|
फाइल फोटो

विराटनगर : पछिल्लो समय दोस्रो लहरको कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै संक्रमितले अस्पताल भरिन थालेको छ। विराटनगर महानगरपालिकामा मंलबारसम्म एक हजार ५३ सक्रिय संक्रमित रहेको तथ्याङ्क छ।

प्रदेश १ को राजधानी विराटनगरमा दैनिक संक्रमणको दर बढ्न थालेपछि निजी अस्पतालले सञ्चालनमा ल्याएको कोभिड अस्पताल भरिएका छन्। दैनिक जस्तो संक्रमितको दर थपिएसँगै विराटनगरका मेडिकल कलेजहरूले कोभिड अस्पतालको शय्या थप विस्तार गर्न लागिपरेका छन्।

मोरङको बुढीगंगा गाउँपालिका–१ टंकिसनबारीमा रहेको विराट टिचिङ हस्पिटलले सञ्चालनमा ल्याएको १२० शय्याको कोभिड अस्पताल बिरामीले भरिएपछि थप विस्तार गर्ने भएको हो।

अस्पतालले अक्सिजनसहितको ४० शय्या थप गरी बुधबारदेखि पूर्ण सञ्चालनमा ल्याउने तयारी गरेको कोभिड अस्पतालका संयोजक सुनिल देवले जानकारी दिए।

‘संक्रमण बढेपछि अस्पताल आउने बिरामीको संख्या बढेको छ। अस्पतालका बेड कोरोना संक्रमितले भरिएपछि थप विस्तार गर्न जुटेका छौं,’ संयोजक देवले भने, ‘अहिले आउने विरामी अक्सिजन आवश्यक पर्ने खालका बढी बिरामी आउने गरेकोले अक्सिजनसहितको ४० शय्या थप गर्ने तयारीमा रहेका छौं।’मंगलबार साँझसम्ममा थप ४० शय्याको अक्सिजनसहितको तयार गरी थप विरामी भर्ना लिन थालिने तयारी गरिएको अस्पतालले जनाएको छ।

यसअघि १० शय्याको भेन्टिलेटरसहितको १२० शय्याको कोभिड अस्पताल विराटमा सञ्चालनमा थियो। विराटमा मंगबलारसम्म आइसियुमा ७ जनासहित १ सय २५ कोरोना संक्रमितको उपचार भइरहेको साहले जानकारी दिए।

नोबेल मेडिकल कलेजले सञ्चालनमा ल्याएको कोभिड अस्पतालमा पनि कोरोना संक्रमितले भरिएको छ। १ सय शय्याको अस्पतालमा ९० जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।

मंगलबार बिहान चार जना कोरोना संक्रमितको मृत्यु भएपछि चार शय्या खाली रहेको छ। ‘खाली भएको शय्याको लागि पनि बिरामी ल्याउने जानकारी आइसकेको छ,’ उनले भने, ‘पछिल्लो समयमा अस्पताल भर्ना हुने कोरोना संक्रमितको चाप बढेपछि अस्पतालले शय्या विस्तारमा गर्ने योजना बनाएको छ।’

संक्रमितको संख्या दैनिक बढ्दै जाँदा अस्पताल भर्ना हुने कडा लक्षण भएका संक्रमित आउने संख्या बढेकोले अस्पतालले शय्या विस्तार गर्ने विषयमा छलफल भइरहेको बताइएको छ।

प्रदेश १ सरकारले सञ्चालन विराटनगरमा सञ्चालनमा ल्याएको कोशी कोभिड उपचार केन्द्रमा अक्सिजन आवश्यक पर्ने गम्भीर खालका बिरामी मात्र भर्ना लिने गरिएको छ। ९६ शय्याको अस्पतालमा मंगलबारसम्म ४३ जना बिरामी भर्ना भएका छन् भने ५३ बेड खाली छ।

अस्पतालमा २१ वटा भेन्टिलेरसहितको आइसियु र ८३ वटा अक्सिजनसहितको बेड छ। अस्पतालमा १६ जनाको आइसियुमा राखेर उपचार भइरहेको अस्पतालका प्रमुख बैजनाथ साहले जानकारी दिए। २७ जनाको भने एचडियुमा उपचार भइहरको छ।

यसअघि सोही स्थानमा सञ्चालित ८० बेडको कोरोना उपचार केन्द्रको ब्लक भने ममर्तका लागि भन्दै प्रदेश सरकारले बन्द गरेको छ। बिरामी भर्ना भएका उपचार केन्द्रमा पनि बिरामीको चाप बढेकाले बेड भरिन समय नलाग्ने देखिएको छ।

संक्रमितको संख्या बढदै गएकोले प्रदेश १ सरकारले ८० बेडको कोरोना उपचार केन्द्र पनि अक्सिजनसहितको अस्पतालमा ल्याउने तयारी गरेको छ। ‘अहिले मर्मत सम्भार भइरहेको छ,’ साहले भने, ‘यसअघि पनि ३० शय्याको अक्सिजनसहितको बेड रहेको थियो। बाँकी रहेको ५० बेडमा पनि अक्सिजनसहित सञ्चालन गर्ने तयारी गरिएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.