|
फाइल तस्बिर

काठमाडौं : पहिलो लहरको कोभिड–१९ संक्रमणका कारण देश लकडाउन भएसँगै करिब ९ महिनासम्म भौतिक उपस्थितिमा गरिने पठनपाठन रोकियो। जसकारण २०७७ को शैक्षिक सत्र समयमा पूरा हुन सकेन। 

शैक्षिक सत्र वैशाखबाट सुरु भई चैत मसान्तमा सकिनुपर्ने थियो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेलका अनुसार ०७७ सालको शैक्षिक सत्रलाई लम्ब्याइएर जेठ मसान्तसम्म पुर्‍याइएकाे छ।

तर, दोस्रो लहरको कोरोना भाइरस पुन: तीव्र रुपमा फैलिएको छ। सबै तहका वार्षिक परीक्षा रोकिएको छ। गत १६ गतेबाट जारी निषेधाज्ञा लब्याएर वैशाख २९ गतेसम्म पुर्‍याइएकाे छ। त्यसैले जेठ मसान्तमा सकिने शैक्षिक सत्रमा फेरि पनि क्षति हुने देखिन्छ। त्यति मात्र नभई २०७८ को नयाँ शैक्षिक सत्रमा समेत असर पुग्ने देखिन्छ।

०७८ सालको शैक्षिक सत्र भने घटाएर १० महिनाको मात्रै व्यवस्थापन गरिएको छ। ०७८ सालको शैक्षिक सत्र असार १ गतेबाट सुरु भई चैत मसान्तमा कायम गरिएको छ। 

शिक्षाविद भन्छन्, बेलैमा बुद्धि नपुर्‍याए शैक्षिक सत्रमा क्षति पुग्ने निश्चित छ

 शिक्षाविद् डा.विद्यानाथ कोइरालाले समयमा केन्द्र सरकार,शिक्षक र स्थानीय तहले पढाइलाई व्यवस्थापन गर्न नसके फेरि पनि शैक्षिक सत्रमा क्षति पुग्ने बताउँछन्।

‘स्कुल बन्द भएकाले केटाकेटी स्कुल जान नपाएको कुरा सबैलाई थाहा छ,’उनले भने,‘तर,यो समयलाई सदुपयोग गर्न जान्नुपर्छ, घरमै विद्यार्थीलाई सागखेती  गर्दै, तरकारी काट्दै पढाउने, सिक्ने र सिकाउने अभ्यास गराउनुपर्छ, यसका लागि शिक्षकले सहयोग गर्नुपर्छ,स्थानीय तहले कसरी कुन माध्यमबाट हुन्छ पढाउने वातावरण मिलाउनुपर्छ।’

भने, ‘विद्यार्थीले शिक्षकलाई इन्टरनेट सुविधा भएमा भाइबर, प्यासेन्जरबाट सानातिना प्रश्न शिक्षकलाई सोधिराख्नुपर्छ,नेट नहुने दुर्गममा टेलिफोन वा एसएमएसबाट प्रश्न सोध्नुपर्छ, यसले किताबमा भएका पाठ्यसामग्री विद्यार्थीको दिमागमा घुस्छ,यसरी गर्दा शैक्षिक सत्र बच्छ पनि।’

उनले बाटोमा पर्दा शिक्षकले पढाउने विकास पनि गराउँदा शैक्षिक सत्र पूरा हुने बताए। उदाहरण दिँदै दिए। कोइरालाले भने, ‘प्राय विद्यार्थीसँग किताब हुन्छ, कोही शिक्षक ससुराली जान्छ नि त्यो बेला बाटोमा पर्ने विद्यार्थीलाई स्वास्थ्य अवस्था राम्रो भए पाँच मिनेटदेखि १० मिनेटसम्म मात्रै पढायो भने पनि काफी हुन्छ।’ 

यसरी पढाउने विकास गराए शैक्षिक सत्र राम्रोसँग बचाउन सकिने उनको भनाइ छ। अर्का शिक्षाविद् डा.प्रमोद भट्ट पनि भन्छन्, ‘विद्यार्थीमा जे प्रविधि छ, त्यही अनुसार पढाउनुपर्छ, तर निरन्तरता भने दिनुपर्छ, यति गर्दा कम शैक्षिक सत्रमा क्षति पुग्छ, नभए फेरि पनि विद्यार्थी पढ्न नपाउँदै शैक्षिक सत्र सकिन्छ।’ 

शैक्षिक सत्रलाई व्यवस्थापन गर्नलाई अब भने सरकार चनाखो हुनुपर्ने उनी बताउँछन्। ‘अघिल्लो महिनामा पनि सरकारकै कमीकमजोरीले विद्यार्थी पढ्न पाएनन्,पाठ्यक्रममा भएका विषयवस्तु पढाइएन,’ भट्टले भने।

प्याब्सन कोरोना संक्रमणको परिस्थिति हेर्दै

यता निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का केन्द्रीय अध्यक्ष टीकाराम पुरी भने अहिले नै शैक्षिक सत्रमा क्षति हुनेमा विश्वस्त छैनन्। भन्छन्, ‘यो शैक्षिक सत्र सकिन अझै समय छ, त्यसैले अहिले बढी सावधानी सर्वसाधारणले अपनाउनुपर्ने मात्रै देखिन्छ।’

उनले निषेधाज्ञाको समयमा पनि वैकल्पिक माध्यामबाट पढाइ सुचारु गरिरहेकाले त्यति समस्या नहुने तर्क गरे। ‘अहिले पनि ५० प्रतिशत अनलाइन माध्यमबाट पढाइरहेका छौं,’ भने, ‘जेठसम्म परिस्थिति हेर्छौ,त्यसपछि पनि अवस्था यस्तै रहे थप योजना ल्याएर शैक्षिक सत्रमा धक्का नपुग्नेगरी पठाउँछौ।’ 

शैक्षिक सत्र बचाउन के गर्दै छ सरकार?

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय प्रवक्ता दीपक शर्माले शैक्षिक सत्र क्षति हुन नदिन वैकल्पिक माध्यामबाट पढाइ सञ्चालन गरिरहेको बताउँछन्। ‘अहिले भौतिक रुपमा पठनपाठन नभए पनि सरकारले पहिलाजस्तै वैकल्पिक माध्यामबाट पढाइरहेको छ, अझै यसरी नै संक्रमणदर बढेर स्कुल खोल्न नसकिने अवस्था आयो भने थप छलफल गरेर शैक्षिक सत्रलाई व्यवस्थापन गरिन्छ।’

उनका अनुसार इन्टरनेटको पहुँचमा नपुगेको ठाउँमा पहिलाकै समय तालिकाअनुसार देशभरका दुई सय एक वटा सामुदायिक रेडियोबाट पठनपाठन सञ्चालन भइरहेको छ। यी रेडियोबाट कक्षा ६,७,८,९,१० लगायत तहका विद्यार्थीलाई बिहान १० बजेदेखि विभिन्न विषयको समय तालिका अनुसार दिउँसो २:४५ सम्म श्रव्य पाठहरूबाट पढाइँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.