|

जनकपुरधाम : नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि महोत्तरीमा आजदेखि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधवार बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरेको हो।

गत आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले बुधबार बिहान ६ बजेदेखि अगामी वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागु गर्ने निर्णय गरेको थियो। निषेधाज्ञा अवधिमा अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्किन आग्रह गर्दै उल्लंघन गरे कारबाही हुने चेतावनी प्रशासनले दिएको छ।

निषेधाज्ञा अवधिमा एम्बुलेन्स, शववाहन, खाद्यसमाग्री, औषधि, कुखुराको चल्ला, पशुपंक्षीको दाना, खानेपानी, दुध, इन्धन, फलफूल तथा तरकारी बोकेको सवारी साधनहरु तथा निर्माण समग्री ढुवानीका सवारी साधन सञ्चालन गर्न दिने प्रशासनले जनाएको छ। यस्तै, सरकारी नम्बर प्लेटको दुई पांग्रे र चारपांग्रे साधन, झण्डावाहक सवारी साधन, कूटनीतिक नियोगको सवारी साधन, प्रेस पास प्राप्त सवारी साधन पनि सञ्चालन गर्न पाइने छ।

नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सार्वजनिक संस्थाका कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्र वाहकलाई सवारी साधन चलाउन दिइने छ। वैवाहिक कार्यक्रममा दुलाहा दुलहीसहित बढीमा १५ जना जन्ती मात्र बोकेको सवारी साधन सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ।

सार्वजनिक यातायातका साधन जस्तै बस, ट्याक्सी, जिप, टेम्पो सञ्चालन गर्न पाइने छैन। निजी सवारी साधन पनि सञ्चालनमा रोक लगाइएको छ।

बैंक तथा वित्तीय संस्थाहरु स्वास्थ्य मापदण्ड पूर्ण रुपमा लागु गरी सञ्चालन गर्न दिने प्रशासनले जनाएको छ। यस्तै,  औषधि तथा औषधीजन्य पसल, पट्रोल पम्प खुला गर्न पाइने छ। खाद्यान्न, फलफूल, तरकारी, दुध/डेरी, ग्यास पसल बिहान ७ देखि १० बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म खुला गर्न पाइने सूचनामा जनाइएको छ। तर, होटल तथा रेष्टुरेन्ट, ब्युटी पार्लर, शैलुन, कपडा पसल, जिमखाना, सुनचाँदी, टेलरिङ, फुटपाथ पसल, शैक्षिक संस्था, ट्युसन सेन्टर बन्द रहनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.