|

डोल्पा : डोल्पाको उत्तरी क्षेत्रअन्तर्गत डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धो मा सिकिस्त बिरामी परेका चारजना कर्मचारीको अझै उद्धार हुन सकेको छैन।

तीन दिनदेखि बिरामीले थला परेका स्वास्थ्य संयोजक सुरेन्द्र बिक, प्राविधिक खेमराज सिंह,प्राविधिक माधन पुन र तिन्जे स्वास्थ्य चौकी प्रमुख दिक्पाल रोकायको उद्धार हुन नसकेको हो।

बिरामीहरू आफैँ हिँडेर दुनै पुग्ने अवस्था नभएकाले हेलिकोप्टरबाट उद्धारका लागि मंगलबारदेखि पहल गरिए पनि मौसममा आएको खराबीले काठमाडौंबाट हेलिकोप्टर आउन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले जानकारी दिए।

कार्यालयको कामको शिलशिलामा वैशाख ४ गते उपल्लो डोल्पा हिँडेका बिरामी कर्मचारीहरू रुखाखोकी, ज्वरो, शरीर दुख्ने र सास फेर्ने गाह्रो हुने समस्याले सिकिस्त भएको पंज्ञानीले बताए।

गाउँपालिकाकै खर्चमा हेलिकोप्टर झिकाउन निरन्तर लागिरहे पनि मौसमले साथ नदिएकाले मान्छे र घोडामा बोकाएर जतिसक्दो तल झार्ने कि भन्ने सल्लाह पनि भइरहेको पंज्ञानीको भनाइ छ।

यीमध्ये स्वास्थ्य संयोजक विकको स्वाथ्य अवस्था अन्य तीनको तुलनामा थप जटिल रहेको सँगै रहेका अर्का प्राविधिक कृष्णरुप बुढाले जानकारी दिए।

बिरामीहरूमा कोभिड जस्तो लक्षण देखिए पनि उपल्लो डोल्पामा परीक्षण गर्ने कुनै माध्यम नभएकाले यकिन गर्न नसिकएको प्राविधिक बुढाको भनाइ छ।

मंगलबारदेखि नै मौसम बिग्रेर काठमाण्डौ, पोखरा हुँदै उपल्लो डोल्पा पुग्ने हवाई रुटहरु नखुलेकाले काठमाडौंबाट हेलिकोप्टर उड्न नसकेको वरिष्ठ पर्यटन व्यवसायी जितेन्द्र झाँक्रीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.