|

धनगढी : सुदूरपश्चिम प्रदेशको ‘रेफरल’ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल बिरामीले भरिभराउ भरिएपछि नेपाली सेनाले प्रांगणमै टेन्ट लगाएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डसँगै जोडिएको ग्यालरी र पेटीसमेत बिरामीले भरिएपछि नेपाली सेनाले प्रांगणमै टेन्ट लगाएको हो। 

अस्थायी रूपमा आकस्मिक कक्ष सञ्चालन गर्न नेपाली सेनाले प्रांगणमा चार वटा टेन्ट लगाएको प्रादेशिक अस्पतालले जनाएको छ। आकस्मिक कक्ष कोभिड शंकास्पद बिरामीले भरिएपछि उपचारमा समस्या हुँदै आएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। 

‘आकस्मिक कक्षमा शैया खाली नभएपछि ग्यालरी र प्रांगणमा राखेर पनि उपचार गर्दै आएका थियौँ,’ श्रेष्ठले भने, ‘बिरामीको उपचारमा केही सहज होस भन्नका लागि सेनाले टेन्ट लगाएको हो।’

आकस्मिक वार्डमा अहिले अधिकांश कोभिडको लक्षण भएका र रिपोर्ट पर्खिरहेका बिरामीको उपचार हुँदै आएको छ।’

ननकोभिड उपचार सेवा

प्रादेशिक अस्पतालमा संक्रमितले खचाखच भएपछि नेपाली सेनाले नन कोभिड उपचार सेवा समेत सुरु गरेको छ। 

अस्पतालमा कोरोना संक्रमण नभएका (नन कोभिड) बिरामीहरुका लागि सो सेवा सुरु गरेको हो। त्यहाँ कोरोना पुष्टि नभएका बिरामीको उपचार हुने जनाईएको छ। कोरोना पुष्टि भएपछि नजिकै रहेको कोभिड–१९ अस्पतालमा बिरामीलाई सार्ने अस्पतालले जनाएको छ। 

प्रदेशको अस्थायी कोरोना अस्पताल र सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्ष संक्रमितले भरिएसँगै उक्त सेवा सुरु गरिएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। 

सेनाले तयार गरेको नन कोभिड उपचार सेवामा विभिन्न घटना तथा दुर्घटनामा परी चोटपटक लागेका एवम् अन्य बिरामीको उपचार गरिने श्रेष्ठले बताए। हाल अस्पतालमा  ५८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। 

उपचार व्यवस्थापनमा कठिनाइ

सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्थायी अस्पतालमा शैया,अक्सिजन लगायतका स्रोत साधनको अभावले उपचार व्यवस्थापनमा कठिनाइ भएको छ। अस्पतालमा पर्याप्त जनशक्ति साथै शैया र अक्सिजनको अभाव सिर्जना हुँदा बिरामीको उपचार व्यवस्थापन असहज बनेको हो।

बिरामीको चाप बढेपछि दुई दिनदेखि अस्पताल प्रांगणमा समेत शंकास्पद सङ्क्रमितलाई राखेर उपचार व्यवस्थापन गर्न थालिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

उनले भने, ‘नमूना परीक्षणको नतिजा आइनसक्दै कोरोनाजस्तो लक्षण भएका जटिल प्रकृतिका बिरामी बढ्न थालेपछि अस्पताललाई बिरामी थेग्नै मुस्किल भएको छ। हाल प्रयोगशालामा जनशक्ति न्यून हुँदा नमूना परीक्षण दैनिक बढीमा ५०० हाराहारीमा हुने गरेको छ, भने परीक्षण कार्य र नतिजा आउन ढिलाइ हुने गरेको छ।’ 
अस्पतालका दुई वटा पिसिआर मेसिन मध्ये एउटा मात्र सञ्चालनमा रहेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.