|

हेटौंडा :   मकवानपुरमा बुधबार विहान थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालको कोभिड वार्डमा उपचाररत एक संक्रमितको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए।

मृत्यु हुनेमा मकवानपुरगढी –५ बस्ने ६८ वर्षीय एक पुरुष जनाइएको छ । यो सहित हेटौंडा अस्पताल, कोभिड उपचार वार्डमा उपचार गराइरहेका ६ जना संक्रमितको मृत्यु भइसकेको छ।

यसअघि, हेटौंडाका ५५ बर्षीय पुरुष, ४१ वर्षीया महिला,  बारा अमलेखगन्जका ४६ बर्षीय पुरुष, ५९ वर्षिय पुरुष र महोत्तरी जलेश्वर घर भएकी ५० वर्षिय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

कोरोनाको दोस्रो लहरमा मकवानपुर उच्च जोखिममा रहेको पाइएको छ । दैनिक जसो मृत्यु हुनु, संक्रमण बढ्दै जानुले स्थिति थप भयावह हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ। थप संक्रमितलाई उपचारका लागि सहजै उपचार व्यवस्थापन गर्न समस्या पर्न पनि थालेको छ।

मकवानपुरमा पछिल्लो २४ घन्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ। संक्रमित हुनेमा हेटौंडा उपमहानगरपालिका भित्रका मात्रै ५९ जना छन्। यस्तै, थाहा नगरपालिकामा एक जना, मनहरी गाउँपालिकामा ४ जना, भीमफेदी गाउँपालिकामा एक जना र मकवानपुरगढी गाउँपालिकामा ११ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ।

पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएको पनि स्वास्थ्य कार्यालयको भनाई छ। डिस्चार्ज हुनेमा होम आइसोलेसनबाट ८ जना र संस्थागत आइसोलेसनबाट १ जना रहेका छन्।

पछिल्लो विवरण अनुसार मकवानपुर जिल्लामा संक्रमितको संख्या ४ हजार ७ सय २२ पुगेको छ। जिल्लामा अहिले सक्रिय संक्रमित ८ सय ५१ जना रहेको जनाइएको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय मकवानपुरले दैनिक उपभोग्य सामाग्रीका पसल खुलाउने विषयमा नयाँ निर्णय गरेको छ। यसअघि विहान ९ बजेसम्म अत्यावश्यक उपभोग्य खाद्यान्नका पसल विहान ५ बजेदेखि विहान ८ बजेसम्म खुलाउने गरिएकोमा अब भने विहान ८ बजेसम्ममात्र खुला हुनेछन्।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भारत मणि पाण्डेद्वारा जारी सूचनामा औषधी पसल, पेट्रोल पम्म, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल, सवारी साधन मर्मत गर्ने तोकिएका वर्कसप नियमित सञ्चालन गर्नुपर्ने र अन्य सबै प्रकारका व्यवसायहरू बन्द रहने  उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.