|

काठमाडौं : देशमा देखिएको तमासा विकृत संसदीय व्यवस्थाको उपज भएको सहरी विकास मन्त्री प्रभु साहले बताएका छन्। 

बुधबार नेपाल टेलिभिजनमा एक अन्तर्वार्ताका क्रममा मन्त्री साहले गलत संवैधानिक प्रावधानकै नतिजास्वरुप आज देशमा अस्थिरता र अराजकता बढेको बताए। संघ र प्रदेशमा सरकार बनाउन वा सरकार टिकाउन देखिएका सम्पूर्ण तमासा अहिलेको शासन प्रणालीकै कारण भएको मन्त्री साहको भनाइ छ।

 'अहिले तपाईंहरुले देख्न सक्नुहुन्छ के के भइरहेको छ। कोरोना रिपोर्ट नेगेटिभ भए पनि सांसदलाई आइसियुमा भर्ना गरिन्छ, एक जना सांसद अनुपस्थित हुँदा पनि संसद बैठक स्थगित हुन्छ। आफ्नै निवासमा सपथ ग्रहण, फर्जी हस्ताक्षर, दल त्यागको घोषणा, सरकार गिराउन सांसद पदबाट राजीनामा, बिनाकारण सांसद पदमुक्त, प्रदेश प्रमुख परिवर्तन, आफ्नै पार्टीको सरकारविरुद्ध मतदान, सांसदको अपहरण र किनबेच, पार्टी फुटाएर मन्त्री बनाउने जस्ता जग हसाउने भद्दा मजाक अहिले देशमा चलिरहेको छ,' मन्त्री साहले भने, 'संघ वा प्रदेशमा सरकार बनाउन वा टिकाउन जे जे भइरहेको हेर्दै हुनुहुन्छ, यो सबै हुनुमा कुनै अमुक व्यक्तिको दोष छैन, यो शासन प्रणालीकै दुर्गुणको उपज हो।' 

मन्त्री साहले नेपालको संविधान विश्वको अन्य राष्ट्रको भन्दा फरक र अन्य सबैखाले शासकीय स्वरुपको खिचडी भएकोले नै वर्तमान राजनीतिक परिवेशले तमासाको रुप लिएको बताए। 

'खिचडी संविधानले अवलम्बन गरेको वर्तमान संसदीय व्यवस्था एउटा विकृत व्यवस्था हो भन्ने कुरा अहिलेको राजनीतिक परिवेशले पुष्टि गरिरहेको छ। यो यतिमै रोकिनेबाला छैन, यसले अस्थिरता र अराजकता अझ बढ़ने निश्चित छ,’ मन्त्री साहले थपे, ‘जनताले खोजेको व्यवस्था र अवस्था यो होइन। यसमा पुनर्विचार गर्ने बेला आएजस्तो लाग्छ।'

देशमा स्थिरता कायम गर्न वर्तमान संवैधानिक व्यवस्थाको पुनरावलोकन गरी थप सुदृढ बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा मन्त्री साहको जोड छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.