|

धनकुटा : आफूहरुले सिँचाइका लागि प्रयोग गर्दै आएको पानीको मुहानबाट नै खानेपानीका लागि टेण्डर आह्वान गरिएपछि पाख्रिबास नगरपालिका–१० की कृष्ण माया राईलाई चिन्ताले सताएको छ। पाख्रिबास नगरपालिका वडा नम्बर ८ र १० को सिमाना रहेको भुल्के मुहानको पानी नगरपालिकाले खानेपानी आयोजनाका लागि पम्पिङ गरेर लान टेण्डर गरेपछि उनलाई चिन्ताले सताएको हो।

यस्तो चिन्ता कृष्णकुमारीलाई मात्र होइन, पाख्रिबास नगरपालिका वडा नम्बर ८, १० र सहिदभूमि गाउँपालिका ५ का ३६५ किसानलाई लागेको छ। भुल्के मुहानको पानी पम्पिङ गरेर खानेपानीका लािग लगेपछि पाख्रिबास नगरपालिकाका सुनबालुवा, कात्तिके, काभ्रे, चुङमाङ, मालबासे र सहिदभूमिको खोकुटारको करिब २ हजार ५०० रोपनी खेतीमा सिँचाइ अभाव हुनेछ । दुई बाली धान, एक बाली गहुँ उत्पादन गर्दै आएको त्यस क्षेत्रका किसानहरु भोकमारीमा पर्ने र खेती मरुभूमिमा परिणत हुने चिन्तामा छन्।

पाख्रिबास नगरपालिकाले खानेपानीका लागि भुल्केको पानी लाने योजना बनाएपछि यतिबेला सो ठाउँका कृषक आन्दोलित भएका छन्। पिउन तथा सिँचाइका लागि प्रयोग गर्दै आइरहेको भुल्के मुहानको पानी समन्वय नगरी नगरपालिकाले बृहत् खानेपानी योजनाका लागि ठेक्का लगाएको भन्दै भुल्के बासी आन्दोलित भएका हुन्।

तीन वर्षअघि उक्त मुहानको पानी नगरपालिकाले लैजान डिपिआर गर्न खोज्दा स्थानीयले अवरोध गर्दा नगरपालिकाले सुनुवाइ नगरेपछि भुल्के वासी अदालतसम्म पुगेका थिए। उच्च अदालत धनकुटाले स्थानीयको सहमतिमा मात्रै खानेपानी आयोजना सञ्चालन गर्न नगरपालिकालाई आदेश दिएको थियो। तर, अहिले नगरपालिकाले पुनः स्थानीयसँग सहमति नगरी योजनाको काम अघि बढाएपछि आन्दोलित हुनुपरेको स्थानीय होमबहादुर खत्रीले बताए। खत्रीले भुल्केको मुहानको भरमा वार्षिक ५० मुरी धान उत्पादन गर्दै आएको र उक्त मुहानको पानी नगरपालिकाले लगे खेती छाड्नुपर्ने हुनसक्ने बताए। मुहान रहेको ठाउँमाथि कुनै खेती नभएकाले नगरपालिकाले पानी लगेपछि मुहान तलको भाग पनि त्यस्तै हुने खत्रीको भनाइ छ। 

आफ्नो पुर्खाले ५० वर्ष अघिदेखि भुल्के मुहानको भरमा खेती गर्दै आएको र अहिले पनि निरन्तर रहेको किसान भीमबहादुर न्यौपानेले बताए। नगरपालिकाले अहिले चार घण्टा पानी लाने भनेको भए पनि पछि जुनसुकै समयमा पनि लान सक्ने न्यौपानेको शंका छ। 

अदालतको आदेशको अवज्ञा गरी नगरपालिकाले पुनः योजनाको काम अगाडि बढाएको भन्दै स्थानीयहरु कृष्णकुमारी राईको संयोजकत्वमा भुल्के पानी संरक्षण समिति गठन गरी आन्दोलनमा उत्रिएका छन्। राईले नगरपालिकाले आफ्नो गाउँमा केही नगरेको र भएको पानीको मुहान लान खोजेको दाबी गरिन्। 

भुल्केको पानी लिफ्टिङ गर्न टेन्डरका लागि सूचना जारी भएपछि भुल्के बासीले धनकुटास्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा योजना रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र बुझ्दै कार्यालयका प्रमुख विनोदकुमार भुजेलले स्थानीय कृषक, नगरपालिकासँग सहकार्य गरी माथिल्लो निकायको सल्लाहअनुसार अघि बढ्ने बताए। 

खानेपानीलाई प्राथमिकता दिनुपर्ने भए पनि स्थानीय सरकारले स्थानीयसँग सहकार्य नगर्दा समस्या आएको सरोकारवालाहरु बताउँछन्। यता पाख्रिबास नगरपालिका प्रमुख बृषबहादुर राईले नगरपालिकाले पटकपटक खानेपानी लैजाने विषयमा सहमति गरेको बताए। भुल्केको पानीले सिँचाइ हुने करिब ८० प्रतिशत जग्गा ऐलानी रहेको र उक्त जग्गामा पर्यटकीय क्षेत्र बनाउने भनेर पनि स्थानीयसँग सहमति भएको नगर प्रमुख राई बताउँछन्। 

भुल्केमा रहेको पानीको १० भागको एक भाग निश्चित समय लाने स्थानीयसँग सहमति भएको राईको भनाइ छ। उनले नगरपालिकाका एक हजार ७८४ घरपरिवारलाई खानेपानी व्यवस्थापन गर्न योजना सञ्चालनको तयारी गरेको र हिजो पनि सहमति गरेको तथा भोलि पनि सहमति गरेर खानेपानी ल्याउने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.