|

कञ्चनपुर : कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका-११ डोके बजारसँग सीमा जोडिएको गौरीफण्टा नाकाबाट अहिले दैनिक भारबाट सयौंको संख्यामा यात्रुहरू आउने क्रम जारी रहेको छ।

 सीमा नाका भएर सुदूरपश्चिम प्रदेशका सबै जिल्लासहित देशका अन्य भूभागका नागरिकहरू भित्रिने गरेका छन।

सीमा नाका भएर भारत जाने नागरिकहरूको संख्या समेत उत्तिकै छ। सीमा नाका भएर आवतजावत गर्ने नागरिकमध्ये २० प्रतिशत जति नागरिकहरूको मात्रै सामान्य स्वास्थ्य जाँच गरी गन्तव्य तर्फ पठाउने गरिएको छ।

 पुनर्वास नगरपालिकाले सीमा नाकामा एउटा हेल्थ डेस्क र सानो होल्डिङ सेन्टर राखेको छ। जसमा दश जना स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको टोली खटिएको छ। अहिलेको असमान्य परिस्थितिमा ती संरचना र जनशक्तिले थेग्न सक्ने अवस्था नरहेको पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापा बताउँछन्।

 स्थानीय सरकारको हैसियतले नगरपालिकाबाट सकिने जति सक्रियता बढाएको भए पनि अन्यत्रबाट खासै सहयोग नपाएको नगर प्रमुख थापाको भनाई रहेको छ।‘गत वर्ष पनि यस्तै परिस्थिति हुँदा सबैको सहयोग पाईदा सहज भएको थियो’ उनले भने, ‘यस वर्ष एक्लो महसुस गरेको छु। कुनै नियकाबाट सहयोग छैन।’

गत वर्ष गौरीफण्टा नाकालाई कञ्चनपुरकै हो भनी निरन्तर सहयोग र सहकार्य गर्ने तत्कालीन प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा र सबै सुरक्षा निकायका प्रतिनिधिहरूलाई स्मरण गर्दै उनले अहिलेको कोभिड १९ संकट व्यवस्थापन समिति कञ्चनपुरबाट अपेक्षाकृत सहयोग नपाएको गुनासो गरे।

सँगै जोडिएको कैलाली जिल्ला प्रशासन र धनगढी उपमहानगरपालिकाले समेत सहयोग गर्नुको सट्टा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न खोजेको प्रति नगर प्रमुख थापाले असन्तुष्टि व्यक्त गरे।

 प्रदेश राजधानीसँगै जाोडिएको गौरीफण्टा नाकाको व्यवस्थापनमा सबैभन्दा बढी सहयोगको अपेक्षा सुदूरपश्चिम प्रदेश सरकारबाट गरिए पनि प्रदेश सरकारले चासो नदिएको उनको भनाइ छ।

 पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा शर्मा विष्टले जोखिमपूर्ण अवस्थामा सीमामा खटिनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अन्य सरोकारवालाहरूलाई सकारात्मक रूपमा सहयोग गर्न, अनावश्यक भिडभाड नगर्न र एकताको भावनाका साथ यो सक्रमणकालीन अवस्थालाई  सामना गरी सामूहिक दायित्व बहन गर्न सबै पक्षसँग अपिल गरेकी छन्।

गौरीफण्टा नाका पुनर्वास नगरपालिकाको भूमि भए तापनि व्यवस्थापनको पक्षमा सुदूरपश्चिम प्रदेशमा रहनु भएका सबै जनप्रतिनिधिको हैसियतले विशेष पहल गरिदिनसमेत उनले आग्रह गरेकी छन्।

उपप्रमुख विष्टले कञ्चनपुरका दुई मुख्य नाका गड्डाचौकी र गौरीफण्टामध्ये गड्डाचौकीतर्फ मात्रै बढी ध्यान केन्द्रित गरी गौरीफण्टा नाकालाई उपेक्षा गरेको पाइएकोले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरसहित कोभिड १९ संकट व्यवस्थापन समितिको ध्यानाकर्षण गराएकी छन्।

