|

म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भुसको आगो झैं फैलिएर समुदायस्तरमा पुगे पनि स्थानीयले सजगता अपनाउँदै संक्रमितहरुलाई  आवश्यक पर्ने साधन र पूर्वाधारको तयारीमा पनि जुटेका छन्।

जतिजति यहाँ संक्रमितहरुको संख्या बृद्धि हुँदै गएको छ,त्यति त्यति चिन्ता,चासो,सतर्कता र तयारी पनि थपिदै गएको छ।

बिहीबार (हिजो) र शुक्रबार (आज) बिहानसम्म म्याग्दीका तीन जना संक्रमितको मृत्यु भएको छ। बिहान म्याग्दीको बेनी नगरपालिका २ का ७३ वर्षिय एक वृद्धको उपचारको क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको कोभिड संकट व्यवस्थापन केन्द्र म्याग्दीका सदस्य सुरत केसीले बताए।

वैशाख २२ गते बेनी अस्पतालमा एन्टिजेन परीक्षणको क्रममा पोजेटिभ रिर्पोट आएपछि ती वृद्धलाई थप उपचारका लागि पोखरा रिफर गरिएकोमा मृत्यु भएको उनले बताए।

त्यसैगरी, हिजो  थप उपचारका लागि पोखरा र बागलुङ लगेका दुईजना म्याग्देलीको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ भने २८ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ।

जिल्लाको धवलागिरि गाउँपालिका २ की कोरोना संक्रमित ७२ वर्षीया वृद्धाको पोखरा र २२ वर्षीय युवाको कोरोनाकै कारण बागलुङमा मृत्यु भएको छ।

त्यसैगरी, बिहीबारसम्म ४० जना संक्रमण मुक्त भएर घर फर्किएका बेनी अस्पतालले जनाएको छ।

कोरोनाको दोस्रो लहर शुरु भएयता अहिलेसम्म म्याग्दीमा १ सय १० जना सक्रिय संक्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालले जनाएको छ। कोरोनाको लक्षण देखिएका कतिपय बिरामीहरु पिसिआर टेष्ट नगरी घरमा नै ज्वरो, रुघा,खोकीको औषधि खाएर बसिरहेका स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन्।

कोरोना भुसको आगो जस्तै भित्रभित्रबाट समुदायस्तरसम्म पुगेको र अवस्था गम्भीर हुन थालेको स्वास्थ्य कार्यालय म्याग्दीका नि.प्रमुख एकनारायण लम्सालले बताए। अवस्था जटिल बन्दै गए पनि तयारी पनि त्यत्तिकै मात्रामा बढाइएको र सतर्कताका उपायहरू पनि अधिकतम रुपमा प्रयोग गरिएको सरकोकारवालाहरुको भनाइ छ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिमसी) र जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा प्रशासनले बिहीबारदेखि नै १० दिनका लागि बेनीमा निषेधाज्ञा जारी सकेको छ।

डिसिसिएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीका अनुसार  बेनी अस्पतालमा अक्सिजनको पर्याप्त व्यवस्था गरिएको छ। स्थानीय तह,राजनीतिक दल र नागरिकस्तरबाट समेत क्वारेन्टिन,आइसोलेशनको व्यवस्थापन भइरहेको छ।

म्याग्दीका यातायात व्यवसायीहरुद्वारा सञ्‍चालित म्याग्दी कोरोना वस संचालक समितिले आफ्ना सवारी साधनलाई एम्बुलेन्स बनाएर कोरोना संक्रमितहरुलाई सेवा दिने घोषणा गरेको छ भने नेकपा एमालेले आफ्नो पार्टी कार्यालयको भवन क्वारेन्टिन र आइसोलेशन निर्माणका लागि उपलव्ध गराउने निर्णय गरिसकेको छ।

एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले संक्रमितलाई राखेर उपचार गर्ने ठाउँको अभाव भएका क्वारेन्टिन र आइसोलेशनका लागि बेनी नगरपालिका २ हाँडेभीरमा रहेको नेकपा एमाले पार्टी कार्यालको भवन उपलब्ध गराइने बताए।

केही दिनअघिसम्म कोरोना संक्रमण रोक्ने र संक्रमितहरुलाई व्यवस्थापन गर्ने तयारीका माध्यमहरुको विषयमा खासै चासो नदेखाएका यहाँका स्थानीय तहका जनप्रतिनिधिहरुले पनि पछिल्लो समय मृत्यु र संक्रमणको दर बढ्दै गएपछि तदारुकता देखाउन थालेका छन्।

जिल्लाका रघुगंगा, मालिका, मंगला, अन्नपूर्ण, धौलागिरी गाउँपालिका र बेनी नगरपालिकाका जनप्रतिनिधिहरु कार्यालयबाट प्रदान गरिने सेवालाई थाँती राखेर क्वारेन्टिन र आइसोलेशन निर्माणका साथै जनचेतना विस्तार अभियानमा जुटेका छन्।

उनीहरुले संचारका माध्यम,सोसियल मिडिया,प्रत्यक्ष भेटघाट र ग्रामीण क्षेत्रमा कटुवाल आदिको माध्यमद्धारा संक्रमित भएका जनतासंग सम्पर्क स्थापित,आवश्यक परामर्श र सहायोग गरिरहेका स्थानीय वासिन्दाहरुले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.