमा पर्यटक राख्न बन्द गरिसकेका छौं।’

इलाममा ४५० वटा होटल रहेको तथ्यांक छ। जहाँ २ हजार ३०० जनाले रोजगार पाएका छन्। अघिल्लो वर्षको लकडाउनपछि ६० प्रतिशत होटल पुनः सञ्चालनमा आएका थिए। धार्मिक, शैक्षिक, सहकारी र कृषि क्षेत्रको भ्रमणका लागि आउने पर्यटकको संख्या कम भएपछि होटलमा प्रत्यक्ष असर देखिएको होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलले बताए। अघिल्लोको लकडाउनले इलाममा प्रतिमहिना ७२ करोड रूपैयाँ घाटा भएको संघको भनाइ छ। जिल्लामा ३ देखि ५ लाख रूपैयाँ लगानीका २००, १० देखि २० लाख लगानीका १९० वटा र १ करोडदेखि १० करोड रूपैयाँसम्म लगानी भएका ६० वटा होटल छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.