|

चितवन : दोस्रो लहरको कोरोना महामारी नियन्त्रणमा भरतपुर महानगरपालिकाको तयारी शून्य देखिएको छ। अक्सिजनसहितको आइसोलेसन बेड व्यवस्थापन र संक्रमितको कन्ट्याक्ट ट्रेसिङको पूर्व-तयारीका विषयमा भरतपुर महानगरपालिका अझै अलमलमा परेको छ।

जिल्लामा निषेधाज्ञा जारी भएको छैटौँ दिन भइसक्दा पनि भरतपुरमा कन्ट्याक्ट ट्रेसिङको काम अघि बढ्न सकिरहेको छैन। जिल्लामा सबैभन्दा बढी संक्रमित भरतपुर महानगरमै छन्। महानगरकी मेयर रेणु दाहालको ध्यान भने कोरोना नियन्त्रणमा भन्दा राष्ट्रिय राजनीतिमै केन्द्रित भएको छ। 

चितवनमा बुधबारसम्म सक्रिय संक्रमितको संख्या एक हजार ६४० पुगेको छ भने भरतपुर महानगरका मात्रै एक हजार ३६० जना रहेका छन्। भरतपुरमा एक हजार २८७ जना संक्रमित होम आइसोलेसनमा छन्।

नयाँ भेरियन्टको कोरोना संक्रमण भएका बिरामीलाई अक्सिजनसहितको आइसोलेसन बेड व्यवस्थापन गर्न सरकारले सबै स्थानीय तहहरूलाई पत्राचार गरेको भए पनि भरतपुर महानगरले यसबारे कुनै निर्णय गर्नै सकेको छैन।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले अक्सिजनसहितको नयाँ आइसोलेसन निर्माण गर्ने वा बागेश्वरीको आइसोलेसन सेन्टरलाई ब्युँताउने विषयमा कुनै निर्णय नभएको बताए।

‘आइसोलेसन निर्माण गर्ने तयारी छैन। होम आइसोलेसनमा बसेका संक्रमितलाई गाह्रो भयो भने वडा संयन्त्रले अस्पतालमा पठाउने भनेका छौँ’, उनले भने, ‘बैठक बस्दै छौँ। अस्पतालले धानेन भने हामीले गर्ने भनेका छौँ।’

महानगर यसरी ढुक्कसँग बसिरहँदा भरतपुर अस्पतालको कोभिड बेड भने भरिँदै गएका छन्।

अस्पतालले पछिल्लो पटक थपेर कोभिड बेड १३५ वटा पुर्‍यायाएकोमा बुधबारसम्म १०१ वटा बेड संक्रमितले भरिसकेका छन्। बाँकी बेड पनि केही दिनमै भरिने अवस्था छ।

अस्पतालहरुमा नै बेड थप्ने कि नयाँ आइसोलेसन सेन्टर निर्माण गर्ने भन्ने विषयमा अझै छलफल जारी रहेको महानगरको स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले बताए। ‘कन्ट्याक्ट ट्रेसिङ त सुरु भएको छैन। गर्नपर्ने चाँहि छ तर के–के नमिलेको जस्तो भएको छ’, उनले भने।

होम आइसोलेसनमा बसेका संक्रमितलाई गाह्रो भएको अवस्थामा संक्रमितलाई अस्पतालसम्म लैजाने एम्बुलेन्सको व्यवस्थासमेत नभएको उनले बताए। ‘एम्बुलेन्सकै तयारी भइसकेको छैन’, उनी भन्छन्, ‘बिग्रिएर बसेकोलाई मर्मत गर्नेलगायतका विषयमा छलफल त भएको छ तर काम चाँहि सुरु भएको छैन।’

एउटा लक्षण देखिएको संक्रमित धेरै मान्छेहरूको सम्पर्कमा पुगेको अवस्था रहेको भन्दै उनले कन्ट्याक्ट ट्रेसिङको काम चुनौतीपूर्ण रहको बताए। अझै पनि विभिन्न बहानामा मान्छेहरू बाहिर निस्किरहेको उनको भनाइ छ ।

‘सबै अरूले गर्दिन्छ, मैले केही गर्दिनँ। मास्क पनि लगाउँदिनँ भन्न त भएन नि’, उनी भन्छन्, ‘हामीले कन्ट्याक्ट ट्रेसिङको तयारी त गर्दै छौँ। प्रस्ताव पनि लगेर पेश गरेका छौँ। एउटा टिम तयार गरेर गर्छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.