|

मकवानपुर : मकवानपुरमा कोरोना परीक्षणका लागि स्वाब दिएर घरमै बसिरहेका मकवानपुरका एक पुरुषको मृत्यु  भएको छ।

मकवानपुरको  मनहरी गाउँपालिका गाउँपालिका-१ का ६० वर्षीय पुरुष अस्ति वैशाख २० गते स्वाब परीक्षण गरी घरमै बसिरहेका बेला मंगलबार राति उनको मृत्यु भएको हो। गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीका अनुसार कोरोनाको स्वाब दिएर घरमा बसिरहेका उनको मंगलबार मात्र पोजेटिभ रिर्पोट आएको थियो। रिर्पोट आएकै रात उनको मृत्यु भएको अध्यक्ष उप्रेतीले जानकारी दिए ।

मृतक पुरुष मुटु रोगबाट पीडित रहेको गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक टीकाराम अधिकारीले जानकारी दिए। मनहरी गाउँपालिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या योसहित ३ पुगेको अधिकारीले बताए।

यस्तै, बुधबार बिहान हेटौंडा कोभिड अस्पतालमा उपचाररत मकवानपुरगढी गाउँपालिकाका एक पुरुषको पनि मृत्यु भएको छ। मृत्यु हुनेमा  मकवानपुरगढी-५ बस्ने ६८ वर्षीय एक पुरुष रहेको हेटौंडा कोभिड अस्पतालको इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए। डा.काफ्लेका अनुसार उनलाई १० दिन अघि पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो। मकवानपुरगढीमा कोरोना संक्रमण भई मृत्यु भएको यो पहिलो घटना हो।

मकवानपुरमा मंगलबार पनि मदन भन्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित, हेटौंडा अस्पतालको कोभिड वार्डमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको थियो। बुधबार दुई जना मृतक थपिएसँगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.