कोरोनाको ‘हटस्पट’ बन्दै अमरगढी

|

डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिकाले नगरपालिकाको गाडीलाई एम्बुलेन्स र टिप्परलाई शववाहन बनाउने घोषणा गरेको छ। कोरोना संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिन थालेपछि अमरगढीले यस्तो घोषणा गरेको हो।

जिल्ला सदरमुकाममा रहेको अमरगढीले जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्स र टिप्परलाई शववाहन बनाउने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी लालबहादुर साउदले जानकारी दिए।

उनका अनुसार नगरप्रमुख र उपप्रमुख चढ्ने २३९ नम्बरको गाडीलाई एम्बुलेन्स र नगरपालिकाको टिप्परलाई शववाहन बनाउने निर्णय गरिएको हो। आफ्नो सरकारी गाडीलाई एम्बुलेन्स बनाउने अमरगढी जिल्लामै पहिलो स्थानीय तह हो।

यसअगाडि जनताको करबाट खरिद गरेका स्थानीय तहका गाडीलाई कोरोना संक्रमितको लागि प्रयोग गर्नुपर्ने आवाज तीव्र रूपमा उठेको थियो।

सामाजिक सञ्जाल फेसबुकमा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिंहले लकडाउनमा जनप्रतिनिधिहरूलाई भन्दा नागरिक र स्वास्थ्यकर्मीलाई सवारीसाधनको आवश्यकता रहेकोले जनप्रतिनिधिहरूले चढ्ने गाडी एम्बुलेन्सको रूपमा प्रयोग गर्नुपर्ने माग गरेका थिए।

कोभिडका सिकिस्त बिरामीलाई धनगढी पठाउन एम्बुलेन्सको अभाव रहेकोले स्थानीय तह र अन्य कार्यालयका गाडीले पनि तयार रहनुपर्ने नेकपा एमाले (ओली समूह) डडेल्धुराका अध्यक्ष प्रकाश साउँदले अनुरोध गरेका थिए।

कोरोनाको ‘हटस्पट’ बन्दै अमरगढी

अमरगढी नगरपालिका कोरोना संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिँदै गएसँगै कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ।

जिल्ला सदरमुकामको नगरपालिका अमरगढीमा दिनहुँ कोरोना बिरामी फेला पर्न थालेका छन्। डडेल्धुरामा बुधबारसम्म एक सय ९६ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

जसमा अमरगढी नगरपालिकामा मात्रै एक सय ४१ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ। डडेल्धुरामा समुदायमा समेत कोरोना फैलिएको आशंका गरिएको छ। भारतबाट आएका नागरिकलाई चेकजाँच नगरी सिधैं घर पठाउँदा संक्रमण तीव्र फैलिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.