|

बाँके : कोभिड महामारीसँग जुझिरहेको बाँकेमा अक्सिजन अभाव भएको छ। सघन रुपमा कोरोनाको उपचार सेवा दिइरहेका अस्पतालहरुमा अक्सिजन अभावमा बिरामीहरु अस्पताल परिसरमा मृत्युसँग लडिरहेका छन्।

सरकारी भेरी अस्पताल र निजी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना बिरामीको उपचार हुँदै आएको छ। १४२ बेड क्षमता रहेको भेरी अस्पतालका कोभिड वार्डमा १९२ बिरामी पुगेपछि बेड अभावमा अस्पतालले कोरोना बिरामी भर्ना गर्न बन्द गरेको छ।

अस्पतालले जेनतेन सिलिण्डरबाट बिरामीलाई अक्सिजन पुर्याइरहेको छ। तर, मेडिकल कलेजमा बेड भएपनि अक्सिजन अभावका कारण नयाँ बिरामी भर्ना हुन नपाँउदा अस्पताल परिसरमा बिरामी छट्पटाइरहेका छन्। कपिलवस्तु, दाङ्ग, बाँके, बर्दिया, सुर्खेत, कैलालीलगायत जिल्लाका कोराना बिरामीलाई भेन्टिलेटरसम्मको उपचार दिइरहेको नेपालगन्ज मेडिकल कलेजले अक्सिजन अभाव झेलिरहेको कोभिड फोकल पर्सन दिनेश श्रेष्ठले बताए।

श्रेष्ठले कोरोना बिरामी उपचार गर्न तीन सय बेड तयार पारे पनि अक्सिजन अभावले १५० बेड मात्र संचालन भएको जानकारी दिए। मंगलबारदेखि त्यसलाई कम गरेर एक सयमा पुर्याउने र नयाँ भर्ना नलिने निर्णय भएको उनले बताए। अक्सिजनको अभावमा थप बेड संचालन हुन नसकेपछि कोरोनाका बिरामीहरु अस्पताल परिसरमा पालो कुरेर बसिरहेका छन्।

सरकारले लिक्विड अक्सिजन ट्याङ्क भारतबाट ल्याउने व्यवस्था मिलाए तीनसय बेड संचालनमा ल्याउने उनले बताए। ‘अक्सिजन दिनु पर्ने नयाँ बिरामी आएर अस्पताल परिसरमा पालो कुरेर बसिरहेका हुन्छन। बिरामीको छटपटी हामी हेर्न बाध्य भइरहेका हुन्छौं। हाइफ्लो अक्सिजन चाहिने बिरामी हुन्छन्।

सिलिण्डरको अक्सिजन दिएर पुग्दैन। पुरानो बिरामी डिस्चार्ज भएपछि मात्र नयाँ भर्ना गर्न मिल्छ।’ भएका बिरामीलाई पनि अब केही दिन मात्र अक्सिजन पुग्ने उनले जानकारी दिए। साच्चिकै बिरामी बचाउने हो भने सरकारले छिटो लिक्विड अक्सिजन ट्याङ्क भारतबाट ल्याउने व्यवस्था मिलाउनुपर्ने उनले बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.