|

काठमाडौं :   कोरोना संक्रमणबाट विभिन्न जिल्लामा थप २२ जनाको ज्यान गएको छ। कैलाली र रुपन्देहीमा ४/४, चितवनमा ३, सल्यान, मोरङ र बाँकेमा २/२, पर्सा, झापा र बैतडी, गुल्मी र मकवानपुरमा एक एक जनाको ज्यान गएको सम्बन्धित जिल्लाका स्रोत व्यक्तिले जनाएका छन्। 

बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा रुपन्देहीका चारजना संक्रमितको मृत्यु भएको छ।  मृत्यु हुनेमा तीनजना महिला र एक पुरुष छन्। बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुषमा वैशाख १५ गते कोरोना पोजेटिभ पुष्टि भइ सोही दिन अस्पताल भर्ना भएकामा मंगलबार राति १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए।

यस्तै बञ्‍चन गाउँपालिका–४ का २७ वर्षीया महिलामा वैशाख १९ गते कोरोना संक्रमण देखिएको र सोही दिन अस्पताल भर्ना भएकामा बुधबार बिहान मृत्यु भएको हो।

यसै गरी बुटवल–९का ५४ वर्षीया महिलामा वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भइ सोही दिन अस्पताल भर्ना भएकी थिइन्।  उनको पनि उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

यस्तै वैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएकी तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिला २१ गते अस्पताल भर्ना भएकामा उपचारका क्रममा बुधबार बिहान  मृत्यु भएको अस्पतालका प्रवक्ता गौतमले बताए।

कैलालीमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। गएराति देखि आज बिहानसम्म गरी सवै संक्रमितको जिल्लास्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

मृत्यु हुनेमा कैलालीका ५८,५३ र ७२ वर्षका पुरुष र कन्चनपुरका ३५ वर्षका पुरुष रहेका जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। 

कोरोना सङ्क्रमणका कारण चितवन जिल्लामा तीन जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक÷एक जना छन्।

भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर महानगरपालिका–२५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो। निमोनियाको समस्या भई वैशाख १९ गते अस्पतालमा भर्ना भएका उनमा २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोभिड सङ्क्रमण पुष्टिपछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ५ः३५ बजे मृत्यु भएको हो।

यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ का ४२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। उनको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। उनी श्वासप्रश्वासमा समस्या आई यही वैशाख २१ गते मेडिकल कलेजमा आएका थिए। उनमा २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपश्चात अस्पतालमा उपचारका क्रममा उनको मङ्गलबार राति २ः३० बजे मृत्यु भएको हो।

यसैगरी अर्घाखाँचीको भूमिकास्थानका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भूमिकास्थान–१ का ४२ वर्षीय पुरुष रहेको चितवन मेडिकल कलेजले जनाएको छ । कलेजका अनुसार श्वासप्रश्वासमा समस्या आई यही वैशाख २१ गते अस्पताल आएका उनको राति २ः०२ बजे मृत्यु भएको हो । उनमा वैशाख २० गते बुटवलको नेशनल प्याथोल्याबमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई पुरुषको बुधबार बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा ५४ र ६७ वर्षीय पुरुष छन्। मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का ५४ वर्षीय पुरुषको बिहान ८ बजेर १५ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए। त्यस्तै विराटनगर महानगरपालिका–१२ का ६७ वर्षीय वृद्ध पुरुषको पनि बिहान ५ बजे नोबेलमै उपचारका क्रममा मृत्यु भएको छ। 

यस्तै पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालमा स्थानीय ४० वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ। उनमा कडा खालको निमोनिया रहेको थियो। यसैबीच नारायणी अस्पताल वीरगञ्जमा  पछिल्लो पटक गरिएको परिक्षणमा १९० जना कोरोना संक्रमित थपिएका छन्। २८८ जनाको परिक्षण गरिएकोमा १९० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालकाअनुसार संक्रमितमध्ये १३३ जना पर्सा जिल्लाका रहेका छन् भने बाँकी धनुषा महोत्तरी लगायतका छन्। 

बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। गएराति बाँकेस्थित भेरी अस्पतालमा जिल्लाकै ६० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन तेज वलीले जनाकारी दिए। त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बाँकेकै २७ वर्षीय पुरुषको मृत्यु भएको छ। 

सल्यानमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ। जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको जिल्ला स्वाथ्य कार्यायलयले जनाएको छ। बागचौर नगरपालिका वडा न २ चिल्ढाले निवासी ५२ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो। यस्तै शारदा नगरपालिका १ श्रीनगरका ७४ वर्षीय पुरुषको  गएराती मृत्यु भएको छ। खोकी र श्वास फेर्न गाह्रो भएपछि १६ गते राति अस्पताल भर्ना भएका संक्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला अस्पताल सल्यानका मेडिकल अधिकृत भीमकान्त जैसीले जानकारी दिए।

बैतडीमा कोरोनाबाट एक शिक्षकको मृत्यु भएको छ। पाटन नगरपालिका–१ का ४२ वर्षीय उनको उपचारका क्रममा मंगलबार राति १ बजेर ४० मिनेटमा जिल्ला अस्पतालमा मृत्यु भएको हो।

१२ दिनअघि लक्षणसहितको संकमण देखिएका उनी होम आइसोलेसनमा बसेका थिए । स्वास्थ्यमा धेरै समस्या आएपछि मंगलबार साँझ उपचारका लागि उनलाई जिल्ला अस्पताल ल्याइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। 

त्यस्तै झापामा होम क्वारेन्टाइनमा रहेकी एक संक्रमित महिलाको बुधबार बिहान मृत्यु भएको छ। मेचीनगर–६ बर्मेली बस्तीमा बस्दै आएकी ५६ वर्षीया महिलालाई चार दिनअघि कोरोना पुष्टि भएको थियो।

पारिवारिक स्रोतका अनुसार उनी कलेजोको क्यान्सरबाट समेत पीडित थिइन्। उनलाई उपचारका लागि बीएन्डसी अस्पताल लगिएकोमा त्यहाँ जाँच गर्दा कोरोना पुष्टि भएको थियो। त्यसपछि उनी घर फर्किएर गत शुक्रबारदेखि क्वारेन्टाइनमा बस्दै आएकी थिइन्।

गुल्मीमा  थप  एक  कोरोना  संक्रमितको  मृत्यु  भएको  छ । जिल्लाको  सत्यवती  गाउँपालिका(७ जुनियाका ६९  वर्षीय  पुरुषको  मृत्यु भएको  स्वास्थ कार्यालय  गुल्मीका  फोकल पर्सन गोपाल  कार्कीले  जानकारी  दिए।

मकवानपुरमा बुधबार विहान थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालको कोभिड वार्डमा उपचाररत एक संक्रमितको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा। सागर काफ्लेले जानकारी दिए।

मृत्यु हुनेमा मकवानपुरगढी –५ बस्ने ६८ वर्षीय एक पुरुष जनाइएको छ । यो सहित हेटौंडा अस्पताल, कोभिड उपचार वार्डमा उपचार गराइरहेका ६ जना संक्रमितको मृत्यु भइसकेको छ।

यसअघि, हेटौंडाका ५५ बर्षीय पुरुष, ४१ बर्षीया महिला,  बारा अमलेखगन्जका ४६ बर्षीय पुरुष, ५९ वर्षिय पुरुष र महोत्तरी जलेश्वर घर भएकी ५० वर्षिय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.