|

पाल्पा : पाल्पामा निषेधाज्ञा एकसाता थप गरिएको छ। बिहीबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले दोस्रो चरण अन्तर्गत निषेधाज्ञाको समयावधि थप गरेको हो।

यसअघि जारी गरिएको समय शुक्रबार (भोलि) राति १२ बजेदेखि सकिदै छ। थप गरिएको निषेधाज्ञा शुक्रबार राति १२ बजेदेखि जेठ ४ गते मंगलबार राति १२ बजेसम्म कायम रहने पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिए। थप गरिएको निषेधाज्ञाको समयावधिमा पहिलो चरणको भन्दा कडाइ गरिने उनले वताए।

खाद्य पसल दैनिक दुई घण्टा मात्र खुला रहने छन्।  बिहान ७ देखि ९ बजेसम्म पसल खुला रहने उनले बताए। यस्तै बैंक तथा वित्तिय संस्थासमेत पूर्णरूपमा बन्द रहने छन्। विवाहमा १५ जना मात्र जन्ती जान पाउने छन्। १५ जनाभन्दा बढी मलामीसमेत जान नपाइने प्रजिअ पाण्डेले बताए।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ का संक्रमितको संख्या पाल्पामा पनि दिनानुदिन बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रण गर्न निषेधाज्ञा लगाउनु परेको हो। जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी भएको उनले बताए। यो सयमा अत्यावश्यक काम बाहेक कुनैपनि मानिस घर बाहिर निस्कन पाउने छैनन्। उनका अनुसार औषधि उपचार तथा अत्यावश्यक कामका लागि भने रोकावट हुने छैन्।

औषधि पसल चौविसै घण्टा खुला रहने छ। स्वास्थ्य, सुरक्षा, संचार, विद्युत, खानेपानी, दमकल बाहेक अन्य सरकारी तथा गैरसरकारी कार्यालय तथा निकायबाट प्रदान गरिने सबै प्रकारका सेवा बन्द रहने छन्।

यस्तै एम्बुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुपंक्षीका दाना, दूध, फलफूल, तरकारी, माछा मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ निर्माण सामग्री, औद्योगिक कच्चा पदार्थ, चिकित्सक तथा स्वास्थ्यकर्मी कार्यालय जान आउन प्रयोग गर्ने, औषधि तथा स्वास्थ्य सामग्री, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सवारी साधनहरू संचालन हुन पाउने प्रशासनले जनाएको छ।

यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधन संचालनमा रोक लगाइएको छ। पाल्पा जिल्ला भएर अन्य जिल्ला जाने सवारी साधनले पाल्पाका कुनै पनि ठाउँमा यात्रु चढाउन वा ओराल्न पाउने छैनन्।

आदेशको उल्लंघन गर्ने जो कसैलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही हुने जनाइएको छ। स्वास्थ्य मापदण्डको पालना गरेर कोरोना महामारीबाट आफू बाँच्न र अरूलाई पनि बचाउँन प्रजिअ पाण्डेले अपिल गरे।

पाल्पामा बिहीबारसम्म कोरोना संक्रमितको संख्या दुई हजार आठ सय ९६ पुगेको छ। जसमध्य सात सय ५७ सक्रिय संक्रमित रहेका छन्। यि मध्य ३७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सात सय २० जना होम आइसोलेसनमा बसेका छन्। दुई हजार ९५ जना निको भएर घर फर्किएका छन्। कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.