पहिलो भर्ना भइन् महानगरकै उपप्रमुख

|

पर्सा : वीरगन्ज महानगरपालिकाले शुक्रबारबाट अस्थायी रुपमा कोभिड अस्पताल तथा आइसोलेशन सेन्टर संचालनमा ल्याएको छ। नगरप्रमुख विजयकुमार सरावगीले रिवन काटेर उद्घाटन गरेको अस्थायी कोभिड अस्पतालमा पहिलो संक्रमित बिरामी महानगरपालिकाकै उपप्रमुख शान्ति कार्की भर्ना भएकी छन्। उनी दुई दिनअघि संक्रमण पुष्टि भएकी हुन्। 

महानगरका नगरप्रमुख विजयकुमार सरावगीले दुई सय ३० बेडको अस्थायी कोभिड अस्पताल तथा आइसोलेशन सेन्टरमा रिबन काटेर उद्घाटन गरेलगत्तै उपप्रमुख पहिलो बिरामी भर्ना भएकी महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदिपकुमार निरौलोले बताए। कोरोनाको पहिलो लहरमा गण्डक अस्पताल भाडामा लिएर पनि महानगरले अस्थायी कोभिड अस्पताल संचालन गरेको थियो। यो पटक भने आफैँ अस्पताल संचालन गरिएको उनको भनाइ छ। 

नारायणीमा बिरामी अट्न छोडेपछि अस्थायी अस्पताल

पर्साको वीरगन्जमा अवस्थित नारायणी अस्पतालमा बिरामी अट्न छोडेपछि महानगरले आफ्ना नगरवासीलाई बचाउन २ सय ३० बेडको कोभिड अस्पताल तथा आइसोलेशन सेन्टर संचालनमा ल्याउनु परेको नगरप्रमुख विजय कुमार सरावगीले बताए।

केन्द्र र प्रदेश सरकारको मुख ताकेर मात्र अब यो भयावह अवस्था पर्गेल्न सकिदैन भन्ने निष्कर्षसहित तुरुन्तै विकल्प अपनाइएको उनको तर्क छ। ‘८८ बर्षीय उपप्रमुख शान्ति दिदीलाई पनि बाहिर बस्न गाह्रो थियो।‘ महानगरले नै अस्पताल संचालनमा ल्याएपछि उहाँ पनि यतै बस्न ईच्छुक हुनुभयो।‘ एट्याच बाथरुम सहितको कोठामा एक चिकित्सक र सहयोगीसहित उहाँलाई पनि राखिएको छ’ उनले भने। उपप्रमुखको स्वास्थय अवस्था भने सामान्य नै रहेको चिकित्सकले बताएका छन्। 

अस्पतालमा ३१ स्वास्थ्यकर्मी  

अस्पतालमा बिरामीलाई अक्सिजन दिनसमेत अप्ठ्यारो हुन थालेपछि महानगरले संचालनमा ल्याएको अस्थायी कोभिड अस्पतालमा कोभिड हेर्ने विशेषज्ञ डाक्टर १ जना डीएम, एमडी मेडिकल २ जना, मेडिकल अफिसर ७ जना, प्यारामेडिकल स्टाफ २१ जना, सरसफाइकर्मी ८ जना र प्रशासनिक कर्मचारी १० जना रहनेछन् नगरप्रमुख सरावगीले भने।

अक्सिजनको व्यवस्थादेखि बिरामीलाई नि:शुल्क खाना, खाजा र बस्नको सुविधा अस्थायी कोभिड अस्पतालमा मिलाइएको नगरपालिकाले जनाएको छ। अब अक्सिजन चाहिएर नारायणी अस्पताल पुग्ने धेरै बिरामीको उपचार यही हुन्छ। त्यसो हुँदा अस्पतालमा लोड पनि कम पर्छ।

नारायणीमा धेरै डाक्टर तथा स्वास्थ्यकर्मी पनि संक्रमित हुन थालेकोले थप स्वास्थ्यकर्मीको व्यवस्था गर्न पनि जरुरी थियो। कहिले केन्द्र र प्रदेश सरकारले गर्छन्? त्यो मुख ताक्ने काम नगरी नगरवासीको जीवन रक्षाको लागि महागनर अग्रसर भएको  नगरप्रमुख सरागीले बताए। 

होम डेलिभरी अक्सिजन बन्द हुने

महानगरले घरमा नै रहेका संक्रमितहरुको लागि लायन्स क्लबसँगको सहकार्यमा निःशुल्क अक्सिजन सेवा उपलब्ध गराउँदै आएको थियो।

‘अस्पताल सञ्चालन गर्न नसक्दा घर–घरमा अक्सिजन पुर्‍याइरहेका थियौं,’ अब ‘अस्पताल सञ्चालनपछि त्यो सेवाचाहिँ बन्द गर्नुपर्ने हुन्छ। अक्सिजन यतै खपत हुने हुँदा होम डेलिभरी सेवाचाहिँ बन्द गर्नुपर्ने हुन्छ’ नगरप्रमुख सरावगीले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.