|

काठमाडौं :  कोरोना संक्रमणबाट विभिन्न जिल्लामा थप ११ जनाको ज्यान गएको छ। कैलालीमा चार, सल्यान र बाँकेमा दुई दुई, पर्सा, झापा र बैतडीमा एक एक जनाको ज्यान गएको सम्बन्धित जिल्लाका स्रोत व्यक्तिले जनाएका छन्। 

कैलालीमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। गएराति देखि आज बिहानसम्म गरी सवै संक्रमितको जिल्लास्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

मृत्यु हुनेमा कैलालीका ५८,५३ र ७२ वर्षका पुरुष र कन्चनपुरका ३५ वर्षका पुरुष रहेका जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। 

यस्तै पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालमा स्थानीय ४० वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ। उनमा कडा खालको निमोनिया रहेको थियो। यसैबीच नारायणी अस्पताल वीरगञ्जमा  पछिल्लो पटक गरिएको परिक्षणमा १९० जना कोरोना संक्रमित थपिएका छन्। २८८ जनाको परिक्षण गरिएकोमा १९० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालकाअनुसार संक्रमितमध्ये १३३ जना पर्सा जिल्लाका रहेका छन् भने बाँकी धनुषा महोत्तरी लगायतका छन्। 

बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। गएराति बाँकेस्थित भेरी अस्पतालमा जिल्लाकै ६० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन तेज वलीले जनाकारी दिए। त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बाँकेकै २७ वर्षीय पुरुषको मृत्यु भएको छ। 

सल्यानमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ। जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको जिल्ला स्वाथ्य कार्यायलयले जनाएको छ। बागचौर नगरपालिका वडा न २ चिल्ढाले निवासी ५२ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो। यस्तै शारदा नगरपालिका १ श्रीनगरका ७४ वर्षीय पुरुषको  गएराती मृत्यु भएको छ। खोकी र श्वास फेर्न गाह्रो भएपछि १६ गते राति अस्पताल भर्ना भएका संक्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला अस्पताल सल्यानका मेडिकल अधिकृत भीमकान्त जैसीले जानकारी दिए।

बैतडीमा कोरोनाबाट एक शिक्षकको मृत्यु भएको छ। पाटन नगरपालिका–१ का ४२ वर्षीय उनको उपचारका क्रममा मंगलबार राति १ बजेर ४० मिनेटमा जिल्ला अस्पतालमा मृत्यु भएको हो।

१२ दिनअघि लक्षणसहितको संकमण देखिएका उनी होम आइसोलेसनमा बसेका थिए । स्वास्थ्यमा धेरै समस्या आएपछि मंगलबार साँझ उपचारका लागि उनलाई जिल्ला अस्पताल ल्याइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। 

त्यस्तै झापामा होम क्वारेन्टाइनमा रहेकी एक संक्रमित महिलाको बुधबार बिहान मृत्यु भएको छ। मेचीनगर–६ बर्मेली बस्तीमा बस्दै आएकी ५६ वर्षीया महिलालाई चार दिनअघि कोरोना पुष्टि भएको थियो।

पारिवारिक स्रोतका अनुसार उनी कलेजोको क्यान्सरबाट समेत पीडित थिइन्। उनलाई उपचारका लागि बीएन्डसी अस्पताल लगिएकोमा त्यहाँ जाँच गर्दा कोरोना पुष्टि भएको थियो। त्यसपछि उनी घर फर्किएर गत शुक्रबारदेखि क्वारेन्टाइनमा बस्दै आएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.