 उनले दक्षिणी क्षेत्रका बेलौरी नगरपालिका तथा बेलडाँडी र लालझाडी गाउँपालिका सहित कञ्चनपुरका सबै स्थानीय तहहरूलाई समेत सहयोग र सहकार्यका लागि अनुरोध गरेकी छन्।

यसैबीच, पुनर्बास नगरपालिकामा बुधबार बसेको सर्वपक्षिय बैठकले कोरोनाको संक्रमण न्यूनीकरणका लागि नौवटा निर्णय गरेको छ।

नगरपालिकाभित्र कोरोना भाइसको संक्रमण भएका अधिकांस व्यक्तिहरू होम आइसोलेसना बसिरहेको अबस्थामा उनीहरूमाथि निगरानी गर्न सबै वडा स्तरमा वडा अध्यक्षको अध्यक्षतामा नागरिक सयन्त्र गठन गर्ने, डोके बजारमा रहेको हेल्थ डेस्कमा दैनिक रुपमा भइरहेको स्वास्थ्य परिक्षणको दैनिक रिपोर्ट सम्बन्धित वडा अध्यक्षालाई उपलव्ध गराउने निर्णय गरिएको छ।

यसैगरी,  खुला सीमा नाकाबाट अबैध रुपमा भैरहेको आवतजावत, चोरी पैठारीलाई सुरक्षा संयन्त्रबाटै  आश्रय दिएको भन्ने गुनासो आइरहेको हुँदा यस्तो बिषम परिस्थितिमा अवैध कार्यलाई प्रोत्साहन हुने कार्य नगर्न नगराउन सुरक्षा नियकालाई पत्राचार गर्ने, बन्दाबन्दीको फायदा उठाई अत्यावश्यक सामग्री लगायतको कालोबजारी नगर्न व्यापारी बर्गलाई सचेत गर्ने र यस्तो कार्य गर्नेलाई वडा स्तरमा गठन हुने निगरानी समूहले निगरानी गर्ने निर्णय गरिएको छ। 

कोरोना संक्रमितको बढ्दो संख्यालाई मध्यनजर गर्दै त्रिभुवनबस्ती  स्वास्थ्य चौकीमा रहेको अस्थाइ कोरोना अस्पतालले थेग्न नसक्ने हुँदा वैकल्पिक आइसालेसन केन्द्र जनता क्याम्पस पुर्नवास ६ मा स्थापना गर्ने, सुरक्षा निकायबाट मात्रै खुला नाकाबाट हुने आवतजावत नियन्त्रणलाई पूर्णरूपमा नियन्त्रण गर्न कठिनाई हुने हुदा सीमा नाका जोडिएका  वडाले सर्वदलीय युवा निगरानी  समूह गठन गरी परिचालन गर्ने, कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न परिचालन हुने संयन्त्रका लागि आवश्यक पर्ने खर्चको व्यवस्था गर्न नगरपालिकालाई अनुरोध गर्ने सर्वपक्षीय बैठकले निर्णय गरेको छ। 

यसैगरी, नगरस्तरमा समेत नगर प्रमुखको संयोजकत्वमा सर्वदलीय नगरिक निगरानी समुह गठन गर्ने निर्णय गरिएको छ। जसमा नगर उप प्रमुख, राजनीतिक दलका प्रतिनिधि, वडाका जनप्रतिनिधि, उद्योग वाणिज्य संघ, बजार व्यवस्थापन समितिका अध्यक्ष, स्थानीय सञ्चारकर्मी, सुरक्षा निकायलगायत सदस्यका रुपमा रहेका छन्।

 बैठकले विवाह, व्रतबन्ध, जन्मदिन जस्ता सामाजिक, सांस्कृतिक कार्यहरुमा नेपाल सरकारले तोकिएको भन्दा बढी भिडभाड नगर्न र डिजे बजाउन रोक लगाउने निर्णय गरेको छ। नियमको उल्लंघन गर्नेलाई कारबाहीका लागि सुरक्षा निकायलाई आग्रह गर्ने निर्णयसमेत गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.