|

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित चाँगुनारायण अस्पतालका तीन चिकित्सकले बुधबार राजीनामा दिएका छन्।

नगरपालिकाले अस्पताललाई कोभिड अस्पतालमा परिणत गर्ने निर्णय गरेसँगै उनीहरूले राजिनामा दिएका हुन्। राजीनामा दिने चिकित्सकहरूमा अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.रञ्जित कुमार दास, डा. सुलभ केसी र डा. जिवेश बास्तोला हुन्।

अस्पतालमा करारमा नियुक्त भएका उनीहरूले राजीनामा दिएपछि अस्पताल चिकित्सकविहीन भएको बताइएको छ। कोरोना महामारीका बेला चिकित्सकहरूलाई राजीनामा नगर्न आग्रह गरे पनि तीनै जनाले राजीनामा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए। चिकित्सकहरुले राजीनामा दिए पनि स्वीकृत गरिनसकेको अधिकारीले बताए।

‘डाक्टरहरूले राजीनामा दिएका छन्। हामीले उनीहरुलाई यो समयमा राजीनामा दिनु ठिक हैन भन्दै आएका छौं,’ उनले भने, ‘तर राजीनामा स्विकृत गरिएको छैन।’

अस्पताललाई कोभिड अस्पतालमा परिणत गरेपछि चिकित्सकहरुले थप सेवा सुविधा माग गरेको र त्यसमा सहमत हुन नसकेपछि राजीनामा दिएको बताइएको छ। करारमा तोकिएको सेवा सुविधामा नेपाल सरकारले तोकिएको सेवा सुविधा थप गर्ने जनाउँदा पनि चिकित्सकहरु सहमत नभएको नगरपालिकाले बताएको छ।

राजीनामा दिएका मेसु दासले भने आत्मसम्मानको लागि राजीनामा दिएको प्रतिक्रिया दिए। उनले भने, ‘अस्पतालमा स्वतन्त्रपूर्वक काम गर्ने वातावरण थिएन। चौतर्फी दबाब आउँथ्यो। निर्णय गर्ने कुनै अधिकार दिएको थिएन। त्यसैले राजीनामा दिएका हौं।’ करारका चिकित्सक भन्दै अस्पतालका कर्मचारी र नगरपालिकाका जनप्रतिनिधिहरूले पेल्ने गरेको उनले गुनासो गरे।

कोभिडको महामारीका बेला यसरी राजीनामा दिएर जानु ठिक हो त? भन्ने थाहाखबरको प्रश्नमा उनले भने, ‘हामीले कोभिडका कारण राजीनामा दिएको होइन। केही दिनमा नै हामी अर्को कोभिड अस्पतालमा काम थाल्छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.