माधव नेपाल समूह अझै ढुलमुल

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसद‍्मा विश्वासको मत लिने तयारीमा छन्। विपक्षी मोर्चाले तत्काल अविश्वास प्रस्ताव ल्याउन नसक्ने उनको बुझाइ छ। त्यसैले पनि उनी संसद‍्मा यसलाई 'फेस' गर्न अग्रसर छन्।

ओलीले पुस ५ गते संसद् भंग गरेर प्रतिगामी कदम चालेपछि प्रतिपक्षी नेपाली कांग्रेसलगायत नेकपा रहँदैका दाहाल-नेपाल खेमा र जनता समाजवादी पार्टी (जसपा) मिलेर ओलीको बहिर्गमनको अनेकन् प्रयास गरे। तर ओलीले राजीनामा दिएनन्। बरू विस्तारै उनले जसपाको एक खेमालाई आफूतिर तान्‍न सफल भए। जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले ओलीलाई साथ दिएपछि उनी बलियो बन्‍न थाले। जसले ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने नेकपा माओवादी र कांग्रेसको हिम्मत जुट्न सकेन। 

विपक्षीको मोर्चामा फरक पार्टीको अभ्यास गरिरहेको एमालेकै नेता माधव कुमार नेपाल पनि सामेल छन्। नेता नेपालले बुधबार माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष महन्थ ठाकुरसँग हात्तीवनमा पुगेर भेटवार्ता गरे। साविक नेकपामा रहँदै ओलीको राजीनामा माग्दै आएको नेता नेपालले कुनै हालतमा ओलीविरुद्ध जाने र समर्थन गर्न नसक्ने बताइसकेको छ। 

पार्टी एकतापछि आफ्नो समूहलाई बाइपास गरेर बढेका ओली अब कसरी अगाडि बढ्छन् भन्ने कुनै योजना सार्वजनिक छैनन्।  ओलीलाई हटाउन आफ्नो समूहका सांसदले विश्वासकोे मत नपुग्नेगरी सामूहिक राजीनामा दिने नेपाल समूह तयारीमा छ। अथवा संसद् बैठकमा अनुपस्थित हुने भन्ने विषयमा समेत यो समूह छलफलरत छ। जसबाट के गर्ने भन्ने कुनै निर्णय अहिलेसम्म हुन सकेको छैन। ओलीको विरोधमा उत्रिरहेको नेपाल समूह अहिले धर्मसंकटमा छ।  

त्यसो त नेपाल समूहलाई कारवाहीको डण्डा चलाइसकेका ओलीले जसपाको अध्यक्ष महन्थ ठाकुर पक्षको मत पाउने सुनिश्चिताका साथ विश्वासको मत लिन लागेका हुन्। तर नेपाल समूहले बाइपास गरेर कांग्रेसले पनि समर्थन नगरे ओलीले विश्वासको मत गुमाउनेछन्।  

'एकताको पक्षमै छौँ, अन्तिमसम्म हेर्छाैं'

नेपाल पक्षका सांसद् गणेश पहाडीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने बताए। उनले भने, ‘पार्टीभित्रको अन्तरसंघर्ष फरक कुरा रह्यो। पार्टी अध्यक्ष तथा संसदीय दलको नेताले प्रधानमन्त्रीको हैसियतबाट संसदमा विश्वासको मत मागेपछि हामीले दिनुपर्छ, दिन्छौँ’, उनले भने, ‘तर, उहाँले हाम्रो एजेण्डाप्रति फर्केर हेर्नुपर्छ। हामी अझै पार्टी एकताको पक्षमै छौँ।’ आफूहरू निरन्तर पार्टी एकताको पहल गरेर लागिरहेको समेत सुनाए। 

‘हामीले हरप्रयास पार्टीलाई एक बनाउन लागिरहेका छौँ। दोस्रो तहका नेताहरू सबै लाग्नुभएको छ। हिजो महासचिव ईश्वर पोखरेलसँग पनि भेट गरेका थियौँ। उहाँ पनि एकताकै पक्षमा हुनुहुन्छ’, उनले भने। 

