|

ओखलढुंगा : ओखलढुंगामा कोरोना संक्रमणको जोखिम बढेपछि स्थानीय हाट बजारमा तरकारीजन्य वस्तु मात्रै राखेर किनबेच गर्न पाइने भएको छ। जिल्ला कोभिड १९ संकट व्‍यवस्थापन केन्द्रको बैठकले भिडभाड बढ्ने भएकाले हटियामा तरकारीजन्य वस्तु मात्र राखेर कारोबार गर्न,  स्थायी रुपमा बसेर ब्यवसाय गर्ने फलफूल तथा तरकारी व्यवसायीलाई सोहीअनुसार व्यवस्थापन गर्न निर्णय भएको हो।

जिल्ला सदरमुकामसहित अन्य सबै स्थानीय हाट बजारका लागि यही निर्णय लागू हुने जिल्ला प्रशासन कार्यालयबाट जारी आदेशमा उल्लेख छ। यस अघि हटियामा सुरक्षा मापदण्ड पालन नहुने र भिडभाड बढेको गुनासो रहेको थियो। जिल्लामा धमाधम संक्रमित भेटिन थालेपछि प्रशासनले यस्तो निर्णय गरेको हो।

जिल्लामा बुधबार थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो। बुधबार ओखलढुंगा सामुदायिक अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा सिद्धिचरण नगरपालिका ११ रमाइलोडाँडाका ५१ वर्षीय पुरुषमा कारोना संक्रमण पुष्टि भएको छ। केही दिन अघिदेखि ज्वरो तथा रुघा खोकीका कारण ग्रसित बनेका उनको एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए।

उनीसँग एन्टिजेन परीक्षण गराएका अन्य दुईजनाको भने रिपोर्ट नेगेटिभ आएको छ।

संक्रमण पुष्टि भएका ती पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि सोही अस्पतालको आइसोलेसन कक्षामा राखिएको अस्पतालले जनाएको छ। उनलाई श्‍वासप्रश्वासमा समस्या देखिएपछि अक्सिजन दिएर राखिएको स्वास्थ्य प्रमुख तिवारीको भनाइ छ। संक्रमित देखिएका व्‍यक्ति यसअघि अन्तरजिल्लाबाट आउजाउ नगरेको पाइएको छ। तर, पनि उनमा कोरोना देखिएकाले उनीसँग सम्पर्कमा आएका व्‍यक्ति तथा परिवारका सदस्यलाई अनिवार्य होम क्वारेन्टीनमा बस्न जिल्ला स्वास्थ्य कार्यलयले आग्रह गरेको छ।

योसँगै जिल्लामा ३७ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ६ जना संक्रमण पुष्टि भइसकेको छ। यसैबीच जिल्ला स्वास्थ्य कार्यालयले कारोना संक्रमणको जोखिम बढेकाले सचेत रहन आम सर्वसाधारणलाई आग्रह गरेको छ। स्वास्थ्य प्रमुख तिवारीले नागरिकलाई अतिआवश्यक कामबाहेक घर बाहिर ननिस्कनसमेत आग्रह गरेको छ।

स्वास्थ्य सामग्री उपलब्ध

यसैबीच, समाजसेवी तथा एमाले नेता हंसराज वाग्लेले जिल्लाका सुरक्षा निकाय, सामाजिक संस्था र स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन्। उनले सिद्धिचरण नगरपालिकालाई २ सय ५ सय मास्क र २० लिटर सेनिटाइजर, ९ नं. वडा कार्यालयलाई २ हजार ५ सय र २० लिटर सेनिटाइजर, मोलुङ गाउँपालिकालाई २ हजार मास्क र १० लिटर सेनिटाइजर उपलब्ध गराएका छन्।

वाग्लेले  खिजीदेम्वा र चिशंखुगढी गाउँपालिका गाउँपालिकालाई प्रति पालिका १ हजार मास्क र १० लिटर सेनिटाइजर उपलब्ध गराएका छन्। उनले जिल्ला प्रहरी कार्यालयलाई ५ सय मास्क तथा १० लिटर सेनिटाइजर तथा शसस्त्र प्रहरीलाई ३ सय मास्क र ५ लिटर सेनिटाइजर हस्तान्तण गरेका छन्। जिल्लामा १५ हजार मास्क र १ सय लिटर सेनिटाइजर वितरण गरिने जानकारी दिए।

त्यस्तै, प्रेस चौतारी नेपालले जिल्लाका रेडियोहरुलाई मास्क वितरण गरेको छ। जिल्लाका ४ रेडियोमा कार्यरत सञ्चारकर्मीहरुका लागि ४ सय मास्क वितरण गरिएको हो। मास्क चौतारीका केन्द्रीय सदस्य शिव ढुंगानाले हस्तान्तरण गरे। त्यसै गरि अनेरास्ववियुका केन्द्रीय कमिटी सचिव दीपक फुँयालले उपलब्ध गराएको ५ लिटर सेनिटाइजर सञ्चारकर्मीहरुका लागि पत्रकार महासंघका जिल्ला उपाध्यक्ष विनु राईलाई महासंघका प्रदेश समितिका सदस्य लीला सुनुवारले हस्तान्तरण गरे।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.