|

म्याग्दी : भनिन्छ ‘मान्छेको पहिचान संकटको बेलामा नै हुन्छ’ अहिले कुनै एउटा वस्ती, जिल्ला र देश मात्रै होइन पुरै विश्व नै कोरोना संक्रमणको महामारीबाट आक्रान्त छ। ज्ञान–विज्ञान, मान–सम्मान, पद–प्रतिष्ठा र धन–सम्पति सवै कुरा मानिसका लागि अहिले दोस्रो प्राथमिकताका विषय बनेका छन्।

सबैभन्दा पहिला यो महामारीबाट कसरी सुरक्षित रहने भन्ने चिन्ताले मानव समुदाय छट्पटाइरहेको छ। यही महामारीको समयलाई केही संवेदनाहिन व्यक्ति र व्यवसायीहरुले अवसरको रुपमा लिँदै बढी धन कमाउने ध्याउन्नमा लागेका छन्।

म्याग्दीका बजारमा पनि यस्ता कालोबजारी गर्ने व्यापारीहरु छन्। बेनी नगरपालिका–७, विरेन्द्रचोककी सिर्जना भट्टचनले एक साता अगाडि दुई हजार दुई सय तिरेर खरिद गरेको एक पेटी खाना पकाउने तेललाई बुधबार दुई हजार चारसय तिरिन्। कोरोनाको जोखिमसँगै लकडाउनका कारण तेल आयात हुन नसकेको बताएपछि भट्टचनले ब्यापारीले मागेकै मुल्यमा तिरिन।

एउटै ब्राण्डको तेलमा साढे दुई सय महंगो तिरेकी भट्टचनले कोरोनाको बाहनामा भटमासको तेल, सूर्यमुखी तेल लगायत विभिन्न ब्राण्डको खाने तेलको मूल्य अस्वभाविक रुपले बढेको बताइन्। ‘कोरोनाको जोखिमले उपभोक्ताले मार खेप्नुपरेको छ। भान्सामा चाहिने सबै उपभोग्य बस्तुको मूल्य केहीदिन यता ह्वात्तै बढेको छ’ उनले भनिन्।

प्रतिलिटर तेलको मूल्यमा करिब ५० रुपैयाँसम्म बढेको उपभोक्ताले गुनासो गरेका छन्। जिल्ला प्रशासन कार्यालयले बैशाख २२ गते रातिदेखि लागू हुनेगरी १० दिने निषेधाज्ञा जारी गरेपछि बजारमा खाद्यान्न साम्रगीको मूल्य अस्वभाविक रुपमा बढेपनि सम्बन्धित निकायले चासो देखाएका छैनन्। निषेधाज्ञा अवधिभरलाई आवश्यक उपभोग्य बस्तु खरिद गर्न लागेका सर्वसाधारणलाई ब्यापारीले मनपरी मूल्य लिने गरेका छन्।

बेनीबजारमा प्रतिकिलो चिनीको एकसय सम्म लिने गरेको पाइएको छ भने चामल, दाल लगायतका खाद्यान्न बस्तुको मूल्यसमेत मनोमानी छ। उपभोग्य बस्तुको मूल्यमा वृद्धि भए पनि आम उपभोक्ताहरुले बढी मूल्य तिरेर भएपनि खरिद गर्न बाध्य भएको विषयमा गुनासो आएको म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बताए।

‘तेलको मूल्य बढेको अवस्था देखिन्छ,‘अन्य उपभोग्य बस्तुमा धेरै गुनासो आएको छैन’ श्रेष्ठले भने। तेलको मूल्य स्थानीय ब्यापारीले भन्दा पनि कम्पनीबाटै बढेको बारे जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराइएको उनले बताए।

जिल्ला प्रशासनबाट हुने बजार अनुगमन औपचारिकतामा मात्रै सिमित हुने गरेको गुनासो उपभोक्ताको छ। सहायक प्रजिअको नेतृत्वमा हुने बजार अनुगमनबाट समेत महंगी नियन्त्रण हुने गरेको छैन्। केही दिन अगाडि समेत बजार अनुगमन गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले मनपरी मूल्य लिनेहरुलाई कारबाहीको दायरामा ल्याउने बताए। ‘तोकिएको बजार मूल्यभन्दा एक रुपैयाँ बढी लिन पाइदैन्’ उनले भने,‘छड्के अनुगमनमा निस्कन्छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.