|

काठमाडौं :  नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटीको बैठक बस्न लागेको  स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए।  उनले बाग्मती प्रदेशमा हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन तथा लुम्बिनी हुने निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको बताए। जेठ ६ गते बागमती प्रदेशमा उप निर्वाचन हुँदैछ। त्यसका लागि उसले आफ्नो आधिकारीक उम्मेदवार चयन गर्न लागेको हो।  

यसअघि बैशाख १० गतेको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त उपनिर्वाचनमा एमालेको तर्फबाट रामबहादुर थापा बादल नै उम्मेदवार हुने बताएका थिए। आजको बैठकले औपचारिक निर्णय गर्ने बताइएको छ। 

यस्तै लुम्बिनी प्रदेशमा हुने उप निर्वाचनको पनि मिति तोकिएकाले त्यहाँको उम्मेदवारको पनि आजको बैठकले नै टुंगो लगाउने बुझिएको छ। 

राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको नेपाल–खनाल समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धन गरेका छन्।

उनीहरुले साझा उम्मेदवारका रुपमा डाक्टर खिमलाल देवकोटालाई अघि सार्ने भएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसबारेमा एमाले नेता नेपाल र जसपा अध्यक्ष यादवसँग गठबन्धन भएको हो। 

यस्तै लुम्बिनी प्रदेशको कोटामा नेकपा एमाले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका दृगनारायण पाण्डेयलाई अघि सारिएको छ। पाण्डेय नेपाली कांग्रेस प्रवेश गरिसकेका छन्।  लुम्बिनीको उप चुनाव जेठ १७ गते हुँदै छ। 

नेता नेम्वाङले यसका साथै पछिल्लो राजनीति घटनाक्रम र कोभिड १९ को रोकथाम र नियन्त्रणका विषयमा चाल्नुपर्ने थप प्रभावकारी कदमका बारेमा पनि बैठकमा छलफल हुने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २७ गते विश्वासको मत लिने भएका छन्। त्यसबारेमा आफूलाई सघाउन भन्दै ओली बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा पुगेका थिए। कांग्रेसले आफूहरुले  विश्वासको मत दिन नसक्ने बताउँदै आएका छन्। 

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम षड्यन्त्रपूर्ण भन्दै असफल पार्ने निर्णय गरेका छन्। पहिले विश्वासको मत लिन अस्वीकार गरेका प्रधानमन्त्री ओलीले एकाएक विश्वासको मत लिनकै लागि संसद बोलाएपछि त्यसमा षडयन्त्र देखेका हुन्।

यस्तै  माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिएका छ। पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा आफ्नो भावी रणनीति तय गर्नका लागि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले बैठक बोलाएका हुन्। 

त्यसैको बारेमा आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठकमा छलफल गर्ने जनाइएको छ। 

यस्तै विभाजनको संघारमा रहेको नेकपा एमाले का वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ  खनाल पक्षको पछिल्ला कदमले प्रधानमन्त्री ओलीले २७ गते संसदबाट विश्वासको मत लिनु अघि नै नेपाल खनाल पक्षले ओलीलाई अफ्ठेरो पार्ने  अवस्थामा पुगेको छ।  

उसले प्रधानमन्त्रीसँग छलफल गर्नुको साटो विपक्षी गठबन्धनसँग निरन्तर छलफलमा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.