प्रधानमन्त्री ओलीले एकलौटी निर्णय नसच्चाएसम्म अन्तिम समयमा आएर सामूहिक राजीनामाको विकल्पबारे समेत तयारी भएको उनले बताए। 

‘सामूहिक राजीनामाको विषयमा पनि हामीले छलफल गरेका हौँ। हामी अन्तिम समयसम्म हेर्छाैं। उहाँको अगामी कदमलाई लिएर हामीले त्यसबारे निर्णय गछौँ’ पहाडीले भने। ​

बहुमत जुटाउने खेल

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुअघि नै बहुमत जुटाएर अविश्वास प्रस्ताव ल्याउनेबारे विपक्षी मोर्चा सक्रिय भएर लागेको छ। तर, जसपाको कारण अहिलेसम्म सहमति बन्न सकेको छैन। 

ओलीलाई सरकारबाट बाहिर ल्याउन अनेकौँ विकल्पमाथि छलफल भइरहेको माओवादी केन्द्रका नेता लीलामणि पोखरेल बताउँछन्। ‘हामीले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजानेबारे निरन्तर छलफल पहिला पनि गरेको थियौँ। अहिले पनि जारी छ’, उनले भने, ‘२७ गते अगाडि विपक्षी मोर्चाबाट एकखालको सहमति बनाउने प्रयासमा छौँ।’

यता जसपा (बाबुराम–उपेन्द्र समूह) का नेता रामबाबु यादव भने २७ गतेबाट ओली सरकार बहिगर्मन हुने दाबी गर्छन्। ​भन्छन्, ‘ओली सरकार बहिर्गमन गर्ने विषयमा हिजो प्रचण्ड, माधव नेपाल र हाम्रो अध्यक्षबीच कुराकानी भयो। हामीले प्रतिगामी कदम चाल्नेलाई जसरी भए पनि हटाउनैपर्छ भनेर लागेको छौँ। हिजोको भेट पनि त्यसैमा केन्द्रित रह्यो। ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेपछि सडकमा निस्केकाहरू अहिले एकजुट हुनुपर्ने उनको मत छ। 

‘संसद् विघटन गरेदेखि नै कांग्रेसका रामचन्द्र पौडेल, जनता समाजवादी पार्टी, साविक नेकपाका प्रचण्ड–माधव पक्ष सरकारविरुद्ध लागेको थियो। संसद् पुनःस्थापनापछि ओलीलाई हटाउने विषयमा विपक्षी मोर्चाबद्ध भएर जानुपर्छ भन्ने हाम्रो भनाइ हो,’ उनले भने, ‘हामी बहुमत जुटाएरै ओलीलाई हटाउँछौँ।’

ओलीको अर्को दाउ 

राजनीतिक निकासका लागि चुनावको विकल्प नभएको प्रधानमन्त्री ओलीले टिप्पणी गर्दै आइरहेका छन्। विपक्षी मोर्चाबाट अविश्वास प्रस्ताव आउन नसक्ने देखेपछि ओलीले संसदमा विश्वास मत लिने निर्णयमा पुगेका थिए।

तर, ओलीले फेरि देशलाई चुनावमा धकेल्न चाहेका विश्लेषकहरू बताउँछन्। विश्वासको मतको विपक्षमा उभिने निर्णय गरिसकेको कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनी बुधबार आफूनिकट नेता लिएर बुढानिलकण्ठ पुगेका थिए।

ओलीले देउवालाई विश्वासको मत माग्नेदेखि आगामी चुनावसम्मको सहकार्य प्रस्तावसम्म गरे। तर, देउवाले ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका थिए।

‘विश्वासको मत पाए आफैं सरकार सञ्चालन गर्ने नभए मध्यावधि निर्वाचनमा जानकै लागि भए पनि उहाँले डिजाइन गरेरै अहिले विशेष अधिवेशन बोलाएको देखिन्छ’, माधव नेपालनिकट एक नेताले भने, ‘उहाँ तत्काल संसद् बैठक राख्ने पक्षमा हुनुहुन्न।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.