सरकारले अष्ट्रेलियाका राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ। गत आइतबार बसेको मन्त्रिपरिषद्ले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको तत्कालीन नेकपाले २०७६ जेठमा दाहाललाई राजदूत सिफारिस गरेको थियो।
मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई २०७६ असोज २८ गते राजदूतमा नियुक्त गरेकी थिइन्। तत्कालीन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा दाहाललाई राजदूतका लागि सिफारिस गरिएको थियो ।
तत्कालीन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा दाहाललाई राजदूतका लागि सिफारिस गरिएको थियो।
नेपाल सरकारले तपाईलाई फिर्ता बोलाउने निर्णय गरेको छ, यो निर्णय कसरी थाहा पाउनुभयो?
बिहान उठ्ने बित्तिकै मन्त्रिपरिषद्को बैठकले मलाई फिर्ता बोलाउने निर्णय गरेको भनेर मैले सामाजिक संजालहरूमा पढें। नेपालमा राति नै भएकोले उता सम्पर्क गर्न सकिएन, केही समयपछि इमेलमार्फत औपचारिक पत्र पनि पाएँ।
यो निर्णयलाई कसरी लिनुभएको छ त?
ठ्याक्कै भन्नुपर्दा आश्चर्यचकित छु। २०७६ सालको असोजमा मलाई अस्ट्रेलियाको राजदूतका रुपमा नियुक्त गर्दा ४ वर्षका लागि गरिएको थियो र मैले त्यसै हिसाबले कार्ययोजना बनाउँदै बढाउँदै गरेको अवस्थामा यो निर्णय भएको छ।
यसरी बीचमै एउटा राजदूतलाई फिर्ता बोलाइँदा कुटनीतिक वृत्तमा कति असर पार्न सक्छ भन्ने मूल्यांकन नगरिकन यो निर्णय भयोजस्तो लाग्छ। तर पनि जुन सरकारले मलाई नियुक्त गरेको थियो उसैले फिर्ता पनि बोलाएको छ, त्यसैले मैले स्वाभाविक नै लिएको छु।
राजदूतका रुपमा यहाँ रहँदा तपाईंसँग कस्ता योजना थिए र तिनमा प्रगति के कस्ता छन्?
राजदूतमा सिफारिस भइसकेपछि पनि संसदीय समितिमा मेरा कार्य योजनाहरू प्रस्तुत गरेरै आएको हुँ। र यहाँ आइसकेपछि पनि यहाँ रहनुभएका महावाणिज्यदूतहरू र नेपालीसँगको संवादपछि पनि यहाँको वातावरणबारे धेरै बुझ्ने मौका मिल्यो।
सर्वप्रथम त म यहाँ आउँदा कोरोना कहर थियो र थुप्रै नेपाली यहाँ हुनुहुन्थ्यो। यहाँ अड्किएर रहनुभएका नेपालीलाई नेपाल फर्काउनकै लागि हामीले चार्टर फ्लाइट व्यवस्था गर्याैं। यसका लागि म व्यक्तिगत रुपमै पनि वायु सेवा निगमसँग भाडादर घटाउन र नेपालीलाई अझ सहज रुपमा नेपाल फर्काउन समन्वय गरिरहेकै थिएँ।
हामीले अरु चार्टरभन्दा कम मूल्य तिरेर नेपालको उडान गर्न सफल भएका थियौं। त्यसपछि मैले नेपाल र अस्ट्रेलियाबीच व्यापार सम्भावनाबारे पनि नेपाल सरकारले गर्न सक्ने सहकार्यको विषयलाई लिएर यहाँ रहनुभएका नेपाली व्यवसायीसँग पनि निरन्तर छलफल गरिरहें।
अझ दुईदेशीय व्यापारका सम्भावना पहिचान गर्न सकिन्छ र दुईतर्फी व्यापारका सम्भावना पनि छन् भन्ने कुरा यहाँका अधिकारीसँग पनि भएको छ।
यहाँ आउने नेपाली विद्यार्थीका समस्याबारे पनि दूतावासमा रहेर कसरी समस्या हाल गर्न सकिन्छ भनेर अध्ययन मैले गरेको छु र कतिपय नेपाली जसलाई समस्या परेको थियो, उहाँहरूलाई पनि हामीले सक्ने सहयोग गरेका छौं। यहाँ रहेका नेपाली संघसंस्थाको समन्वयमा पनि हामीले समस्यामा परेका नेपालीलाई आवश्यक परेको जस्तोसुकै सहयोग गर्न सक्ने आधार निर्माण गरेका छौं।
संख्याकै हिसाबले पनि अस्ट्रेलियामा चीन र भारतपछि सबै भन्दा बढी विद्यार्थी नेपाली छन् र यस हिसाबले पनि हामीले गर्नुपर्ने काम थुप्रै छन्। नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा नेपालका माननीय पर्यटनमन्त्रीज्यूको पनि सिड्नीमा उपस्थिति थियो र नेपाल र अस्ट्रेलियाबीच सामाजिक र सांस्कृतिकस्तरमा पनि समन्वय हुन सक्ने विषयमा छलफल भएको थियो।
नेपाल र अस्ट्रेलियाबीच सीधा उडानको विषय पनि निर्णय भइसकेको छ। अघिल्लो वर्ष वायुसेवा निगमको जहाजले उडान गरिसकेपछि हामीले आफ्नै विमान पनि यहाँ ल्याउन सक्छौं भन्ने प्रमाणित भएको छ, केही प्रक्रियागत कुरा बाँकी छन्।
यस्तै मैले यहाँ आउने बित्तिकै दुईदेशीय उच्चस्तरीय भ्रमणको कुरा पनि उठान गरेको थिएँ। यसै सन्दर्भमा यहाँका गभर्नर जनरललाई औपचारिक निमन्त्रणा पनि दिएको छु। उहाँ यसका लागि निकै उत्साहित हुनुहुन्छ र त्यो भ्रमण पनि कोरोना सक्किएलगत्तै गर्नुपर्ने छ। यस्ता थुप्रै योजना छन्।
तपाईं राजदूत भएको अहिले लगभग १८ महिना मात्रै भएको छ, यसरी अचानक फिर्ता बोलाउने निर्णय हुँदा तपाईंले बनाउनुभएको कार्ययोजनामा पनि असर परेका छन् ?
कोरोनाका कहरबीच यहाँबाट रेस्क्यु उडानहरू गर्नुपर्ने र समस्यामा परेका नेपालीलाई गर्नुपर्ने सहयोगजस्ता अत्यावश्यकीय कार्य गरिसकेपछि बाँकी दीर्घकालीन योजना निर्माण गर्ने चरणमा थिएँ र यसरी अचानक फिर्ता बोलाउँदा यी योजनामा असर त परेको नै छ।
अझै बढी एउटा राजदूतलाई आफ्नो कार्यकाल पूरा गर्नुभन्दा अगाडि नै फिर्ता बोलाइनुले कूटनीतिक असर पनि पारेको मैले बुझेको छु। तर पनि मैले बनाएका योजनाले निरन्तरता पाउने कुरामा म विश्वस्त छु। मैले बनाएका योजनालाई मैले पूरा गर्न सकिनँ, यसमा दुःख लाग्ने त छँदै छ।
(अष्ट्रेलियामा रहेका पत्रकार अमित पोखरेलले गरेको कुराकानीको सम्पादित अंश)
तपाईंको ईमेल गोप्य राखिनेछ ।