|

झापा : झापा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ७ जनाले ज्यान गुमाएका छन्।

त्यसमा पाँच पुरुष र दुई महिला रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिए। उनका अनुसार दमक नगरपालिकाका दुई, मेचीनगर नगरपालिकाका दुई, कनकाई नगरपालिकाका एक, बिर्तामोड नगरपालिकाका एक र भद्रपुर नगरपालिकाका एक जनाको मृत्यु भएको छ। 

दमक वडा नम्बर १ बस्ने ५६ वर्षीय पुरुषको मृत्यु भएको छ। दमकको कोभिड हस्पिटलबाट बिएण्डसी हस्पिटल बिर्तामोडतर्फ ल्याउँदै गर्दा बाटैमा उनको मृत्यु हो। उनलाई वैशाख १८ गते संक्रमण पुष्टि भएको थियो।

त्यस्तै दमक वडा नम्बर २ का ७९ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ।  पछिल्लो लहरमा दमकमा मात्र चार जनाको कोरोना सङ्क्रमणबाट भइसकेको छ।

त्यस्तै बिर्तामोडमा कोरोना सङ्क्रमणबाट वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड-५ बस्ने ७३ वर्षीया वृद्धा हुन्। उनको घरमै मृत्यु भएको हो। उनलाई हिजो उपचारका लागि अस्पताल लगिएको र अस्पतालले उपचार सम्भव नभएको भन्दै फर्काइदिएको थियो। 

त्यस्तै कनकाई वडा नम्बर ३ बस्ने ४८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। उनको बुधवार बिहान विराटनगरको नोबेल हस्पिटलमा उपचार क्रममा मृत्यु भएको हो।

उनलाई वैशाख १९ गते संक्रमण पुष्टि भएको थियो। उनी भारतको आसामबाट फर्किएपछि संक्रमण पुष्टि भएको थियो। त्यसैगरी मेचीनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मेचीनगर ६ स्थित काँकडभिट्टाकी ५८ वर्षीया कोरोना संक्रमित महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो।

क्यान्सरपीडित ती महिलाको केहि दिनअघि बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा परीक्षण गर्दा एन्टिजेन पोजेटिभ देखिएको थियो। पित्त थैलीमा क्यान्सर भएकी उनको एन्टिजेन देखिएपछि उनी घर आएकी थिइन्।

मेची अस्पताल भद्रपुरमा पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो। कोरोना लागेर घरैमा बसेकी उनको बुधवार ६ बजे मृत्यु भएको हो।

मेचीनगर ६ बस्ने ४८ वर्षीय पुरुषको मेची अस्पतालमा उपचारको क्रममा बुधबार बेलुका मृत्यु भएको वडा अध्यक्ष ललितबहादुर तामाङले जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार मेची अस्पताल लगिएको र मंगलबार स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। उनको दाहसंस्कार नेपाली सेनाको सहयोगमा बिहीबार मेची नदीमा गरिने जनाइएको छ। 

त्यस्तै  भद्रपुर नगरपालिका ३ स्थित भैंसाबाडी बस्ने  ७० वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। मंगलबार संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल लगिएको र अस्पतालले फर्काइदिएको थियो। त्यसपछि उनलाई घर ल्याएर राखियो र घरमै उनको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए।

भद्रपुरमा दोस्रो लहर सुरु भएयता दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ। योसँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४२ पुगेको छ। 

यता बुधबार जिल्लामा थप १७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सङ्क्रमितमध्ये ७९ महिला र ९९ पुरुष रहेका स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

दमकमा ३२, बिर्तामोड ४१, गौरादह ६, मेचीनगर १०, भद्रपुर ३४, कनकाई १४, हल्दिबारी २, अर्जुनधारा ९, बुद्धशान्ति ३, कचनकवल ३, कमल ९, शिवसताक्षी ३, झापा ५ र अन्य ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

योसँगै झापामा सक्रिय सङ्क्रमित सङ्ख्या ८९८ पुगेको छ। एक साताको अवधिमा जिल्ला पाँच गुणा बढीले संक्रमित थपिएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.