|

रुकुम (पूर्व) : कोरोना महामारीको जोखिम बढ्दै गएपछि रुकुमकोट सिल हुने भएको छ। अस्थायी जिल्ला सदरमुकाम रहेको सिस्ने गाउँपालिकाको ५ र ६ नम्बरमा पर्ने रुकुमकोट बजार क्षेत्रलाई एक साताको लागि सिल गरिने भएको हो।

बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले रुकुमकोटलाई बुधबार  (आज) राती १२ बजेदेखि लागू हुने गरी वैशाख २९ गते राति १२ बजेसम्म एक सातालाई सिल गर्ने निर्णय भएको डिसिसिएमसीका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए।

जिल्लामा कोरोना बिरामीहरू बढ्दै गएको तर, नियन्त्रण र व्यवस्थापनको लागि स्रोत साधन नभएपछि जिल्लाको मुख्य बजार रुकुमकोटलाई सिल गरिने भएको राईले बताए। अहिले जिल्लामा सिस्ने गाउँपलिका–२ का वडाध्यक्ष जीवन केसीसहित १४ जना सक्रिय संक्रमित रहेका छन्। कोरोनाको जोखिम बढ्दै जाने तर मानिसहरूले स्वास्थ्य मापदण्डको पालना नगरी लापरबाही गरिरहेको पाइएकाले रुकुमकोट सिल गर्नुपर्ने स्थिति आएको प्रजिअ राईले जानकारी दिए। 

रुकुमकोट सिल गरिएको अवधिमा जिल्ला भित्रै यात्रुबाहक अर्थात् सार्वजनिक गाडीहरूमा रोक लगाइएको छ। औषधि पसल २४ सै घण्टै खुला रहने छन् भने खाद्यान्नजन्य पसलहरू साँझ र बिहान दुई-दुई घण्टा खोल्न पाइनेछ। अन्य सबै पसलहरू बन्द गरिने प्रजिअ राईले बताए।

यस्तै, बैंकिङ क्षेत्रको सेवाप्रवाहलाई पनि विभाजन गरिएको छ। रुकुमकोटस्थित प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकले हप्ताको आइतबार, मंगलबार र बिहीबार सेवा दिनेछन्। नेपाल बैंक लिमिटेड, एनआइसी एसिया बैंक र कृषि विकास बैंकले सोमबार, बुधबार र शुक्रबार सेवा प्रवाह गर्ने प्रजिअ राईले जानकारी दिए। अन्य सहकारी र लघुवित्तहरूले भने बिहान १० बजेदेखि दिउसो १ बजेसम्म कार्यालय सञ्चालन गर्नेछन्। 

यस्तै, जिल्लाका सरकारी कार्यालयमा परिस्थिति हेरी एक चौथाई कर्मचारीको उपस्थितमा कामकाज गरिने छ। सिल गरिएको क्षेत्रमा निर्माण सामग्री ओसारपसार गर्ने गाडीहरू चल्नेछन् भने ठूला आयोजना निर्माणको कामलाई निरन्तरता दिइने छ। यस्तै बजार क्षेत्रमा जमघट हुने भएकाले घर निर्माणका कार्यलाई पनि रोक्ने प्रशासन कार्यालयले जनाएको छ। यी निर्णयविपरीतको कार्य गरेमा कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी राईले बताए।

रोल्पामा बुधबारदेखि १५ दिनसम्म निषेधाज्ञा

बढ्दो कोरोना संक्रमण रोक्न रोल्पामा १५ दिनसम्म निषेधाज्ञा गर्ने घोषणा गरिएको छ। सोमबार बसेको जिल्लास्तरीय सर्वपक्षीय-सर्वदलीय विस्तारित बैठकले आपत्कालीन सेवाबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारीको आह्वानमा सोमबार सदरमुकाम लिबाङमा आयोजित बैठकले वैशाख २२ गते बिहान ६ बजेदेखि जेठ ५ गते राती १२ बजेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो। सर्वपक्षीय उक्त निर्णयलाई जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले समेत अनुमोदन गरेको छ। बैठकमा जिल्लाका १० वटै स्थानीय तहका प्रमुख, सुरक्षा अधिकारी र स्वास्थ्य अधिकारीहरुको समेत उपस्थिति थियो।

रोल्पामा कोरोनाले हालसम्म ४ जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जनस्वास्थ्य प्रमुख नोखराज पोखरेलले गंगादेव गाउँपालिकामा एक महिला, त्रिवेणी गाउँपालिकामा एक पुरुष, सुनीलस्मृति गाउँपालिकामा एक पुरुष र माडी गाउँपालिकाका एक पुरुषको मृत्यु भएको बताए। संक्रमितलाई विभिन्न अस्पतालमा उपचार गर्ने क्रममा उनीहरुको मृत्यु भएको हो।

डिसिसिएमसीका अनुसार कोरोना संक्रमण समुदायस्तरमा फैलिइसकेको अवस्थामा त्यसबाट जोगिन निषेधाज्ञा गर्नुपरेको हो। ‘निषेधाज्ञाबाट मात्रै थप संक्रमण रोक्न सकिने भएकाले यो निर्णय गरिएको हो,’ डीसीसीएमसीका संयोजक रहेका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले भने, ‘जिल्लावासीलाई कोरोनाबाट जोगाउन सबैको सहयोग आवश्यक छ।’

निषेधाज्ञाको अवधिमा अस्पताल, स्वास्थ्य सामग्री र औषधि पसल २४ घण्टा नै खुला रहने प्रशासनले जनाएको छ। खाद्यवस्तु, ग्यास, दूग्धजन्य पदार्थ, तरकारी, खाद्यवस्तु, ग्यास, तरकारी, माछामासु बिक्री वितरण गर्ने पसलले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने नियम बनाइएको छ।

सार्वजनिक यातायात पूर्ण रुपमा बन्द गर्ने तर पूर्वाधार निर्माणका काम जारी राख्ने निर्णय भएको छ। शंकास्पद स्थान र व्यक्तिलाई निगरानी राख्ने र बाहिरबाट आएकालाई कम्तीमा १० दिन होम क्वारेन्टाइनमा बसाल्ने निर्देशन दिइएको छ। यस्तै हरेक स्थानीय तहले कम्तीमा एउटा आइसोलेसन निर्माण गर्नुपर्ने बैठकको निर्देशन छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.