|

गोरखा : गण्डकी प्रदेश सभाको स्थगित बैठक आगामी वैशाख २७ गते बिहान ११ बजे बस्ने भएको छ। बिहीबार (आज) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट २७ गते बैक बस्ने निर्णय गरेको हो।

‘स्थगित सदन चलाउने निर्णय भएको छ। नयाँ कार्यसूची तय भएको छैन। पुरानै कार्यसूचीअनुसार बैठक चल्छ होला’, कार्यव्यवस्था परामर्श समिति सदस्य मायानाध अधिकारीले थाहाखबरसँग भने।

सांसद अधिकारीका अनुसार कोरोना संक्रमित सांसदलाई प्रदेश सभामा बस्न छुट्टै स्थानको व्यवस्था गरिनेछ। उनले भने, ‘उहाँहरुले बोल्न नपाउने र मत हाल्न पाउने गरी अविश्वास प्रस्तावको बाँकी प्रक्रिया बढाइन्छ।’

प्रदेश सभामा २ वैशाखमा दर्ता भएको अविश्वास प्रस्तावमा १५ वैशाखमा मतदान हुने कार्यसूची थियो। तर मतदान नभई बैठक अनिश्चितकालका लागि स्थगित भएपछि प्रदेश सभा बस्न सकेको छैन।

अहिले गण्डकीका मुख्यमन्त्रीसहित ६ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरु सबै हाल आइसोलेसनमा बसिरहेका छन्। कार्यसूचीअनुसार मुख्यमन्त्री गुरुङले सदनमा जवाफ दिने कार्यतालिका रहे पनि उनमा कोरोना संक्रमण पुष्टि भएकाले एक मन्त्रीलाई अख्तियारी दिएर बोल्न दिने उनले बताए।

के होला अविश्वासको प्रस्ताव ?

कार्यसूची अनुसार आगामी २७ गतेदेखि गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेस भएको अविश्वास प्रस्तावमा छलफल सुुरु हुनेछ।
छलफल सकिएपछि अविश्वास प्रस्तावमाथि मतदान सुरु हुनेछ।

​गण्डकीमा एमालेका २७, कांग्रेसका १५ र माओवादीका १२ र जनमोर्चाका ३, जसपाका २ र १ स्वतन्त्र सांसद छन्। नयाँ सरकार गठन गर्न अर्थात् अविश्वास प्रस्ताव पास हुन वा विश्वासको मत लिन ३१ सांसद आवश्यक पर्छन्।

गत वैशाख २ गते कांग्रेसका १४, माओवादीका ११ र जसपाका ३ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेर मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.