५ वटै भेन्टिलेटर काम नलाग्‍ने स्थितिमा

|

जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक कोभिड अस्पतालको भेन्टिलेटर बिग्रिएपछि उपचार गराइरहेका कोराना संक्रमित बिरामीलाई समस्या उत्पन्न भएको छ।

महोत्तरीको मटिहानीकी एक ५४ वर्षीया कोरोना संक्रमित महिलालाई बुधबार भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको केहीबेरमै भेन्टिलेटरले काम गर्न छोडेको थियो। बिरामी आमाको कुरुवा भएर आएको छोराले भेन्टिलेटर बिग्रिएर उपचारमा समस्या भएको बताए।

यस सन्दर्भमा कोभिड अस्पतालका प्रवक्ता डा. मनिष पाण्डेले प्रदेश सरकारले उपलब्ध गराएको कोभिड अस्पतालको ५ वटा भेन्टिलेटर सबै काम नलाग्ने स्थितिमा रहेको बताए। डा. पाण्डेले भने, ‘गत वर्ष स्थापना भएको कोभिड अस्पतालकै भेन्टिलटेर प्रयोगमा ल्याएका छौं तर कोभिड अस्पतालको ५ वटै भेन्टिलेटरमध्ये कुनै पनि प्रयोग गर्ने अवस्थामा छैन। मर्मत भइरहेको छ।’ ट्रान्सपोर्टमा प्रयोग हुने सामान्य भेन्टिलेटर राखिएको उनले बताए।

अहिले कोभिड अस्पतालमा धनुषा र महोत्तरीका ३१ जना सिकिस्त संक्रमित बिरामीहरु भर्ना भई उपचारार्थ रहेको डा. पाण्डले बताए।

त्यसैगरी, प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट प्रमोद यादवले पुरानो भेन्टिलेटर बिग्रिएपछि प्रदेशबाट नयाँ भेन्टिलेटर माग गरिएको बताए। उनले भेन्टिलेटर छिन-छिनमा चल्ने र बन्द हुने गरेको हुँदा समस्या भएको बताए।

डा. यादवले प्रदेशबाट २ थान भेन्टिलेटर उपलब्ध भएको र तत्काल प्रयोगमा आउने बताए। निजी अस्पतालहरुबाट प्रादेशिक कोभिड अस्पतालमा बिरामी आउने क्रम बढेकोले अस्पतालले भार थेग्न सक्ने अवस्था नभएको उनले बताए। डा. यादवले जनकपुरको काव्या, नवजीवन र जलेश्वरबाट सिकिस्त संक्रमित बिरामी आउने क्रम जारी रहेको बताए।

डा. यादवको अनुसार प्रादेशिक कोभिड अस्पताल ६३ बेड तयारी अवस्थामा छन्। अस्पतालमा आइसियु १२ र ४१ बेडमा अक्सिजन उपलब्ध छ। भेन्टिलेटर बिग्रिएको अवस्थामा छ। अस्पतालले अक्सिजन र मेडिकेसन सेवा दिँदै आएको मेसु यादवले जनाए।

२०० बेडको निःशुल्क कोभिड अस्पताल

प्रदेश–२ मा कोरोना संक्रमित संख्या बढ्दै गएपछि धनुषाको रमदैया स्थित जानकी मेडिकल कलेजले दुई सय शैय्याको निःशुल्क कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ।

कलेजका प्रबन्ध निर्देशक  श्रीप्रष्ट पाण्डेले जानकी मेडिकल कलेजले सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गर्दै आफ्नै लगानीमा निःशुल्क कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको जानकारी दिए।

पाण्डेले भने, ‘हामीसँग दुई सय शैय्याको अस्पताल तयारी अवस्थामा छ। बुधबारबाट २० शैय्याको अक्सिजन सहितको र ६ शैय्याको भेन्टिलेटर सहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएका छौँ।’

पाण्डेले तत्काल अक्सिजनको अभाव रहेको र आफूहरुसँग आइतबारसम्म अक्सिजन पाइपलाइन लगायतका थप उपकरण आइसकेपछि अझै वृहत रुपमा सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालनमा ल्याउने बताए।

उनले मेडिकल कलेजले हालसम्म प्रदेश र स्थानीय सरकारबाट केही कुनै किसिमको सहयोग नपाएको पनि यस्तो महामारीमा मानव .सेवा धर्म निर्वाहको लागि कलेजले बन्दोबस्त मिलाएको बताए। उनले कलेज संचालन गरेको यस कोभिड विशेष अस्पतालमा उपचार गराउन आउने बिरामीले अक्सिजन र औषधिको शुल्क मात्रै तिनुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.